समाज

सुकेको दाउरा संकलनको लागि एक हप्ताको प्याकेज व्यवस्था गरिने

रसुवा- रसुवामा सुकेको दाउरा संकलनका लागि एक हप्ताको प्याकेजको व्यवस्था गरिने भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपातबाट प्रभावित हुनसक्ने घरपरिवारलाई जाडोको समयमा आगो ताप्ने प्रयोजनका लागि सुकेको दाउरा संकलन गर्न दिन लागिएको हो। दाउरा संकलन गर्न एक हप्ताको समय दिइने छ।

शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ‘चिसोका कारणबाट कोही नागरिकको मृत्यु नहोस’ भन्ने धारणालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयलाई विशेष अनुरोध गर्ने निर्णय गरेको छ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जिल्लामा हिमपातबाट ९ सय ७९ परिवार प्रभावित हुने बताए। जिल्लाको पाँचवटै गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात हुने भएकाले सोही अनुसार कार्ययोजना बनाइएको उनको भनाइ छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दो गाउँ, नागथली, लिङलिङ, घुम्बाचौर, शेर्पा गाउँ, भञ्ज्याङ, लाङटाङ, क्यान्जिन, मुण्डु, गोसाइँकुण्ड क्षेत्र, लौरीविना, चोलाङपाटी, नागुङ र ठाडेमा हिमपात हुने गरेको छ।

यस्तै आमाछोदिङमोको ठुलोहाकु, नेसिङ, पेल्दुडाँडा, गोल्जुङ, गत्लाङ, पार्वतीकुण्ड, तातोपानी, गोङगाङ, सिम्बु, कालिकाको राम्चे, उत्तरगयाको तिरु, करुमर्‍याङ र नौकुण्डको सिम्बन्दी, साङग्युल, बच्चा, दोक्लाङ, यार्सा र युब्रा हिमपातको प्रभावित क्षेत्र हो।
 

प्रकाशित: १९ पुस २०७६ १३:२८ शनिबार

दाउरा संकलन प्याकेज