इलाम – आफू जन्मेलगत्तै बाबुआमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३ सुलुबुङका २० वर्षीय विशाल बुर्जाले जन्मेपछि आफ्ना आमाबाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन पनि अहिलेसम्म भौंतारिनु परेको छ।
जन्मदर्ता र नागरिकता बनाउने पहल गरिदिन उनले सन्दकपुर गाउँपालिकाको न्यायिक समितिमा गत साउनमै निवेदन दिए। तर, सुरुमा नागरिकता बनाइदिने आश्वासन दिएका बाबु घनश्याम बुर्जामगर बेपत्ता भएपछि विशाल झन् अन्योलमा परे। भर्खरै घर आएका बाबुले नागरिकता बनाइदिने पुरानो ‘बोली फेरेपछि’ विशाल न्यायिक निकाय धाउन बाध्य भएका छन्। न्यायिक समितिमा भएको छलफलमा पनि निष्कर्ष नआएपछि समितिले विशाललाई जिल्ला प्रशासन कार्यालय जान सुझाएको छ।
घनश्यामले २०५६ सालमा देउमाई नगरपालिका–१ (साविक चमैता गाविस–६) की पुष्पादेवी राईसँग विवाह गरेका थिए। विवाह गरेर घनश्याम पत्नीसहित ससुरालीमै बसे। तर, विशालले बाबु चिन्ने बेलामा घनश्यामले त अर्काे बिहे गरेर घर छाडिसकेका थिए, त्यसको केही समयपछि आमा पुष्पाले पनि अर्काे बिहे गरेर गइन्। ‘मैले न आमा देखें न बुबा,’ विशालले भने, ‘स्थानीय स्कुलमा कक्षा–५ सम्म पढेपछि मैले पनि आफैं गरिखानुपर्ने अवस्था आइलाग्यो र पढाइ छाडें।’
विशालले नागरिकता बनाउने उमेर भएपछि बाबु घनश्यामलाई जन्मदर्ता र नागरिकताको कुरा गरे।
‘बुबाले सुरुमा छोरो स्विकारेर जन्मदर्ता र नागरिकता बनाइदिनेमा सहमति पनि दिनुभयो,’ विशालले भने, ‘त्यसपछि उहाँ ३÷४ महिना बेपत्ता भएर भर्खरै घर आउनुभएको छ। तर, कुरा फेरियो। अहिले उहाँ मलाई छोरो मान्न तयार हुनुहुन्न।’ घनश्याम र पुष्पाको सहजै बिहे भएको थिएन। पुष्पालाई स्थानीय प्रहरीको रोहबरमा घनश्यामको जिम्मा लगाइएको थियो। ‘अहिले बुबाले पहिला आफूलाई पत्नी जिम्मा लगाएको प्रहरीको कागज खोजिरहनुभएको छ,’ विशालले भने, ‘न्यायिक समितिमा पनि मेरो उजुरीको टुंगो लागेन, अब सिडिओ कार्यालयमै गएर निवेदन दिने तयारीमा छु।’
देउमाई नगरपालिका–१ को वडा कार्यालयले स्थानीयको मुचुल्काका आधारमा विशालको २०५६ साल पुस २० मा घनश्याम र पुष्पाको छोराका रूपमा जन्म भएको प्रमाणित गरिसकेको छ। स्थानीय सिद्धदेउमाई आधारभूत विद्यालयले पनि वडा कार्यालयको रेकर्डअनुसार नै विशालको जन्म भएको र उनले २०६० सालमा यहीँ भर्ना भई २०६५ सालमा कक्षा ५ उत्तीर्ण गरेको प्रमाणित गरेको छ।
सन्दकपुर गाउँपालिकाका न्यायिक समिति सदस्य हरि लुंगेलीले विशालको सबै प्रमाण हेर्दा घनश्याम र पुष्पाकै छोरा भएको प्रमाणित हुने बताए। ‘विशालले दिएको निवदेनका आधारमा न्यायिक समितिमा छलफल भयो तर घनश्यामले आफूले पुष्पासँग बिहे गरेकै प्रमाण खोजेपछि मेलमिलाप हुन सकेन,’ उनले भने, ‘प्रहरीको प्रमाण जुटाएर विशाललाई न्याय दिलाउन स्थानीय प्रशासन कार्यालयमै जान सुझाएका छौं।’
प्रकाशित: २० कार्तिक २०७६ ०३:२३ बुधबार