समाज

'सबैले आफ्नो कर्तव्य पुरा गर्दा मानव अधिकार रक्षा हुन्छ'

पाल्पा- नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को लागि पूर्व समिक्षा कार्यक्रम गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाले एक वर्षको अवधिमा पाल्पामा संकलित घटनाहरुको पूर्व समीक्षा गरेको हो।

इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले पाल्पामा पाँच बाल यौन दुव्र्यवहारका घटना, तीन बालिका बलात्कारका घटना, आठ महिला बलात्कारका घटना, दुई गैर राज्य पक्षबाट हत्या भएको बताए। उनले दुई राजनीतिक अधिकारका र जातीय विभेदको एक सहित ९० वटा घटनाको इन्सेकले अभिलेख गरेको बताएका थिए।

वर्ष पुस्तकको समीक्षा गर्दै प्रदेश ५ का सांसद तुलाराम घर्तीले सम्बन्धित सबैले आआफ्नो जिम्मेवारी बुझेर काम गर्न सके मानव अधिकार उल्लंघन नहुने बताए। ‘मानिसले जब आफ्ना कर्तव्य र जिम्मेवारी बिर्सन्छ तब मानव अधिकार उल्लंघन हुन्छ, यस्ता घटना हुन नदिन स्वच्छ समाज निर्माणका लागि मानव अधिकारको प्रत्याभूति घरघरमा हुनु आवश्यक छ।’ उनी भन्छन्, ‘दलित, बालबालिका र जेष्ठ नागरिकले अहिले पनि पूर्ण मानव अधिकारको प्रत्याभूति गर्न पाएका छैनन्।’

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले राज्यका हरेक निकायका व्यक्तिले मानव अधिकारको संरक्षण गर्नुपर्ने बताए। नगरप्रमुख शाहीले गरिबी, अशिक्षा र आर्थिक रुपमा कमजोर मुलुकमा मानव अधिकारको विषय बढी उठ्ने बताएका थिए।

पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मानव अधिकार वर्ष पुस्तकले नेपालको मानव अधिकार अवस्थाको समग्र चित्रण हुँदै आएको बताए। पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जनताको मानव अधिकारको रक्षाका लागि नेपाल प्रहरी जिम्मेवार पूर्वक लागेको बताए।

जिल्ला अदालत पाल्पाका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले पछिल्लो समयमा हिंसाका घटनाहरुमा महिलाहरु मात्र नभई पुरुषहरु पनि परेकाले यस तर्फ ध्यान दिन इन्सेकलाई आग्रह गरे।

प्रकाशित: ८ पुस २०७६ १४:३३ मंगलबार

मानवअधिकार पूर्व_समिक्षा पुस्तक