समाज

आज श्रीपञ्चमी

काठमाडौं – हिन्दू धर्मावलम्बीहरूको महान् पर्व श्रीपञ्चमी बिहीबार (आज) विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ। वसन्त पञ्चमीका रूपमा समेत मनाइने यो पर्व हिन्दू पात्रोअनुसार हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्छ।

ऋग्वेदमा वाग्देवीका नामले कहलिएकी सरस्वतीको पूजा तथा उपासनाले सबै प्रकारका ज्ञान, सिप, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वासका साथ यस दिन पूजासँगै स–साना बालबालिकालाई अक्षरारम्भ गराउने चलनसमेत रहेको छ। खास गरी सिप र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायत सबैले आआफ्ना कला–साधनाका वस्तु किताबकापी, कलम, कुची, बाजागाजालगायत सामानलाई सरस्वतीको प्रतीकका रूपमा पूजाआजा गर्ने गर्दछन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्ने गरेको नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागप्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन्।

सिप तथा ज्ञान सिक्न चाहने हरेक विद्यार्थीले यस दिन बिहान सबेरै उठी नुहाइधुवाइ गर्नुपर्छ र पवित्र आचरण र वाणीको संकल्प गर्दै सरस्वतीको पूजा गर्नुपर्छ। सरस्वतीको पूजामा चन्दन, अक्षता, सेतो र पहेँलो फूल, सेतो चन्दन र सेतै वस्त्र चढाउनुपर्ने विधान छ। प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डू, घिउ, नरिवल, सक्खर र मौसमअनुसारका फल चढाउनुपर्छ। बुद्धि र सफलताको कामनाका साथ तिलको तेल वा घिउमा भिजाइएका बत्तीद्वारा आरती गर्ने चलन छ।

सो क्रममा देवी सरस्वतीको अष्टाक्षर बीजमन्त्र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ १०८ पल्ट जपे विद्यासिद्धि हुने शास्त्रीय मान्यता रहेको छ। देवीलाई पूजा गर्दा तथा नैवेद्यादि अर्पण गर्दा यस मन्त्रको उच्चारण गर्नु शुभ मानिन्छ। यसपछि सरस्वती कवच पाठ गरी सरस्वतीलाई चढाइएका सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्नुका साथै चेतनाको ज्योति पैmलिन्छ भन्ने धार्मिक विश्वास रहेको प्राडा भट्टराई बताउँछन्। उनका अनुसार हिन्दू धार्मिक ग्रन्थमा विवाह, व्रतबन्ध, छोरीलाई गुफा राख्ने, बेलविवाहजस्ता परम्परागत तथा धार्मिक कार्य गर्न यस दिन साइत हेर्नु नपर्ने उल्लेख छ। साथै यस दिन ससाना बालबालिकाको नाक–कान छेड्न पनि शुभ मानिन्छ। यस दिन गाउँघरतिर किसानले गोरु सुमर्ने तथा दाउने चलन छ।

शास्त्रमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्ण भएकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, चार हात भएकी, ती हातमा क्रमशः वीणा, पुस्तक, स्फटिक माला र अभय मुद्रा प्रदर्शन गरिरहेकी तथा राजहंसमा सवार भनी सरस्वतीको वर्णन गरिएको छ। त्यस्तै, चन्द्रमाजस्तो गोरो वर्ण भएकी सरस्वतीका भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा महाविद्या, महावाणी, आर्या, कामधेनु, वेदगर्भा, धीश्वरी, भुवनेश्वरीलगायत नाम उल्लेख गरिएको छ र तिनै नामोच्चारण गरी पूजा गर्नुपर्ने बताइएको छ।

यस दिन भक्तपुरको हनुमन्ते खोलाको पूर्वपट्टि चौरमा स्वर्गबाट सरस्वती आएर बास गर्छिन् भन्ने विश्वास गरिन्छ र सो ठाउँमा श्रीपञ्चमीको अघिल्लो दिन सरस्वतीलाई तेल घस्न विभिन्न विद्यालयबाट विद्यार्थी आउने गरेका छन्। त्यस्तै बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रूपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्ने चलन रहेको छ।

सरस्वती पूजनोत्सवको अवसरमा उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत सरस्वती मन्दिरहरूमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ। यसवर्ष यस वर्ष बिहीबार (गुरु बृहस्पतिकै बार) पञ्चमी तिथि परेकाले यो वर्षको सरस्वती पूजालाई विशेष रूपमा लिइएको छ।

प्रकाशित: १६ माघ २०७६ ०२:१९ बिहीबार

श्रीपञ्चमी