बैतडी - दशरथचन्द नगरपालिका–१०, तिरखडेनीमा खानेपानीको मुहान सुकेपछि त्यहाँका स्थानीय महाकाली नदीको दूषित पानी प्रयोग गर्न बाध्य भएका छन्। ‘गाउँमा तीन वर्ष अगाडिसम्म पानी आउँथ्यो,’ स्थानीय पशुपति बुडालले भनिन, ‘पछिल्ला वर्षमा हिउँद लाग्नेबित्तिकै सुख्खायामभरि पानीको मुहान सुक्छ। गाउँमा खानेपानीको हाहाकार छ।’
गाउँभन्दा ५ किमि टाढाको बडीपातल मुहानबाट खानेपानी आउने भए पनि पछिल्लो दुई वर्षयता सुख्खायाममा मुहान सुक्ने गरेको स्थानीय बताउँछन्। पानीको मुहान सुकेपछि महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको स्थानीय बताउँछन्।
हिउँदमा मुहान सुकेर गाउँमा खानेपानी पुग्दैन भने वर्षातको समयमा ठाउँ–ठाउँमा भत्किएर खानेपानी पुग्दैन। गाउँमा खानेपानीको समस्याले आफूहरूले गाउँ छाड्नुपर्ने स्थिति आएको लक्ष्मी बुडालले बताइन्। पानीकै कारण धेरैले गाउँ छोडेर अन्य बसाइँ सरेको उनी बताउँछिन्। सीमा पारी भारतीय गाउँ सधै हरियाली र सुविधायुक्त भए पनि वारी नेपालतिरको जीवन भने कष्टकर छ।
स्थानीयले प्रयोग गर्दै आएको नदीको पानी दूषित हुनुका साथै पानीमा अम्लीयपना रहेको पाइएको छ। अम्लीयपना भएको पानी प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन। रुडेस नामक संस्थाले स्थानीयले प्रयोग गर्दै आएको पानी परीक्षण गर्दा अम्लीयपना देखिएको हो। ‘हामीले सीमा क्षेत्रका बासिन्दाको खानेपानीको अवस्थाका विषयमा जाँच गर्दा उनीहरूले प्रयोग गर्ने पानीमा अम्लीयपना देखिएको छ’, रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले भने, ‘पानीको धमिलोपना मापन गर्दा ७ पिएच आए पानी पिउनयोग्य हुन्छ। ७ पिएचभन्दा माथि आए क्षारीयपना र ७ पिएचभन्दा कम आए अम्लीयपना हुन्छ। तर, त्यस गाउँमा ४ पिएच पाइयो यस्तो पानी प्रयोग गर्नु स्वास्थ्यका लागि खतरा हुन्छ।’ रुडेसका कार्यक्रम संयोजक तेजराम लोहारले महाकाली नदीको २–३ ठाउँमा पानीको गुणस्तर मापन गरिसकेको बताए।
जमिनमा प्रयोग गरिने रासायनिक मल बगेर नदीमा पुग्दा नदीको पानी दूषित हुँदै गएको हो। ढलहरू नदीमा मिसाउँदा पनि पानी दूषित भएको लुहारले बताए। अम्लीयपना तथा क्षारीयपना देखिएका ठाउँमा खानेपानीको वैकल्पिक व्यवस्था गर्न नगरपालिकासँग आग्रह गरिएको कार्यकारी निर्देशक जोशीले बताए।
प्रकाशित: ६ माघ २०७६ १३:०१ सोमबार