समाज

रौतामाईका पशुमा अज्ञात रोगको प्रकोप

बाँधेकै ठाउँमा मरेका राईका गाईगोरु। तस्बिरःमहेश्वर

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिकामा अज्ञात रोगको प्रकोपले एकै कृषकका आधा दर्जन पशु मरेका छन्। अज्ञात रोगले गाँजेपछि रौतामाई गाउँपालिका ५ मझौलेका हर्कबहादुर राईको गोठमा बाँधिएका ४ गाईगोरु एकैरातमा मरेका हुन्।

पीडित किसानका अनुसार ४ वटा गाईगोरु शुक्रबार राति गोठमै मरेको भेटिएका छन्। साँझ गोठमा बाँधेर घाँस कुँडो गरी सुतेका गाईगोरु बिहान घाँस हाल्न गोठ जाँदा मृत अवस्थामा भेटिएको राईले बताए। बेलुका सन्चै घाँस खाएका गाईगोरु बिहान घाँस हाल्न गोठ पुग्दा बाँधेकै ठाउँमा दाम्लासहित मरेको अवस्थामा भेटेको उनले बताए।

आफ्नो गरिखाने माध्यामनै गाईगोरु भएको भन्दै खेतबारी जोत्न एकहल गोरु, दुध मही खान पालेको दुहुना (व्याएको) गाई र एउटा बहर गोरु मरेपछि गोठ उजाडिएको उनले बताए। एउटै गोठमा बाँधिएका ५ वटा गाईगोरुमध्ये सानो बाछो मात्रै बाँकी रहेर बाँकी सबै मरेपछि कृषक राईलाई ठूलो क्षति पुगेको वडाध्यक्ष पाण्डव राईले बताए। उनका अनुसार अज्ञात रोगले गाईगोरु मरेको जनाकारी आएलगत्तै घटनास्थल पुगेर हेर्दा एउटा बाछोबाहेक सबै गाईगोरु मरेको भेटिएको वडाध्यक्ष राईले बताए।

‘दिनभर चराएर गोठ फर्काइएका गाईगोरु बाँधेर बेलुका कोदोको नल (घाँस) लगाएर छाडेका गाईगोरु कसरी मरे भन्ने छक्क परेको छु’ गाईगोरु मरेर आहत भएका पीडित राईले भने ‘एकैचोटी ४ वटा मरेपछि म त सुकुम्वासीनै भएँ, परिवार पाल्ने माध्याम नै हरायो।’ घट्नाबारे जानकारी आएलगत्तै रौतामाई गाउँपालिकाले पशु शाखा प्रमुख तथा पशु प्राविधिक खटाएर घटनाबारे जानकारी लिएको अध्यक्ष गजेन्द्र खड्काले बताए।

उनका अनुसार पशु प्राविधिक लक्ष्मण कार्कीलाई खटाएर घटनाबारे जानकारी लिएर आवश्यक उपचार व्यवस्था गर्न निर्देशन दिइएको छ। कार्कीले घटनास्थलको प्रकृति हेर्दा ‘फुड पोईजन’ (खानामा विष) लागेजस्तो देखिएको तर, वास्तविक कारण के हो भन्ने विषयमा पोष्टमार्टम गरी परीक्षण गर्नुपर्ने बताए। उनले झट्ट हेर्दा र पशुधनी कृषकको भनाई अनुसार फुडपोईजन भएको देखिए पनि ‘ल्याव टेस्ट’को रिपोर्ट आएपछि मात्रै वास्तविक कारण थाहा हुने बताए।

एउटा गोरु सुतेको अवस्थामा मरेको र अरु गाईगोरुहरु मुखमा र्‍याल काढेर जिब्रो टोकेको, खुट्टा पसारेको अवस्थामा रहेको पाइएको कार्कीले बताए। उनले मरेका सबै गाईगोरुको ल्याव टेस्ट गर्न मासुका स्याम्पल विराटनगरस्थित पशु विज्ञ केन्द्रको ल्यावमा पठाएको बताए। ल्याव टेस्टको रिपोर्ट आउँदो सोमबारसम्ममा आईपुग्ने र त्यसपछि कारण थाहा हुने उनले बताए।

पोष्टमार्टम गर्दा पेटमा कोदोको नलभन्दा अरु कुनै घाँस नपाएको र गोठ वरपर कुनै विषालु घाँस नदेखिएकाले कारण अरुनै हुनसक्ने पनि कार्कीले बताएका छन्।


 

प्रकाशित: २१ मंसिर २०७६ १२:५८ शनिबार

रौतामाई पशु अज्ञात रोग प्रकोप