समाज

एक दशकमा ४१ जना र ११ वटा हात्तीको मृत्यु

दमक – झापामा हात्तीलाई खेतबारीमा छिर्न नदिन लगाइने विद्युतीय धरापमा परी ज्यान गुमाउने मानिस र हात्तीको संख्या बढ्दै गएको छ। २०६७ सालयता विद्युतीय धरापमा परी ४१ जना मानिस र छावासहित ११ वटा जंगली हात्तीको मृत्यु भइसकेको छ। पछिल्लो पटक शनिबार जंगली हात्ती धपाउन राखिएको विद्युतीय धरापमा परी मामा–भान्जाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का १८ वर्षीय अभिनाश राई र भोजपुर जिल्ला साल्पाचुली गाउँपालिका–५ का करिब ३५ वर्षीय मणिराम राई छन्। मणिराम र अभिनाश मामा–भान्जा हुन्। बुद्धशान्ति–४ का परेसीकुमार राईको घरमा पाहुना आएका मणिराम र अभिनाश शनिबार बिहान माछा मार्न गएका थिए। सोही गाउँपालिका– ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय नजिकै जंगली हात्तीलाई लक्षित गरी विद्युतीय धराप लगाइएको थियो। कार्यालय नजिकैको खोलामा माछा मार्ने क्रममा धरापमा प्रवाह गरिएको बिजुलीसहित तारले पानीलाई छोएपछि मामा–भान्जाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

गत साउन ३१ मा पनि जंगली हात्ती नियन्त्रणमा लागि घर वरिपरि लगाइएको विद्युतीय बारमा परी पूर्वी झापाको मेचीनगर नगरपालिका–९ माथिल्लो मागुरमाडीका ६० वर्षीय गंगा थपलियाको ज्यान गएको थियो। आफ्नै घरपछाडि खेतमा हात्ती नियन्त्रणका लागि लगाइएको पासोमा उनी आफैं परेका थिए। त्यस्तै असार १४ मा हल्दिबारी–३ रनकाली सामुदायिक वनमा राखिएको विद्युतीय बारमा परी करिब तीनवटा हात्ती मरे। साबिक झापाको जलथल गाविस–१ मा पर्ने रनकाली सामुदायिक वन उपभोक्ता समूहले जंगल नजिकैको बस्तीमा दिनहुँ रैथाने जंगली हात्ती निस्किन थालेपछि बच्न वन वरिपरि विद्युतीय तरबार लगाउँदै आएका छन्। तर रनकाली सामुदायिक वनले विद्युतीय धराप लगाउन अनुमति लिएको छैन।

२०७५ कात्तिक ९ मा जंगली हात्तीबाट आजित भएपछि राखिएको विद्युतीय बारमा परी उत्तरी झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडाकी २५ वर्षीया अनु लिम्बुको मृत्यु भएको थियो। उनलाई उद्धार गर्न जाने अर्की महिला घाइते भएकी थिइन्। अनुका पति भक्तबहादुर सेर्मा लिम्बुले घर वरिपरि विद्युतीय बार राखेका थिए। घरबाट बाहिर निस्किएकी अनुको सोही बारको करेन्ट लागेर मृत्यु भएको थियो। सोही घटनामा अनुकी बहिनी सुस्मिता पनि करेन्ट लागेर घाइते भइन्।

२०७५ भदौ ६ मा झापाको पूर्व–उत्तरमा रहेको मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको विद्युतीय बारमै परी मृत्यु भयो। बाहुनडाँगीमा जंगली हात्ती निस्किएपछि धपाउन जाँदा हात्ती नियन्त्रणका लागि थापिएको विद्युतीय बारमा उनलाई करेन्ट लागेको थियो। २०७४ असोज ९ मा पनि विद्युतीय बारमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिका–१० का ७१ वर्षीय डम्बरबहादुर लिम्बुको ज्यान गयो।

जंगली हात्ती रोक्न घर वरिपरि लगाइएको विद्युतीय बारको करेन्ट लागेर घाइते भएका लिम्बुको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। २०७४ चैत १७ मा घर वरिपरि लगाइएको विद्युतीय बारमा परी हल्दिबारी गाउँपालिका–३ कि ६० वर्षीया छविमाया खड्काको पनि मृत्यु भयो। घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। २०७२ असोज १४ मा जंगली हात्ती धपाउने क्रममा करेन्ट लाग्दा बाह्रदशी गाउँपालिका साबिक राजगढ–३ बुट्टाबारीका ५७ वर्षीय कृष्ण नेम्बाङको मृत्यु भयो। गाउँमा जंगली हात्ती पसेको थाहा पाएपछि हात्ती धपाउन विद्युतीय साइरन बजाउन खोज्दा करेन्ट लागेर नेम्बाङ घाइते भएका थिए। उनको मनमोहन अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो।

२०७० असार २१ मा विद्युतीय बारमा परी झापा र इलामको सीमामा पर्ने इरौटार–८ का टीकाराम रिजालको घरनजिकै खेतमा पोथी हात्ती म¥यो। भारतबाट आउने हात्ती र रैथाने हात्तीबाट बच्न विद्युतीय बार लगाइन्छ। २०६७ सालदेखि अहिलेसम्म विद्युतीय बारमा परी ४१ जना र छावासहित ११ वटा जंगली हात्तीको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७६ ०२:४२ आइतबार

विद्युतीय_धराप जंगली_हात्ती