समाज

शिलान्यासको अढाई वर्ष हुँदासमेत सुरु भएन पुलको काम

उदयपुर–खोटाङ सीमा फोक्सिन्टारस्थित सुनकोसीमा निर्माणाधीन अधुरो पुल। तस्बिरः महेश्वर

धाब्लाङ (उदयपुर)- २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको उदयपुर र खोटाङ तथा उदयपुर र भोजपुर जोड्ने सुनकोसीका २ वटा मोटरेवल पक्की पुलको निर्माण कार्य झण्डै अढाई वर्ष बित्न लाग्दासम्म केही भएको छैन। त्रियुगा नगरपालिका १४ साउने धाब्लाङ र खोटाङ बाराहापोखरीको फाक्टाङबीच तथा चौदण्डीगढी नगरपालिका १ रानीटार र भोजपुर जोड्ने सुनकोसीमा एकैदिन २ वटा पुलको शिलान्यास देउवाले गरेका थिए।

नेपाली सेनाको ‘एनए ०५७’ कल साईनको हेलिकोप्टरमा आएका देउवाले तामझामका साथ पुलको शिलान्यास गरेका थिए। शिलान्यासपछि तत्काल पुलको काम थालेर निर्धारित समयभित्रै बनाईसक्न मञ्चबाटै उनले दिएको निर्देशन भने २८ महिना पुग्नै लाग्दासम्म कार्यान्वयन हुन सकेको छैन। काम सक्ने बेलासम्ममा भर्खर पिल्लर गाड्न खाल्डो खन्ने सुरसार गरिदै गरेको पाइएपछि तीन जिल्लाका बासीन्दाहरु सरकार र निर्माण व्यवसायीप्रति आक्रोशित भएका छन्।

०७६ असार मसान्तभित्र निर्माण सक्ने गरी ०७४ असार ३० गते सम्झौता भएको पुलको काम हालसम्म पनि अघि नबढेपछि मेयर राईले गत वर्ष नै प्रदेश मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका थिए।

रानीटारस्थित पुलको लागत इस्टीमेट मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २२ करोड २५ लाख रुपैयाँ रहेको छ। रानीटारस्थित पुल ५ स्पानको, २ सय मिटर लम्बाई र डेढमिटर पैदल मार्ग (फुटपाथ) सहित १० मिटर चौडाईको हुने छ भने कोसीको दायाँबायाँ दुवैतर्फ गरी ६ सय मिटर नदी नियन्त्रण गर्ने प्राविधिक इस्टीमेटसमेत रहेको छ। पुलको काम तत्काल थाल्ने भौतिक तथा पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव देवेन्द्र कार्कीले बताएका थिए।

‘पुल छिटो बनाउन ताकेता गर्दै ठेकेदार र सम्बन्धित निकायसमक्ष गत वर्ष लिखित र मौखिक प्रयास गरियो’ मेयर राईले भने ‘मुख्यमन्त्री र प्रधानमन्त्रीलाईसमेत भेटेर कुरा राखे पनि अहिलेसम्म काम हुन सकेन।’ उनले पुलको काम आउदो वर्षभित्र सक्नेगरी बनाउन निर्माण कम्पनीलाई सरोकारवाला निकाय र जनस्तरबाटै दबाव दिने तयारीमा रहेको बताएका छन्।

यता धाब्लाङस्थित पुलको लागत भ्याटबाहेक २२ करोड ५ लाख रुपैयाँ रहेको छ। नदी नियन्त्रण क्षमता दायाँबायाँ गरी ५ सय मिटर राखिएको पुल छ। पुलको निर्माणमा रेखदेख गर्ने जिम्मा पाएको पुल आयोजना कार्यालय पूर्वीक्षेत्र सेक्टर १ धरानले दुवै पुल बनाउने जिम्मा रसुवा–स्वच्छन्द–पप्पु जेवीले लिएको जनाएको छ।

आयोजना कार्यालय प्रमुख (डिई) कैलास साहले दुवै पुलको काम सुरु भईसकेको बताए। यसअघि बिबिध कारण देखाउँदै ठेकेदारले काम नगरेको स्वीकार्दै डिई साहले अब चाँडो काम गर्न ठेकेदारलाई निर्देशन दिइएको बताएका छन्। ‘अनेक कारण देखाएर ठेकेदारले पुलको काम गर्न ढिला गरेकै हो’ साहले भने ‘तर, पछिल्लो समय छिटो काम गर्न निर्देशन दिइएको छ। अहिले दुवै पुलको काम सुरु भईसकेको छ।’ सकेसम्म छिटो गर्न लगाइए पनि आउदो असारभित्र बन्न सम्भवै नभएकाले म्याद भने थप्नै पर्ने अवस्था आउनसक्ने उनले बताए।

उता खोटाङतर्फ बाराहपोखरी गाउँपालिकाको साउनेचौर हुदै धाब्लाङसम्मको कच्ची सडक पनि यसअघि नै सञ्चालनमा आईसकेको छ। पुल निर्माण भएपछि दुई जिल्लाबासीलाई सडक मार्गमार्फत आउजाउ गर्न सहज हुनुका साथै दुवै जिल्लाबासीको आर्थिक तथा व्यापारिक गतबिधि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १० पुस २०७६ १२:१० बिहीबार

शिलान्यास पुल काम