समाज

नेपाली जेलमा विदेशी कैदी

काठमाडौं – विदेशी नागरिकले बेलाबखत नेपालमा आएर विभिन्न अपराधिक गतिविधि गरेको विवरण समय–समयमा नेपाल प्रहरीले सार्वजनिक गर्दै आइरहेको छ। लागुऔषध कारोबार, मानव ओसारपसार, प्रविधिमार्फत आर्थिक हिनामिनालगायत धेरै मुद्दामा विदेशी समातिन्छन्। यस्ताखाले अपराधमा संलग्न विदेश नागरिक उम्कन भने पाउँदैनन्।

‘विदेशीहरूले लागुऔषध कारोबार र मानव बेचबिखनको अखडा नै नेपाललाई बनाएका छन्।’

नेपाललाई ट्रान्जिट बनाएर अपराधमा संलग्न तीन सयभन्दा बढी विदेशी नागरिकहरू नेपालमा कारागारमा सजाय भोगिरहेका छन्। प्रहरीका अनुसार लागुऔषध, अप्राकृतिक मैथुन र प्रविधिको प्रयोगबाट आर्थिक हिनामिना गरेको आरोपमा यी विदेशी नागरिकहरू कारागार चलान भएका हुन्। केन्द्रीय कारागार सुन्धारामा दुई सय र नख्खु कारागारमा एक सय आठजना विदेशी कैदी छन्। यी कैदी भारत, चीन, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, दुबई, नाइजेरिया, इटलीलगायत मुलुकका नागरिक हुन्।

नख्खु कारागारका शाखा अधिकृत कमलप्रसाद पाण्डेका अनुसार लागुऔषधसम्बन्धी कारोबारमा बढी विदेशीहरू मुछिएका छन्। लागुऔषध कारोबार गरेबापत १५ वर्षसम्मको जेल सजाय र पाँच लाख जरिबानासहित थुनामा राखिएका विदेशी नख्खु कारागारमा छन्। ‘विदेशीहरूले लागुऔषध कारोबार र मानव बेचबिखनको अखडा नै नेपाललाई बनाएका छन्,’ उनले भने, ‘विदेशीहरू नेपाल आएर यस्तोे कार्यमा संलग्न हुनु दुर्भाग्यपूर्ण हो।’

लागुऔषध र ओसारपसारमा संलग्न भई जेल सजाय भोगिरहेका दुई सय विदेशी नागरिक केन्द्रीय कारागार जगन्नथा देवलमा छन्। उनीहरूमाथि १५ वर्षसम्मको जेल सजाय र पाँच लाख जरिवानासहितको सजाय छ। महानगरीय प्रहरी परिसर जावलाखलेका एसएसपी टेकप्रसाद राईको अनुसार पाँच वर्षअघि धेरै मात्रामा लागुऔधषका कारोबारीहरू समातिए पनि पछिल्लो समय भने यसमा केही कमी आएको छ।

लागुऔषध बनाउने सामग्री नष्ट गर्नुका साथै प्रहरी निगरानी बढेकाले लागुऔषध दुव्र्यसनमा फस्नेको संख्यामा कमी आएको राईको भनाइ छ। ‘नेपालमा अधिकतर कारागारमा लागुऔषधका कैदीहरू बढी छन्,’ उनले भने, ‘अहिले प्रविधिले पनि अपराध बढाइरहेको छ, अबको डर र चुनौती भनेको प्रविधिमार्फत हुने अपराध पनि हुन्, यसमा ध्यान दिन आवश्यक छ।’

प्रकाशित: २० कार्तिक २०७६ ०१:३५ बुधबार

विदेशी_नागरिक कैदी जेल