समाज

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको उपलब्धी ५० प्रतिशत पनि पुगेन

प्रारम्भिक कक्षा पढाई कार्यक्रम सम्बन्धि कार्यान्वयन प्रभाव र निरन्तरता सम्बन्धि गोष्ठिका सहभागी।

डडेल्धुरा- सामुदायिक विद्यालयमा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको चार वर्ष बित्नै लाग्दा पनि लक्ष्य अनुसारको प्रगति भने हासिल भएन। कार्यक्रम सकिनै लाग्दा उपलब्धि ५० प्रतिशत पनि पुगेन। प्रारम्भिक कक्षाका बालबालिकाको सिकाइमा केन्द्रित रही शिक्षाको गुणस्तर सुधार गर्ने मुख्य लक्ष्यका साथ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ लागू भएको थियो। यस कार्यक्रममा लक्ष्य विशेषगरी कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइ सीपको सुधार गर्नु रहेको छ।

यहाँका दुई सय ५१ विद्यालयहरुमा कार्यक्रम लागु भएको थियो। ति मध्ये एक सय ७२ विद्यालयले कक्षा कोठा व्यवस्थापन गर्न नसकेको शुक्रबार प्रारम्भिक कक्षा पढाई कार्यक्रम सम्बन्धि कार्यान्वयन प्रभाव र निरन्तरता सम्बन्धि अन्तरक्रियात्मक गोष्ठिमा शिक्षा समन्वय इकाईले प्रस्तुत गरेको तथ्यांकमा छ। ७९ विद्यालयले कक्षा कोठा व्यवस्थापन गरेपछि थप व्यवस्थापनका लागी दुई लाखका दरले अनुदान प्राप्त गरेको शिक्षा समन्वय समिति इकाई जनायो।

प्रारम्भिक कक्षाको पढाइमा केन्द्रित सिकाइ उपलब्धिको सुधारमा जोड दिइने गरी कार्यक्रम सञ्चालन भए पनि उपलब्धि भने ५० प्रतिशतसम्म पनि हासिल भएको छैन्। कार्यक्रमको यो अन्तिम वर्ष हो। अबका वर्षमा यो कार्यक्रम लागु हुने छैन्। 

यसका लागि प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रमको सुदृढीकरण, शैक्षणिक ढाँचा, पाठ्य सामाग्री विकास, उत्पादन र वितरण, शिक्षकको पेसागत विकास र शैक्षणिक सहयोग, निरन्तर मूल्याङ्कन र उपचारात्मक सहयोग तथा अनुसन्धान, अनुगमन र मूल्याङ्कनलगायतका कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिएका छन्।

बालबालिकाको सिकाईमा नै जोड दिइएको भए पनि सोचे अनुरुप उपलब्धि हासिल नभएको जिल्ला शिक्षा समन्वय समिति इकाई प्रमुख रामचन्द्र भट्टले बताए। बालबालिकाले प्रति एक मिनेटमा ४८ देखि ५० शब्द शुद्ध रुपमा उच्चारण गर्नुपर्ने भए पनि २० देखि २२ भन्दा माथि जान नसकेको उनले बताए।

सिकाई सामाग्रीको प्रयोग न्युन, कक्षा कोठाको व्यवस्थापन केही हदसम्म भए पनि पढाई सिकाई कक्षा सञ्चालन कमै मात्रामा भएकाले प्रभावकारी हुन नसकेको उनले बताए। शिक्षकले पहल गरे पनि अभिभावकले जिम्मेवारी बहन गर्न नसक्दा कार्यक्रम प्रभावकारी नभएको उनलेको भनाई छ। देशभरिको तथ्यांक अनुसार डडेल्धुरामा पनि कार्यक्रमले ५० प्रतिशतसम्म पनि प्रगति हासिल नगरेको उनको भनाई छ।

डडेल्धुरा जिल्लामा शिक्षा क्षेत्रमा खर्च हुने रकम एक वर्षमा एक अर्ब बराबर छ। उनले भने, सरकारी र गैरसरकारी संघ संस्थाको गरी शैक्षिक क्षेत्रमा वर्षमा उक अर्ब रुपैयाँ खर्च भई रहेको छ। एक बालबालिका लाई वर्षमा ३३ हजारसम्म रकम खर्च भई रहेको छ। तर सिकाई स्तर भने माथि उकास्न सकिएको छैन्। यसमा सरोकारवाला निकाय, शिक्षक, स्थानीय तहले जागरुग हुनुका साथै मुख्य गरी अभिभावक आफै जागरुक हुन आवश्यक छ। बालबालिकाको अवस्था, सिकाई अवस्थाबारे पनि अनविज्ञ रहने गरेको अवस्था रहेको उनले बताए।

कार्यक्रमले लक्ष्य अनुसार प्रगति हासिल गर्न नसके पनि पहिलेको तुलनामा सकरात्मक देखिएको अमरगढी नगरपालिका उपप्रमुख संगिता भण्डारीले बताइन। अनुदानका पाएका विद्यालयमा केही व्यवस्थापन र उपलब्धि देखिए पनि अनुदान नपाएका विद्यालयको अवस्था जिर्ण रहेको उनको भनाई थियो।

देशभरका १६ जिल्ला र सुदूरपश्चिमका डडेल्धुरालगायत कैलाली र कञ्चनपुरमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु भएको छ। 

प्रकाशित: २९ कार्तिक २०७६ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App