भक्तपुर – शुक्रबारदेखि सुरु हुने एकमहिने श्री स्वस्थानी व्रतकथाका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्येक वर्ष काठमाडौंको साँखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्री स्वस्थानी व्रतकथा हुन्छ। व्रतका लागि हनुमानघाटस्थित खोला सफा गर्ने, व्रतका क्रममा दैनिक स्नान गर्न खोलामा खाल्डो बनाएर सफा पानी राख्नेलगायत तयारी पूरा गरिएको हो।
साथै व्रतभर महिलाहरू बस्ने ठाउँको बन्दोबस्त गरिएको छ। स्थानीय माधव नारायण व्रत (धलं) सेवा समितिका अध्यक्ष उद्धव खाइतूले स्थानीय भक्तजनले एक सातादेखि श्रमदान गरी यो काम पूरा गरेको बताए। खोलामा दुर्गन्ध भई पानी नबग्ने भएकाले त्यहाँको फोहोर फालेर सफा पानी बस्ने खाल्डो बनाइएको उनले जानकारी दिए। संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल संवत् ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण रहेको छ।
प्रकाशित: २५ पुस २०७६ ०३:५६ शुक्रबार