समाज

दुई विश्व किर्तीमानीलाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड प्रमाणपत्र’

उल्टो मोटरसाइकल यात्री कार्कीलाई वल्र्ड रेडर्क प्रमाणपत्र दिँदै डा.रामलगायत । तस्बिरः महेश्वर

खोटाङ- अनौठो करामत देखाएर विश्व किर्तिमान कायम गरेको भन्दै दुई उदयपुरे युवालाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ को प्रमाणपत्र दिइएको छ। अरुले गर्न नसक्ने काम गरेर विश्व किर्तिमान गरेका त्रियृुगा नगरपालिका ११ का चित्रकुमार कार्की र कटारी नगरपालिकाका घनश्याम श्रेष्ठ (मनिष)लाई वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको हो।

कार्की उल्टो मोटरसाइकल चालक हुन् भने श्रेष्ठले खुट्टा काँधमाथि राखेर मोटरसाइकल चलाएकोमा गिनिज बुकले प्रमाणपत्र दिएको हो। शुक्रबार गाईघाट आईपुगेका गिनिज बुकका सस्थापक डा.पताभि राम र डा. सान्थी देवीले विश्व किर्तिमानधारीद्वयलाई वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्दै सम्मान गरे।

गाईघाटका कार्कीले ११.५३ किलोमिटर उल्टो मोटरसाइकल यात्रा गर्दै विश्व रेकर्ड कायम गरेका गरेर किर्तिमान कायम गरेका छन् भने। कटारीका श्रेष्ठले काँधमा खुट्टा राखेर एक घण्तासम्म मोटरसाइकल चलाउँदै अलग किर्तिमान राख्न सफल भएका छन्।

गाईघाटस्थित होटल एलम्बर एवानको सभाकक्षमा आयोजित कार्यक्रममा गिनिज बुकका संस्थापक डा. रामले उदयपुरका दुई युवाको प्रतिभा विश्वका लागि अनौठो क्षमता भएको भन्दै प्रशंसा गरे। उनले अलगअलग विधामा किर्तिमान राखेर नेपाल बहुल जाति, बहुल संस्कार र बहुसांस्कृतिक देश भएको प्रमाणित गरेकोमा खुसी व्यक्त गरे। छुट्टाछुट्टै पहिचान र संस्कार संस्कृति भएको मुलुकका दुई युवाले अलगअलग विषयमा विश्व किर्तिमान कायम गरेको भन्दै यसलाई उदाहरणीय कामको संज्ञा दिए। उनले आगामी दिनमा थप राम्रो गर्दै जान सुझाव दिँदै प्रगति र उन्नतिको शुभकामनासमेत दिए।

प्रमाणपत्र पाएपछि उल्टो मोटरसाइकल यात्री कार्कीले विगत सम्झदै सुरुमा आप्mनो मोटरसाइकल नहुँदा अरुको मागेर सिकेको स्मरण गरे। उनले विश्व रेकर्डको प्रमाणपत्र पाउँदा आफूले उल्टो मोटरसाइकल हाँक्ने सपना वास्तविक हुन पुगेको भन्दै खुसी व्यक्त गरे। संसारमा अरुले गर्न नसकेको काम गरेर विश्वमा नेपालको नाम राख्ने उद्देश्य लिएको भन्दै कार्कीले गिनिज बुकको प्रमाणपत्र पाएपछि अब थप किर्तिमान राख्ने खालको काम गर्न उत्साह थपिएको बताए।

अर्का किर्तिमानी काँधमा खुट्टा राखेर मोटराइकल चलाउँने घनश्याम श्रेष्ठ (मनिष) ले सुरुमा काँधमा खुट्टा राखेर मोटरसाइकल चलाउँदा धेरैचोटी दुर्घटनामा परेको स्मरण गरे। उनले काँधमा खुट्टा राख्नै गाह्रो हुनेमा झन् त्यसमाथि मोटरसाइकल चलाउनु पर्दा थप समस्या भएर दुर्घटनामा परी घाइते भए पनि विश्व रेडर्क राख्ने सपना पूरा गर्न दुर्घटना पर्दा वास्तै नगरी निरन्तर प्रयास गरेको नतिजा आज गिजिन बुकको प्रमाणपत्र पाउन सफल भएको बताए।

दुवै किर्तिमानी युवाले उदयपुरमा संग्रहालय बनाउने विषयमा प्रतिबद्ध भएर लागी पर्ने जनाएका छन्। किर्तिमानी युवा संघ नेपालका संस्थापकसमेत रहेका कार्की र श्रेष्ठले गाईघाटमा संग्रहालय खोल्न विश्व किर्तिमानीहरुसँग प्रारम्भिक छलफल भईसकेको भन्दै अब त्यसलाई कार्यान्वयनमा ल्याउन यसै वर्षदेखि सुरुवात गर्ने तयारीमा लागिसकेको बताए। उनीहरुका अनुसार संग्रहालयका लागि कम्तीमा ५ कठ्ठादेखि १ बिगाह जमिन चाहिने र त्यसमा भवन बनाएर विश्वभरी किर्तिमान राख्नेहरुको कला, कौशल र क्षमताको प्रमाण राख्ने, उनीहरुको तस्बिर, नाम र प्रयोगमा आएका सामग्री र गतिबिधिहरु संग्रह गरिने छ।

संघका अध्यक्ष कार्कीले संग्रहालय खोल्नका लागि आवश्यक पहल सुरु गरिसकेको भन्दै स्थानीयतहहरु, प्रदेश सरकार र संघीय सरकासँगसमेत सहयोगको अपेक्षा गरे। उनले अहिलेसम्म विश्वमा कहिँकतै किर्तिमानीहरुको संग्रहालय खुलेको थाहाँ नपाएको भन्दै त्यो खाँचो टार्न उदयपुरका किर्तिमानी युवाहरुले पहल थालेको बताए।

गिनिज बुकका संस्थापक डा. रामले संग्रहालय खोल्ने कुरा निकै राम्रो योजना भएको भन्दै त्यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले यदि संग्रहालय खोल्ने हो भने त्यो विश्वका लागि निकै राम्रो र उदाहरणीय काम हुने विश्वास लिँदै संग्रहालय खोलेमा त्यसको अनुमगन गरी सक्दो सहयोगका लागि पहल गर्ने वाचा पनि दिएका छन्।

 

 

प्रकाशित: २६ पुस २०७६ १३:५२ शनिबार

विश्व_किर्तीमानी गिनिज_बुक_अफ_द_वल्र्ड_रेकर्ड