रोल्पा- लामो समय परिवर्तनका लागि लडेकी एक युवती यतिबेला बुटवलस्थित मानव सेवा आश्रममा छिन्। बेलुका अध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइने रोल्पा त्रिवेणी ५ जुगार जबरबोटकी ३२ वर्षिया पूर्वलडाकु निर्मला विक ‘साधना’ यतिबेला शारिरीक रुपले तन्दुरुस्त बन्दै गएकी हुन्। लामो समय बिरामीले थलिएकी उनको गत जेठ २२ गते नागरिक दैनिकमा ‘नारकिय जीवन बिताउँदै पूर्वलडाकु’ शिर्षकको समाचार प्रकाशन भएको २४ घण्टाभित्रै मानव सेवा आश्रमले उद्दार गरेको थियो।
उपचार र अन्य रेखदेखका लागि बुटवल पुर्याइएकी निर्मलाको आगोले जलेको घाउँ निको भएको छ तर मानसिक रुपले बिछिप्त उनको मनको घाउँ भने उस्तै छ। सफा वातावरणमा उपचारसहितको सेवा पाइरहेकी उनलाई पहिले जस्तो बन्न कति समय लाग्छ चिकित्सकले पनि भन्न सकेका छैनन्। आश्रमको रेखदेखमा रहेकी उनि खासै कसैसँग बोल्दीनन्। ‘खुलेर कुरा गर्नु हुन्न। मुसुक्क हास्ने मात्र, लजाउने गर्नु हुन्छ।’ आश्रमकी सरु अधिकारीले भनिन्। ‘गम्भीर भएर बसिरहनुहुन्छ।’
निर्मलालाई उद्दार गरिए पनि घरमा हजुरआमासँग रहेका छोरा जीवन यतिबेला आत्तिएका छन्। बिरामी आमालाई गाडिमा हालेर औषधि गर्न लगेको देखेका उनले ६ महिनासम्म पनि आमालाई भेट्न पाएका छैनन्। बुटवल पुगेर आमालाई भेट्न सक्ने आर्थिक अवस्थासमेत छैन। ‘आमालाई देख्ने मन छ तर कसले लगिदिन्छ र।’ अध्यारो अनुहारमा जीवनले भने ‘गाडिमा हालेर औषधि गर्न लैजानु भएको हो।’ उता निर्मलाकी सासुलाई पनि एक पटक बुहारी भेट्ने मन छ तर गाडि भाडा र लैजाने मान्छे नभएपछि मन मारेर बसेकी छिन्।
उपचारका लागि बुटवलस्थित मानव सेवा आश्रम पुर्याइएकी पूर्वलडाकु निर्मलालाई भेट्न आजसम्म उनिसँगै युद्ध लडेका रोल्पाली कोही गएका छैनन्। रोल्पाली नेता तथा प्रदेश न. ५ का आन्तरीक मामिला तथा कानुनमन्त्री कुलप्रशाद केसी र प्रदेश सांसद दिपेन्द्र कुमार पुन बुटवलमै बस्छन् तर आजसम्म निर्मलाको खबर बुझ्न गएका छैनन्। ‘सामाजिक बिकास मन्त्री सुर्दशन बराल भने हाल खबर बुझ्न आईरहनु हुन्छ तर अरु आएको थाहा छैन।’ आश्रमकी सरु अधिकारीले बताइन्।
निर्मला रोगले थलिएपछि दोस्रो विहे गरेर भारततिर छिरेका उनका श्रीमान पुर्वान विक ‘प्रभाकर’ले पनि आजसम्म श्रीमतीको अवस्थाको बारेमा चासो दिएका छैनन्।
परिवारका अनुसार आठ वर्ष अगाडि निर्मला छारे रोगको बिरामी भईन। ४ वर्ष अगाडि घरमा एक्लै भएको बेला दुईवटै खुट्टा आगोमा परेछ। ३ वर्ष यता त झनै केही थाहा नपाउने। दिशा पिसाब बसेकै ठाउँमा गर्ने। उनको दुबै खुट्टा जलेको थियो। अस्पताल लैजाने पैसा थिएन। सासुले जडिबुटि खोजेर उपचार गरिन्। तर सुधार भएन। बसेकै ठाउँमा दिसा पिसाब गर्ने र जलेर कुहिएको खुट्टा गनाएर घरमै बस्न नसकिने भएपछि उनलाई गोठमा जनावरसँग राख्न थालिएको थियो।
अशक्त भएर जलेको खुट्टा गन्हाउन थालेसँगै दिशा पिसाब बसेकै ठाउँमा हुन थाले पछि ‘साधना’को दैनिकी नारकिय बन्न थालेको थियो। चरम गरीबीमा रहेको उनको परिवारसँग उपचार गर्ने सामथ्र्य थिएन। कपडा दिनकै फेर्नु पर्ने तर कपडा नहुँदा नाङ्गै सुताएकी थिइन्। जाडो गर्मी बर्षात सबै मौसममा खाली भुईमा मात्र दिनरात बित्थ्यो।
प्रकाशित: २५ मंसिर २०७६ ०५:१७ बुधबार