समाज

हिउँ पन्छाउने उपकरण नहुँदा जोखिम बढ्यो

सडककाे हिउँ पन्छाउन प्रयाेग गरिने उपकरण पिस्टनबुली।

डडेल्धुुरा – हिउँ पन्छाउने उपकरण नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लालाई जोड्ने मुख्य राजमार्ग जोखिममा परेका छन। बर्सेनि पटकपटक हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गलगायत दशरथचन्द, जय पृथ्वी, डा. केआई सिंह राजमार्ग घन्टौंसम्म अवरुद्ध हुने गरेका छन्। अवरुद्ध राजमार्ग खुलाउन स्थानीय प्रशासनले डोजर उपलब्ध गराउँछ। तर कालो पत्रे राजमार्गमा हिउँ पन्छाउँदा सतहमै मेसिनको प्रयोगले खाल्डाखुल्डी हुने गरेको र त्यसले वर्षभरि यातायात सञ्चालनमा सास्ती हुने गरेको छ। भीमदत्त राजमार्गअन्तर्गत गैरा–भात्काँडासम्म र बझाङ, बैतडी र दार्चुला जोड्ने दशरथचन्द राजमार्गको अनारखोली–खोड्पे, जय पृथ्वी राजमार्ग बझाङको श्रीभावर क्षेत्र, बैतडीको सतबाँझदेखि जिल्ला सदरमुकामसम्म, डा. केआई राजमार्गको चौखुट्टेललगायतका स्थानमा अत्यधिक हिमपातपछि यातायात अवरुद्ध हुने गरेको छ। सडकको हिउँ पन्छाउन रबरको पिस्टनबुली मेसिन प्रयोग गरिन्छ, जुन सुदूरपश्चिम प्रदेशमै छैन।

पिस्टनबुली मेसिन नहुँदा वर्षभरि नै यात्रुले कच्ची सडकको जस्तो असहज यात्रा गर्नुपर्ने समस्या छ। डोजरले हिउँ पन्छाउँदा सडक गुणस्तरमा क्षति पुग्नुका साथै दुर्घटनाको सम्भावना पनि बढ्दै गएको छ। सडकका खाल्डाखुल्डीले सवारीसाधनमा पनि क्षति पुग्ने गरेको छ। यो समस्यामा सम्बन्धित निकायको ध्यान जान सकेको छैन। उपकरण आवश्यकताका बारेमा जिल्लाको विपद् व्यवस्थापन बैठकमा पिस्टनबुलीको प्रस्ताव राखिने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। विदेशका कतिपय हिमपात हुने सडकमा विभिन्न प्रविधिका पिस्टनबुली परिचालन गरिन्छ। पिस्टनबुली भए अवरुद्ध सडक छिटो पनि खुल्ने र सडकमा क्षति पनि कम हुने थियो। डडेल्धुरालगायत प्रभावित जिल्लाका स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्ने हो भने पिस्टनबुली खरिद गर्न धेरै आर्थिक भार पनि पर्दैन। हिमपातपछि अवरुद्ध हुने भीमदत्त राजमार्गको खास गरी हगुल्टे–साहुखर्क क्षेत्रमा यात्रुहरू लामो समयसम्म अलपत्र पर्ने गरेका छन्।

प्रकाशित: १ माघ २०७६ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App