समाज

मिथिलामा छठको चहलपहल

सांकेतिक तस्विर

महोत्तरी– मिथिला क्षेत्रमा अहिले छठ पर्वको चहलपहल शुरु भएको छ। यहाँ छठका लागि साप्ताहिक हटिया लागेको छ।

जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ।

छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ। त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ  छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामग्री प्रगोग गरिने बिधि छ।

मिथिला क्षेत्रमा जताततै केराका घरीको बजार जमेको छ। छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने अनिवार्य परम्परा छ। छठ पर्व मिथिलाको साझा पर्व जस्तै बनेको छ। 

कात्तिक शुक्ल चौथीका दिन शुरु भएर सप्तमीका दिन बिहान सम्पन्न गरिने छठ सूर्य उपाशनाको पर्व हो। छठ पर्वमा व्रत लिने मात्र नभएर परिवारका, नातागोताका र छरछिमेकका सबै परिचालित हुने हुँदा यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको छ। अहिले मिथिलामा जताततै सूर्य उपाशनाका गीत गुञ्जिरहेका छन्। रासस

प्रकाशित: १३ कार्तिक २०७६ ०५:४८ बुधबार

मिथिला छठ चहलपहल