समाज

दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

उदयपुर– उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मंगलबार साँझ करिब ६ः४० बजे मे ६ प ९५३९ नं. को मोटरसाईकल अनियन्त्रित हुन गई दुर्घटना हुँदा त्रियुगा नगरपालिका–५ देउरीका २५ वर्षीय दीपेन्द्र रानामगरको मृत्यु भएको हो।

रौतामाई गाउँपालिका–७ को मुर्कुची बजारदेखि गाईघाटतर्फ आउने क्रममा त्रियुगा ७ को कालीखोलामा भएको दुर्घटनामा परी मगर गम्भीर घाइते भएका थिए। गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएका मगरको न्युरो अस्पतालमा उपचारको क्रममा मंगलबार राति १०ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

उनीसँगै मोटरसाईकलको पछाडि सवार २२ वर्षीय शुशील थापा घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७६ १३:४० बुधबार

मोटरसाईकल_दुर्घटना चालक मृत्यु