समाज

प्रत्येक दिन ५ जनाको मृत्यु

फाइल तस्बिर

संघीय ब्युरो

काठमाडौं - चालु आर्थिक वर्षको साढे ३ महिनामा चार हजार ६ सय ५७ वटा सडक दुर्घटना भएका छन्। सातवटै ट्राफिक प्रहरी कार्यालको तथ्यांक अनुसार यी दुर्घटनामा ५ सय ३८ जनाले ज्यान गुमाएका छन्। यस आधारमा हेर्दा दैनिक ५ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाएको देखिन्छ। त्यस्तै दैनिक सरदर ४४ वटा दुघर्टना भएका छन्। यी दुर्घटनामा ४ हजार ६ सय ८८ जना घाइते भएका छन्। यस अवधिमा दसैं र तिहारमा सबैभन्दा बढी सडक दुर्घटना भएका छन्।

यस अवधिमा सवारी दुर्घटनामा सबैभन्दा बढी प्रदेश ५ मा एक सय ४६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै प्रदेश १ मा ८६, प्रदेश २ मा एक सय १०, प्रदेश ३ मा ७८, प्रदेश ४ (गण्डकी) मा ५९, प्रदेश ६ (कर्णाली) मा ३४ जना र प्रदेश ७ (सुदूरपश्चिम) मा २५ जनाले ज्यान गुमाएका छन्।

दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारको अवस्था तथा त्यसले समाजमा पारेको असर केलाउने हो भने स्थिति भयावह देखिन्छ।

प्रदेश १: मृत्यु हुनेको तुलनामा तीन गुणा बढी घाइते
प्रदेश १ मा साउनयता भएका सवारी दुर्घटनामा ८६ जनाको ज्यान गएको छ। साउनदेखि कात्तिक २० गतेसम्म यस प्रदेशमा भएका दुर्घटनामा मृत्यु हुनेको तुलनामा घाइते हुनेको संख्या तीन गुणा बढी छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार साउनयता सबैभन्दा बाढी असोजमा ३० जनाको मृत्यु भएको छ। कार्यालयको अभिलेखमा असोजमा १२८ वटा दुर्घटना भएको उल्लेख छ। त्यस्तै कात्तिक २० गतेसम्म भएका ७१ वटा दुर्घटनामा २१ जनाको मृत्यु भएको छ। भदौमा १ सय १४ वटा सवारी दुर्घटना हुँदा १९ जना र साउनमा १ सय १८ वटा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको अभिलेख अनुसार साउनयता भएका दुर्घटनामा ३ सय १ जना घाइते भएका छन्। साउन र भदौमा ७३–७३, असोजमा ९५ र कात्तिक २० गतेसम्म ६० जना घाइते भएका छन्।

चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, जथाभावी ओभरटेक, ओभरलोड, सडकको बिग्रंदो अवस्था, यान्त्रिक गढबढी दुर्घटनाको मुख्य कारक भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रहरी निरीक्षक होमनाथ दाहालले बताए। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान सञ्चालन गरे पनि कमी आउन नसकेको देखिन्छ।
प्रदेश २: मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी

साउनदेखि कात्तिक २० गतेसम्म प्रदेश २ मा भएका सवारी दुर्घटनाबाट १ सय १० जनाले ज्यान गुमाएका छन्। यस अवधिमा भएका २ सय ५० वटा सवारी दुघर्टनामा ३ सय ८६ जना घाइते भए। सबैभन्दा बढी १ सय ५८ वटा मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। अघिल्लो आर्थिक वर्ष यो प्रदेशमा भएका सवारी दुर्घटनामा ४ सय ७४ जनाले ज्यान गुमाएका थिए।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगबहादुर पालले भने, ‘सवारी दुर्घटना प्रतिवर्ष बढिरहेका छन्,’ उनले भने, ‘यसको मुख्य कारण तीव्र गतिमा सवारी चलाउनु हो।’ यस प्रदेशमा भएका अधिकांश सवारी दुर्घटनामा चालकको लापरवाही भेटिएको जानकारी दिँदै उनले दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा बढी १७ देखि ३५ वर्ष उमेर समूहका रहेको बताए। दुर्घटनाको कारण पत्ता लागे पनि सुधारका उपाय नअपनाइँदा दिनानुदिन घटना भइरहेको उनको भनाइ छ। उनले भने, ‘हरेक दुर्घटनामा चालकको लापरवाही भन्ने गरिन्छ। तर कतिपय दुर्घटना सवारी ठीक अवस्थामा नभएर र कतिपय सडकका कारण हुने गरेको पाइन्छ।’

प्रदेश ३:दुर्घटनाको तुलनामा मानवीय क्षति कम कम

प्रदेश ३ मा साउनयता भएका ३ हजार ३ सय १० सवारी दुर्घटनामा ७८ जनाको ज्यान गएको छ। यी दुर्घटनामा २ हजार ९ सय ७० जना घाइते भए। यस प्रदेशको सिन्धुपाल्चोक र दोलखामा पछिल्लो एक महिनामा दुईवटा बस दुर्घटनामा परे। चाडपर्वका बेला भएका ती दुर्घटनामा २९ जनाको ज्यान गयो भने एक सय ५६ जना घाइते भए। असोज २४ गते इन्द्रावती गाउँपालिकाको भोटसिपा, बडहरेमा दसैंका यात्रु बोकेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना हुँदा एकै गाउँका सातसहित ११ को मृत्यु भयो। यो दुर्घटनामा एक सय ६ जना घाइते भए। त्यस्तै कात्तिक १७ गते दोलखा जिल्लाको मागादेउरालीमा बा२ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटेबाट सुनकोसी नदीमा खस्दा १८ यात्रुको निधन भयो। सो दुर्घटनामा ५० जना घाइते भए।

सडक र ठाउँ फरक भए पनि यी दुई दुर्घटनाका कारणमा तीनवटा संयोग र समानता भेटिन्छन्। ती हुन्– चालकको असावधानी, क्षमताभन्दा बढी यात्रु र बसको प्राविधिक अवस्था। ब्रेकमा समस्या आएको जान्दाजान्दै चालकले जबरजस्ती बस चलाउँदा बडहरे बस दुर्घटना भएको थियो भने थोत्रो बस चलाउँदा सुनकोसी दुर्घटना निम्तिएको थियो। ‘मुख्य त चालकको असावधानीले नै ठूला दुर्घटना निम्तिएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले भने। उनका अनुसार क्षमताभन्दा बढी यात्रु चढाउनु, थोत्रा बस चलाउनु, समय–समयमा सवारी साधन मर्मत नगर्नु र चलाउनुअघि बसको प्राविधिक अवस्था नजाँच्नु चालकको असावधानीले दुर्घटना भएका छन्।

‘चालकले सावधानी अपनाए मात्रै सवारी दुर्घटनामा ७५ प्रतिशतले न्यूनीकरण हुने देखिन्छ,’ काफ्ले भन्छन्।यस अवधिमा यो प्रदेशअन्तर्गत सबैभन्दा बढी चितवनमा ७३ वटा सवारी दुर्घटना भए। यस्तै, धादिङमा ४५ दुर्घटना भए। सबैभन्दा कम रसुवामा ४ वटा दुर्घटना भएको तथ्यांक छ।

गण्डकी प्रदेश: दुर्घटनामा ज्यान गुमाउनेमा पैदलयात्री पनि
साउनदेखि असोजसम्म गण्डकी प्रदेशमा भएका सवारी दुर्घटनामा ५९ जनाको ज्यान गयो। प्रदेशअन्तर्गतकाका विभिन्न जिल्लामा भएका २ सय १५ वटा सवारी दुर्घटनामा ५९ जनाको ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। दुर्घटनामा ज्यान गुमाउनेमा १३ जना पैदलयात्री र बाँकी सवारीका यात्रु छन्। ज्यान गुमाउने ५९ जनामा ११ जना चालक र सहचालक थिए। यस अवधिमा सबैभन्दा बढी ७३ वटा मोटरसाइकल दुर्घटनामा परे। त्यस्तै ३२ वटा ट्रक, ३३ वटा बस, ४४ वटा जिप–कार, ९ वटा टिपर, ९ वटा माइक्रोबस दुर्घटना भए। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकृत दीपक रेग्मीका अनुसार चालु वर्षको साउनदेखि असोजसम्मका भएका दुर्घटनामा १ सय ९१ जना घाइते भए। सवारी दुर्घटना हुँदा पैदलयात्रु पनि घाइते भए। ती दुर्घटनामा घाइते हुने पैदलयात्रीको संख्या ३७ छ।

‘यस अवधिमा दुर्घटनाको संख्या बढेको छ। अबका महिना दुर्घटनाको जोखिम झनै बढी छ,’ सूचना अधिकृत रेग्मीले भने, ‘सवारी दुर्घटना कम गर्न सचेतना नै आवश्यक पर्छ।’ चिसो बढ्दै जाँदा सवारी दुर्घटनाको जोखिम पनि थपिँदै जाने उनले बताए। चिसोमा बिहानपख हुस्सु लाग्ने र हात कठ्यांगिँ्रदा दुर्घटनाको जोखिम बढी हुने रेग्मीले बताए। उनका अनुसा राजमार्ग क्षेत्रमा मोटरसाइकल दुर्घटना बढिरहेका छन्। सवारी संख्या थपिँदै जाने तर सडक फराकिलो नहुँदा पनि दुर्घटना बढेको प्रहरीको भनाइ छ। ‘दुर्घटना कम गर्न अब सबै क्षेत्रबाट सचेतना अपनाउनुपर्छ। पहिले चालक नै सचेत हुनुपर्छ,’ उनले भने।

प्रदेश ५: दुर्घटना, १४६ को मृत्यु

प्रदेश ५ मा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान चलाइए पनि दुर्घटनामा कमी आएको छैन। प्रहरीको तथ्यांक अनुसा यो प्रदेशमा सवारी दुर्घटनामा हरेक दुई दिनमा सरदर तीन जनाको ज्यान जान्छ भने दैनिक ५ यात्रु दुघर्टनाकै कारण चोटपटक लागेर अस्पताल पुग्छन्। दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारको अवस्था तथा त्यसले समाजमा पारेको असर केलाउने हो भने स्थिति भयावह देखिन्छ।

यस प्रदेशका १२ जिल्लमा पछिल्लो साढे तीन महिनामा ४ सय ६८ वटा सडक दुर्घटना भएका छन्। यी दुर्घटनामा १ सय ४६ जनाले ज्यान गुमाए भने ५ सय ५५ जना घाइते भए। तीमध्ये २ सय ५९ जना गम्भीर घाइते भए। सबैभन्दा धेरै १९० वटा मोटरसाइकल, १९० वटा जिप–कार, ४८ वटा भ्यान, २१ वटा ट्रक–ट्यांकर, ३५ वटा बस दुर्घटना भए।

यो प्रदेशअन्तर्गत सबैभन्दा धेरै सवारी दुर्घटना हुनेमा रुपन्देही पहिलो, दाङ दोस्रो र बाँके तेस्रो नम्बरमा पर्छन्। सबैभन्दा कम दुर्घटना रोल्पा र प्युठानमा भएको अभिलेख छ। प्रहरीका अनुसार दुर्घटनामा चालकको लापरवाही मुख्य कारक देखिएको छ। झन्डै ६० प्रतिशत दुर्घटनामा चालकको लापरवाही मुख्य कारण देखिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले बताए। उनका अनुसार लागु औषध सेवन, ओभर स्पिड तथा आलाकाँचाले चलाएका मोटरसाइकल बढी दुर्घटनामा परेका छन्।

कर्णाली प्रदेश: तुलानत्मक रुपमा कम दुर्घटना

साउनयता कर्णालीमा ८९ वटा सडक दुर्घटना भएका छन्। तीव्र गति, चालकको लापरवाही, भौगोलिक विकटता र कमजोर सडकका कारण यहाँ सडक दुर्घटना भएका हुन्। ती दुर्घटनामा ३४ जनाले ज्यान गुमाए। कर्णालीका १० वटै जिल्लामा भएका सडक दुर्घटनामा एक सय ३६ जना सामान्य र ४० जना गम्भीर घाइते भएको प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। साउनमा भएका २१ दुर्घटनामा पाँच जनाको मृत्यु, १० जना गम्भीर घाइते र ३० जना सामान्य घाइते भएको प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासियाले जानकारी दिए। उनका अनुसार भदौमा भएका २५ वटा दुर्घटनामा १३ जनाले ज्यान गुमाए, ९ जना गम्भीर घाइते र ६५ जना सामान्य घाइते भए। असोजमा ३३ वटा सडक दुर्घटनामा ११ जनाले ज्यान गुमाए। असोजका दुर्घटनामा १३ जना गम्भीर र ३८ जना सामान्य घाइते भए। कात्तिक १९ गतेसम्म भएका १० वटा सडक दुर्घटनामा पाँचजनाको मृत्यु भयो। ती दुर्घटनामा तीनजना सामान्य र आठ जना गम्भीर घाइते भए।

कर्णाली प्रदेशअन्तर्गत सबैभन्दा बढी सवारी दुर्घटनामा सुर्खेतमा भएको अभिलेख छ। ‘चालकले मादक पदार्थ सेवन नगरे, बाटो र सवारीमा मात्र ध्यान दिए सडक दुर्घटनामा ८० प्रतिशतले कमी आउँछ,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चौरासियाले भने, ‘दुर्घटनामा कमी ल्याउन चालक सचेत हुन जरुरी छ।’ सवारी साधनमा क्षमताभन्दा दोब्बर, तेब्बर यात्रु राख्नु पनि सडक दुर्घटनाको अर्काे कारण भएको उनले बताए।

सुदूरपश्चिम प्रदेश: २८ दुर्घटना, २५ को मृत्यु
सुदूरपश्चिम प्रदेशमा जीर्ण सडक मर्मत नगरिनु, पुराना तथा थोत्रा सवारी साधन गुडाउनु र मानवीय लापरवाहीका कारण सडक दुर्घटना बढ्दै गएका छन्।

चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म सुदूरपश्चिम प्रदेशमा भएका २८ वटा सवारी दुर्घटनामा २५ जनाको ज्यान गएको छ। साउनमा भएका ६ वटा सवारी दुर्घटना ६ जनाको मृत्यु भयो भने १४ जना गम्भीर घाइते भए। यस्तै भदौमा ६ वटा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भयो भने १० जना घाइते भए। असोजमा भएका ७ वटा दुर्घटनामा ६ जनाको मृत्यु भयो। ती दुर्घटनामा ४ जना घाइते भए। कात्तिक महिनाको २१ गतेसम्म ७ वटा दुर्घटना भए। यी दुर्घटनामा ५ जनाको ज्यान गयो, ४४ घाइते भए।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सवारी दुर्घटना बढ्दो क्रममा छ। सडकमा सवारीको चाप बढ्दै जानु, सडक साँघुरो हुनु, ट्राफिक प्रहरीको सक्रियता कम हुनु र चालक तथा यात्रु दुवैको लापरवाहीका कारण सुदूरपश्चिम प्रदेशमा दुर्घटना बढ्दै गइरहेको सरोकारवाला बताउँछन्। यस्तै सवारी जाँचमा कडाइ नहुनु, क्षमताभन्दा बढी यात्रु राख्ने गरेका कारण पनि सवारी दुर्घटना बढेको यात्रु बताउँछन्। ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीका अनुसार सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण सवारी दुर्घटना बढ्दै छन्। दुर्घटनाको पहिलो कारणमा मानवीय त्रुटि रहेको उनले औंल्याए।

(अमर खडका/इटहरी, कमलेश ठाकुर/धनुषा, ध्रुव दंगाल\सिन्धुपाल्चोक, डुक्पा छिरिङ मोक्तान\काठमाडौं, सविता श्रेष्ठ\चितवन, सन्तोष पोखरेल\पोखरा, रेखा भुसाल\बुटवल, गणेश विशु\सुर्खेत, पुष्पराज जोशी\धनगढी को सहयोगमा)

प्रकाशित: २४ कार्तिक २०७६ ०१:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App