समाज

बैकिङ कसुर मुद्दाका दोषी जेल चलान

काठमाडौं- बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दुई जनालाई आज कारागार चलान गरिएको छ। अदालतको आदेशमा कसुर प्रमाणित भई फरार हुँदै आएका हेटौँडाका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ साल मङ्सिर २१ को फैसलाले सञ्जयलाई तीन वर्ष कैद र एक करोड ९५ लाख २६ हजार रुपेयाँ जरिवाना तथा लक्ष्मीदेवीलाई ७९ लाख २२ हजार रुपैयाँ जरिवाना र दुई वर्ष कैद तोकेको थियो।

विसं २०६७ फागुन २५ गते क्रिष्टल फाइनान्स थापाथलीबाट जग्गा धितो राखी आफूखुशी रुपमा जग्गाको अस्वभाविक मूल्याङ्कन गराई कर्जा दुरुपयोग गरेको अभियोगमा अदालतले उक्त कैद तथा जरिवाना हुने फैसला गरेको हो।

सिआइबीको टोलीले उक्त सजाय बेरुजु रही फरार रहेका सञ्जयलाई कात्तिक १७ गते काठमाडौँको गौशालाबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँमा र लक्ष्मीदेवीलाई पर्साको वीरगञ्जबाट पक्राउ गरी आज जिल्ला अदालत पर्सामा बुझाएको थियो। उनीहरुलाई आजै अदालतले कैद भुक्तानीका लागि कारागार चलान गरेको पाण्डेले जानकारी दिए। रासस

प्रकाशित: १९ कार्तिक २०७६ १३:०३ मंगलबार

बैकिङ_कसुर मुद्दा दोषी जेल चलान