समाज

पर्यटक तान्न चरा र अर्ना महोत्सव

इटहरी – चराको स्वर्गभूमि र अर्नाको राजधानी भनेर चिनिँदै आएको कोसी टप्पु वन्यजन्तु आरक्षमा प्रदेश नं. १ कै बढी पर्यटक भित्र्याउने लक्ष्य राखेर ११ दिने महोत्सव गरिने भएको छ। आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने योजनासहित माघ १९ देखि २९ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो।

अघिल्लो वर्षको तुलनामा यस वर्ष कोसी टप्पु वन्यजन्तु आरक्षमा चराको सख्यामा २६.३६ प्रतिशत कमी आएको छ। तर, यस वर्ष दुई सय ८० जना विदेशी पर्यटक आइसकेको आरक्ष प्रशासनको रेकर्डमा छ। स्वदेशी पर्यटक आउने क्रम पनि बढेको छ। अघिल्लो वर्ष स्वदेशी तथा विदेशी गरप् २३ हजार हाराहारीमा पर्यटक आएका थिए। ‘सरकारी लक्ष्यलाईं मूत रुप दिनका लागि कोसी टप्पुमै पहिलोपटक यस्तो महोत्सव गर्न लागिएको हो,’ कोसी गाउँपालिका प्रमुख अयुब अनसारीले भने।

कोसी टप्पु वन्यजन्तु आरक्ष २०३२ सालमा स्थापना भए पनि अलिहेसम यसको प्रचारप्रसार गर्न नसक्दा पर्यटक आकर्षित हुन नसकेको ठहर गर्दै महोत्सव आयोजना गरिएको उनले बताए। उनका अनुसार महोत्सवमा चरा र अर्नाबाहेक हात्ती सफारी, कोसमा जल सयर, कुस्ती प्रतियोगिता, स्थानीय हस्तकला र कृषि उत्पादनका स्टल राखिनेछ। ‘मुख्य प्राथमिकता चरा र अर्नालाई नै दिइनेछ,’ गाउँपालिका प्रमुख अनसारीले भने। महोत्सव सञ्चालन गर्न ४० लाख रुपैयाँभन्दा बढी खर्च लाग्नेछ।

कोसी टप्पु वन्यजन्तु आरक्षमा अघिल्लो वर्ष ५८ प्रजातिका २१ हजार सात सय ४४ वटा चरा गणना गरिएको थियो। यस वर्ष ६१ प्रजातिका चरा भेटिए पनि संख्या घटेर १६ हजार १२ मा झरेको छ। आरक्षका वार्डेन रामदेव चौधरीका अनुसार चराको संख्यामा कमी हुनुको स्वदेशी कारण बाह्रै महिना माछा मार्नु र बाह्य कारण जहाँबाट पाहुना चरा आउँथे त्यही घट्नु हो।

२०६५ भदौ २ गते पश्चिम कुसाहा–४ मा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि कोसी टप्पुको सुनसरीमा पर्ने ठूलो भाग मरुभूमि बन्दा चराको संख्या घटेको थियो। पछिल्ला केही वर्षसम्म केही हदसम्म आसालाग्दो गरी चराको संख्या बढे पनि सो तटबन्ध भत्काउनुअघि जस्तो भने नभएको आरक्ष प्रशासनले जनायो।

नेपालमा आठ सय ८८ प्रजातिका चरा पाइन्छन्। जसमध्ये लगभग २ सय प्रजाति सिमसारमा निर्भर छन्। हा“सका मात्र ३४ प्रजाति नेपालमा पाइन्छन्। कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्र पाँच सय २६ प्रजातिका चरा पाइन्छन्। यहाँ विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन्।

आरक्षमा अहिले अर्ना चार सय १९ वटा छन्। १३ वटा अर्ना अघिल्लो वर्ष चितवन राष्ट्रिय निकुन्ज सारिएको थियो। अर्नाको सरदर आयु २५ वर्षको हुन्छ र पोथी अर्नाले पाँचवटा बच्चासम्म जन्माउँछ। भाले अर्ना १८ महिनामा र पोथी अर्ना २ देखि ३ वर्षको उमेरमा प्रजननयोग्य हुन्छ। गर्भधारण अवधि १० देखि ११ महिना रहन्छ। सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा कोसी टप्पु वन्यजन्तु आरक्ष फैलिएको छ।

प्रकाशित: १० माघ २०७६ ०३:१६ शुक्रबार

पर्यटक चरा अर्ना महोत्सव