समाज

गिरोहका सात नाइके पक्राउ

भारतीय ओरियन्स कम्पनीको ठगी धन्दा सञ्चालन गर्ने गिरोहका नाइकेलाई पक्राउपछि सार्वजनिक गर्दै प्रहरी। तस्बिर:निर्मल/नागरिक

बर्दिया - प्रहरीले भारतीय ओरियन्स ग्लोबल नेटवर्किङ व्यवसायको नाममा नेपालमा सञ्जाल फैलाएर ठगी धन्दा गर्ने गिरोहका सात नाइकेलाई पक्राउ गरेको छ। लामो अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। चेन्नईमा मुख्य कार्यालय रहेको ओरियन्स ग्लोबलले भारतको लखिपुरमा नेचुरल वेल इन्टरप्राइजेज सञ्चालन गरेर औषधि बिक्री गर्ने नाममा पश्चिम नेपालमा अवैध गिरोह सञ्चालन गरी लाखौं रुपैयाँ ठगेको भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले गुलरिया नगरपालिका–४ बस्ने विवेक थारु, गुलरिया–५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नगरपालिका–७ बस्ने दीपक चौधरी र राजापुर नगरपालिका–३ बस्ने आशा थारुलाई पक्राउ गरेको छ। यस्तै राजापुर–३ टेडियागाउँ बस्ने सीता थारु र चक्खापुर गाउँ बस्ने अर्जुन थारुलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए। पक्राउ पर्नेमा कैलाली जिल्लाको कैलारी–५ गोब्रइला बस्ने मन्जित चौधरी पनि छन्। उनीहरु सबैलाई ठगी आरोपमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बास्तोलाले जानकारी दिए।

ठगी भएको अनुसन्धानबाट खुलेपछि प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले ओरियन्समा संलग्न २ सय ५० नेपालीसँग सूचना संकलन गरेको थियो। उनीहरु सबैलाई सम्झाईबुझाई फिर्ता पठाएको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धान क्रममा बाँके र बर्दियाका सीमा क्षेत्रका नेपाली ठगिएको, दाङ, मोरङ, झापा, महोत्तरी, कैलाली र कञ्चनपुरसम्म ओरियन्स सञ्जाल रहेको भेटेको छ। मोरङमा ओरियन्सका सदस्य अधिक भएको खुलेको छ ।

यसअघिको युनिटी इन्टरनेसल नेपालले अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सका औषधि बेच्नेको सञ्जाल पनि देशभर नै रहेको प्रहरी उपरीक्षक बास्तोलाले बताए। उनका अनुसार कैलालीको टीकापुर–१ बस्ने साजन चौधरी यस क्षेत्रमा गिरोह सञ्चालन गर्ने मुख्य नाइके हुन्। उनी पक्राउ पर्ने त्रासमा भारतमा बसोबास गर्छन्। सोही नगरपालिका वडा नं. ५ बसन्ता बस्ने सन्तोष चौधरी र कैलारी–६ बैजपुर बस्ने मनोज चौधरी साजनका सहयोगी हुन्। यी तीनैजनालाई भारतमा गएर पक्राउ गर्न आवश्यक प्रक्रिया मिलाइरहेको प्रहरी उपरीक्षक बास्तोलाले जानकारी दिए। ओरियन्सका सदस्य बनाउन यी तीनजनाको प्रमुख भूमिका देखिएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ।

अवैध औषधि बिक्री गर्ने र जति सक्यो त्यति पैसा उठाउने गरी ओरियन्स कम्पनीको गिरोह नेपालका बस्तीबस्तीमा छिरेको छ। प्रहरीले अनुसन्धान क्रममा बाँके र बर्दियाका सीमा क्षेत्रका नेपाली ठगिएको, दाङ, मोरङ, झापा, महोत्तरी, कैलाली र कञ्चनपुरसम्म ओरियन्स सञ्जाल रहेको भेटेको छ। मोरङमा ओरियन्सका सदस्य अधिक भएको खुलेको छ। दाङ प्रहरीले यसअघि ओरियन्स सदस्य बनाउने गिरोहका दुई नाइकेलाई पक्राउ गरेर कारबाही अघि बढाएको थियो।

सल्यान कालिमाटी घर भई हाल दाङको तुल्सीपुर–७ वस्ने कमल कँडेल र रोमन पंगेनी रिजाललाई पक्राउ गरी दाङ प्रहरीले मुद्दा दायर गरेको थियो। अदालतले रिजाललाई दुई लाख धरौटी र कँडेललाई सामान्य तारेखमा छाड्ने आदेश दिएपछि उनीहरु रिहा भएका छन्। उनीहरु समातिएपछि गोप्य रुपमा ठगी धन्दा जारी छ। भारतीय कम्पनीले प्रहरीलाई छक्याएर ठगी धन्दा जारी राखेको स्रोतले बतायो।

बर्दियाको पूर्वी क्षेत्रमा झापा जिल्ला घर बताउने विनी तामाङले ओरीयन्सको सदस्यता बाँडेको खुलेको छ। भारतीय नम्बर प्लेटको मोटरमा आएर उनले स्थानीयलाई प्रलोभनमा पारी ओरियन्सको सदस्य बनाउने गरेको पीडितले बताए। नागरिकमा समाचार प्रकाशित हुनुअघिसम्म तामाङ कालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीसँग मिलेर घरघरमै पुग्ने गरेको स्थानीयले बताए। समाचार छापिएपछि उनी त्यस क्षेत्रमा देखिएकी छैनन्।

थारु समुदायमा ९६ हजार रुपैयाँ लिएर सदस्यता बनाएको ओरियन्सले पहाडी समुदायका लाई भने एक हजारदेखि १० हजारसम्म लिएर सदस्यता दिने गरेको खुलेको छ। ओरियन्सले पहाडी समुदायमा धेरै सदस्य बनाएर र थारु समुदायमा सकेसम्म बढी रकम लिएर ठग्ने योजना बुनेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०१:०१ बिहीबार

ठगी_प्रकरण पक्राउ ओरियन्स_कम्पनी