समाज

१०२ वर्षीया भारतीय वृद्धाले पाईन ३ वर्षपछि आँखाको ज्योति

आँखा उपचारपछि चस्मा पाएका वृद्धवृद्धासँग डा. महर्जन र संयोजक कडरिया। तस्बिरः महेश्वर

बेलका- उदयपुरको बेलका नगरपालिकामा आयोजित आँखा शिविरमा १ हजारभन्दा बढी सर्वसाधारणले आँखा उपचार सेवा पाएका छन्। गत मंगलबारदेखि बिहीबारसम्म चलेको ३ दिने शिविरमा स्थानीयदेखि भारतीय नागरिकसमेतले सेवा पाएका छन्।

शिविरमा भारतकी १ सय २ वर्षीया वृद्धाका ३ वर्षअघि ज्योति गुमेका दुबै आँखाको सफल सल्यक्रिया (अप्रेसन) भएको शिविर आयोजकले जनाएको छ। बुढ्यौलीका कारण दुबै आँखा देख्न छाडेकी उनी स्थानीय आफन्तमार्फत बेलकामा शिविर सञ्चालन हुन लागेको खबर पाएर भारतबाट आँखा उपचारकै लागि भनेर आएको र दुबै आँखाको अप्रेसनपछि संसार देख्न सक्ने भएकी छिन्।

नगरपालिकाको आयोजना र मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा आयोजित शिविर बेलका ९ रामपुरस्थित प्राथमिक आँखा उपचार केन्द्रको भवनमा सञ्चालन भएको थियो। शिविरमा ९ महिने दुधे बालकदेखि १ सय २ वर्षीय जेष्ठ नागरिसम्मले सेवा पाएको प्राविधिक सहयोगी संस्था मेची आँखा अस्पतालकी आउटरिच कोअर्डिनेटर (शिविर संयोजक) कविता कार्की कडरियाले बताइन्। उनका अनुसार १ सय २ वर्षीया वृद्धाको दुबै आँखा मोतियाविन्दु भएको हुनाले अप्रेसन गरेपछि आँखा देख्न सक्ने भएकी हुन्।

वृृद्धाको बुधबार एउटा र बिहीबार अर्को आँखाको सल्यक्रिया गरिएको थियो। कडरियाका अनुसार ३ वर्षदेखि दुबै आँखा देख्न छाडेकी वृद्धाको अप्रेसनपछि ज्योति फर्कदा आफन्त र चिकित्सक टोलीलाई धन्यबाद दिएकी थिइन्। ‘बेलकामा आफन्त भएकाले ३ वर्षदेखि आँखा देख्न छाडेकी भारतीय वृद्धाकोसमेत उपचार संभव भयो’ कडरियाले भनिन् ‘शिविर बस्ने खबर सुनेर आउनु भएको रहेछ, मोतियाविन्दुले बन्द भएका दुबै आँखा अप्रेसन गरेर देख्न सक्ने हुनुभएको छ।’

मेची आँखा अस्पतालका विशेषज्ञ (अप्mथालमोलोजिस्ट) डा. सुनिलसिंह महर्जन नेतृत्वको चिकित्सक टोलीले आँखा जँचाउन आएका ६४ महिला र ५६ पुरुषमध्ये १ सय २० जनाको आँखाको अप्रेसन गरेको नगरपालिकाले जनाएको छ। जसमध्ये १ सय १५ जनाको मोतियाविन्दुको अप्रेसन गरिएको हो भने ५ जनाको टेरिजिएम (आँखामा मासु पलाएको) को अप्रेसन गरिएको छ। त्यस्तै ३ सय ८५ जना बिरामीलाई आँखा जाँचपछि नजिकको अक्षर पढ्न सक्नेगरी पावरवाला चस्मा वितरण गरिएको छ। ७ सय २७ जनालाई औषधि वितरण गरिएको छ। औषधि, चस्मा र अप्रेसन सबै निशूल्क गर्ने व्यवस्था नगरपालिकाले मिलाएको हो।

वर्षेनी शिविर सञ्चालन गरिँदै आइए पनि यसपटकको शिविरमा पनि ३ दिनसम्मै आँखा जँचाउने सर्वसाधारणको भिड लागेको नगरपालिकाले जनाएको छ। नगरप्रमुख दुर्गाकुमार थापाले ९ वटै वडा तथा छिमेकी जिल्ला सुनसरी, सप्तरी तथा छिमेकी स्थानीयतहबाट पनि सेवाग्राहीहरु आएको बताए। थापाले नगरवासीको आँखा रोगको सर्वसुलभ र सस्तो उपचार गराउने उद्देश्यले शिविर सञ्चालन गर्दै आएको बताए।

आँखा मान्छेको सबैभन्दा महत्वपूर्ण र सम्वेदनसिल अङ्ग भए पनि जहाँत्यही अस्पताल नहुँदा उपचार सेवा सहज नभएकाले नगरपालिकामै वर्षेनी शिविर सञ्चालन गर्दै आएको थापाले बताए। मेयर थापाले ०७५ पुुस र ०७६ वैशाख पहिलो साता पनि नगरपालिकाले शिविर सञ्चालन गरेको र पुषको शिविरमा १ हजार १ सयको आँखा जाँच गर्दा १ सय १८ जनाको मोतियाविन्दु रोग पत्ता लागेर निशूल्क अप्रेस नगरिएको बताए। त्यस्तै वैशाख ८, ९ र १० गते  सञ्चालित शिविरमा जँचाउने ८ सय ५० मध्ये ६८ जनाको पनि मोतियाविन्दुकै अप्रेसन गरिएको थापाले बताए।

नगरपालिकाले आँखासँगै कानको पनि उपचार सहज बनाउने उदेश्यले केही महिनाअघि नगरपालिका केन्द्र रामपुरमै कान उपचार शिविर सञ्चालन गरेको थियो।

 

 

प्रकाशित: २० मंसिर २०७६ १२:३५ शुक्रबार

भारतीय_वृद्धा आँखा ज्योति