समाज

नयाँ भवन पाएपछि विद्यार्थी खुसी

अजम्बरी प्राथमिक विद्यालयको नवनिर्मित भवन। तस्बिर: विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)- तनहुँको ऋषिङ गाउँपालिका–८ क्यामुनडाँडा झिरुवासस्थित अजम्बरी प्राथमिक विद्यालयको भूकम्पले जीर्ण बनाएको भवनमा त्रसित भएर विद्यार्थीले पढ्नुपर्ने अवस्था थियो। प्रयोग गर्न नमिल्ने अवस्थाको भएपनि बाध्यता थियो यही भवनमा अध्ययन अध्यापन गराउनु पर्ने। त्यसैले पनि विद्यार्थी नियमित हुँदैनथे।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा)ले नयाँ दुई कोठे ट्रस्ट भवन बनाइदिएपछि खुसीयाली छाएको छ। विद्यालयकी शिक्षिका निरमाया राना भन्छिन्, ‘नयाँ भवन पाएपछि विद्यार्थी, शिक्षक र अभिभावक खुसी बनेका छन्।’ सुरक्षित वातावरणमा पठनपाठन हुन थालेकाले विद्यार्थी नियमित भएको उनले बताईन्। रानाका अनुसार भवनको अभावमा यसअगाडी एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थीलाई राखेर पढाउने गरिन्थ्यो। नयाँ भवन बनेपछि सहज भएको उनको भनाई छ।

२४ लाख २७ हजार रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको विद्यालयका प्रधानध्यापक रमेशकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन एकाई (शिक्षा) बाट २३ लाख ९९ हजार रुपैयाँ अनुदान प्राप्त भएको थियो। गाउँले २८ हजार रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए।

५६ बर्षअगाडी स्थापित विद्यालयमा पाँच कक्षासम्म पढाई हुन्छ। यहाँ २६ जना विद्यार्थी अध्ययनरत छन्। ‘बसाइसराई तिब्र हुँदा वर्षेनी विद्यार्थी घट्दै गएका हुन्’, प्रधानध्यापक श्रेष्ठले भन्छन्, ‘गाउँपालिकाले बसाइसराई रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ।’ तीन जना मात्र शिक्षकको दरबन्दी रहेको छ। ‘एक जना निजी स्रोतमा शिक्षक राखिएको छ’, उनले भने, ‘गाउँलेले पैसा उठाएर तलब दिने गरेका छौँ।’


 

प्रकाशित: २७ मंसिर २०७६ १४:२२ शुक्रबार

नयाँ भवन विद्यार्थी खुसी