समाज

भाडाका घरमा प्रहरी चौकी, सेवा प्रवाहमा समस्या

भाडामा रहेका प्रहरी चौकी

रोल्पा - सशस्त्र द्वन्दको उद्गम थलो रोल्पामा युद्धताका ध्वस्त पारिएका प्रहरी चौकी पुर्ननिर्माण नहुँदा प्रहरीलाई कार्य सम्पादनमा समस्या भएको छ। द्वन्दकालमा जिल्लामा २३ प्रहरी चौकी ध्वस्त बनाइएकोमा अहिलेसम्म ४ वटाको मात्रै पुर्ननिर्माण गरिएको छ।

२०५६ सालमा घर्तीगाउँ ईलाका प्रहरी कार्यालयमा तत्कालिन माओवादीले आक्रमण गरेपछि ग्रामीण क्षेत्रका प्रहरी चौकी सदरमुकाम लिवाङमा सारिएका थिए। घर्तीगाउँमा गरिएको प्रहरी आक्रमण सबैभन्दा ठूलो आक्रमण थियो। यो घटनामा प्रहरी निरीक्षक श्रीराम आचार्यसहित २१ प्रहरी मारिएका थिए।

हिजो प्रहरी चौकिमा बम पड्काउदै हिड्नेहरु आज राज्य सत्ताको मुल थलोमा पुगे पनि प्रहरी चौकी लगायत आफैले ध्वस्त बनाएका अन्य संरचना पुर्ननिर्माणमा चासो नदिएको स्थानीयको गुनासो छ। द्धन्द्धकालिन समयमा ३९ स्थानमा प्रहरी बस्दै आएको थियो। शान्ति प्रकृयापछि सदरमुकाममा गाभिएका सबै प्रहरी चौकी साविककै स्थानमा पुर्नस्थापना भएका छन् तर ध्वस भवनको पुर्ननिर्माण नभएकाले अधिकांस प्रहरी युनिट भाडाका घरमा बस्छन्।

प्रहरीका लागि सरकारले रोल्पामा मात्रै मासिक १ लाख ५२ हजार ६ सय ४५ रुपैया घरभाडा तिर्ने गरेको छ। शान्ति प्रकृया पछिको १३ वर्ष यता रोल्पाका ईलाका प्रहरी कार्यालय होलेरी, सुलिचौर, पोवाङ र घर्तीगाउँका प्रहरी भबन पुर्ननिर्माण गरिएका छन् भने नेर्पा र थबाङ चौकि निर्माण हुदैछ। बाँकी गाउँका सबै चौकी भाडाका घरमा छन्।

‘गाउँमा प्रहरी मैत्री भवनहरु छैनन्। साँघुरा घरमा बस्नेपरेको छ। इसले प्रहरीको मनोवल घट्छ। बेलाबेलामा घरबेटीको कचकचले असहज बनाउछ।’ रोल्पा प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङ भन्छन् ‘सौचालय र बाथरुमको समस्या उत्तिकै हुन्छ।’ भाडाकै घरमा बसिरहेका प्रहरी असहज भएको अनुभव सुनाउछन्। ‘कोठा पुग्दैन। सेवा ग्राहीलाई राख्ने ठाउँ हुँदैन। थुनुवा राख्न समस्या, कम्पाउन्डको समस्या। शौचालय एउटा हुन्छ। पब्लिकलाई प्रयोग गर्न दियो फोहर हुने।’ इलाका प्रहरी कार्यालय खुङग्रीका प्रहरी नायव निरीक्षक गौरी संकर बस्नेत भन्छन्। ‘आफ्नै भवन भयो भने हामीलाई पनि सजिलो, सर्वसाधारणलार्ई पनि सहज हुन्छ।’

अन्यत्र भन्दा थबाङमा झनै समस्या छ। घरबेटी, महिला सहयात्रा सहकारी र प्रहरी एउटै घरमा बस्छन्। यहाँ प्रहरीलाई अन्यत्र भन्दा झनै गाह्रो छ। ‘एउटै घरमा तीन तरिकाका परिवार बस्छौ। कार्य सम्पादनमा समस्या छ।’ इलाका प्रहरी कार्यालय थबाङका प्रहरी नायब निरीक्षक नदिराम खड्का भन्छन् ‘असहज बसाई मै पनि सहज सेवा दिने प्रयास गररहेका छौ।’

अहिले ईलाका प्रहरी कार्यालय उवाले मासिक ६ हजार २ सय ८२ रुपैया मासिक घरभाडा तिर्दै आएको छ। त्यस्तै ईलाका प्रहरी कार्यालय थवाङले १३ हजार ५०, पाछावाङले ५ हजार ८ सय ८९, जिनावाङले ७ हजार ८ सय ५२, ईरिवाङले ५ हजार ५ सय ९०, खुङग्रीले १० हजार  मासिक घरभाडा तिर्ने गरेका छन्। त्यसैगरि प्रहरी चौकि पाखापानीले ३ हजार १ सय ३०, जेलवाङले १ हजार ९ सय ९६, माडिचौरले ६ हजार ६ सय ६०, जुगारले ६ हजार ३ सय ८८ रुपैया मासिक घरभाडा तिरिरहेका छन्।

त्यसो त जिल्ला प्रहरी कार्यालय आफैले पनि मासिक ४७ हजार घरभाडा तिर्ने गर्दछ। उता प्रहरी चौकी नुवागाउले ३ हजार ३ सय २७, कुरेलीले २ हजार ३ सय ९५, गुम्चालले ३ हजार ९ सय ९३ र बागमाराले ६ हजार १ सय ६० रुपैयाका दरले मासिक घरभाडा तिर्ने गर्दछन। कछुवाको गतिमा पुर्ननिर्माण भइरहदा सेवा प्रवाहमा मात्र कठिनाई नभएर अपराध आरोपितलाई सुरक्षित गर्न कठिन हुने गरेको प्रहरी बताउँछन्।

प्रकाशित: २४ कार्तिक २०७६ ०४:३३ आइतबार

सशस्त्र_द्वन्द पुनर्निर्माण प्रहरी_चौकी