समाज

एकैघरका ५ जनासम्म बिरामी

उदयपुर- उदयपुरको शाहीखोला बस्तीमा गएरातिदेखि फैलिएका अचानाकको झाडा–वान्ता  प्रकोपले दर्जनबढी बिरामी परेका छन्। त्रियुगा नगरपालिका १६ मा पर्ने शाही खोलामा बिरामी पर्नेहरु एकाघरका ५ जनासम्म रहेको स्थानीय शाही टोल विकास संस्थालाई उद्धृत गर्दे वडाध्यक्ष मानबहादुर राईले बताए।

अध्यक्ष राईका अनुसार बिहीबार विहान ६९ वर्षीय नरेन्द्र कार्कीबाट सुरु भएको झाडा–पखाला र रगत छाद्ने बिरामीको प्रकोप छोरा ५० वर्षीय पुष्पराज कार्की, बुहारी ४० वर्षीया नरमाया कार्की र नातिनी २१ वर्षीया रञ्जु कार्कीसम्मलाई गाँजेको छ। त्यस्तै छिमेकी ४५ वर्षीय गणेश बुढाथोकीको परिवारमा पनि ३ जना झाडा–वान्ता र रगत छाद्ने रोेगले ग्रस्त पारेको छ।

बुढाथोकी परिवारका ४७ वर्षीया पवित्रा बुढाथोकी र २६ वर्षीय ध्रुब बुढाथोकीलाई पनि त्यस्तै झाडा–वान्ताले सताएको छ। त्यसैगरी गाउँकै ६० वर्षीया ढुण्डीमाया पौडेल, ७१ वर्षीय देवीप्रसाद पोखरेल, ६५ वर्षीया कमला पोखरेल र १४ वर्षीय नावराज खड्कामा पनि उस्तै बिरामी देखिएको छ। गाउँकै दैयाको आमा भन्ने नाम र उमेर नखुलेकी एक महिलालाई पनि भर्खर त्यस्तैखाले व्यथा लागेर अस्पताल ल्याउने तयारी भईरहेको राईले बताए।

अध्यक्ष राईले टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर कार्कीमार्फत गाउँमा एकैचोटी धेरैजना बग्रेल्ती बिरामी परेको खबर आएलगत्तै बिरामीको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याएको बताए। वडाबासी जनता बिरामी परेको सुनेर जीप रिजर्भ गरी सबै बिरामी अस्पताल ल्याएर भर्ना गरेको उनले बताए। अहिले ११ जनाको उपचार भईरहेको छ भने अन्य त्यस्तै झाडा–वान्ताका बिरामी थपिदै गरेको खबर आएपछि नगरपालिकाबाट गाडी पठाएर उपचार गर्न झिकाइएको उनले बताए।

एकै परिवारका सदस्यलाई एकैखाले बिरामीले छुनुमा खानामा विषालु पदार्थ परेको हुनसक्ने अनुमान अस्पतालले गरेको छ। अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जिवनारायण मण्डलले यस्तो सामूहिक बिरामीको कारण खानामा विषालु पदार्थ (फुड प्वाईजन) भएर हुन्छ या पानीमा फोहोर भएर हुनसक्ने बताए। बिरामी सबैको स्वास्थ्य परीक्षण गर्दा फुडप्वाईजन नदेखिएको हुनाले खानेपानीको मुहान फोहोर भएर प्रकोप फैलिएको हुनसक्ने आशंका डा. मण्डलले गरे। उनीहरु सबैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: ३ पुस २०७६ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App