समाज

अवैध रुपमा बसेका ७२ जना चीनियाँ नागरिक पक्राउ

तस्बिर सौजन्यः किरण गिरी

काठमाडौं– नेपालमा अवैध रुपमा बसिरहेका ७२ जना चिनीयाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई आज दिउँसो काठमाडौको गोंगबु तथा ठमेलबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनीहरु विगत लामो समयदेखि काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै बसोबास गरिरहेका थिए।

थापाका अनुसार उनीहरुको भिसा म्याद समाप्त भएकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो। पक्राउ परेका ७२ जनालाई नै महानगरीय प्रहरी परिसरमा ल्याइएको छ। 

प्रहरीका अनुसार उनीहरु काठमाडौमा होटल, सूचना प्रविधि तथा कृषि र अन्य पेशामा संलग्न भइरहेका छन्।  ‘केही समय अघिदेखि उनीहरु विभिन्न अपराधमा संलग्न भएको आरोप लाग्दै आएको छ, हामी त्यो विषयमा पनि अनुसन्धान गरिरहेका छौ’, महाशाखा प्रमुख थापाले भने।

प्रकाशित: ७ पुस २०७६ ०९:१७ सोमबार

चिनीया पक्राउ