समाज

महराको अस्पतालमै बयान लिने तयारी

फाइल तस्बिर

काठमाडौं - उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ। महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ। प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो। तर, उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको हो।

‘भर्ना गर्दाको सुरुको दिन उच्च रक्तचाप देखिएको थियो, त्यसपछि अरुअरु रोग बढ्दै गएको भेटियो,’ अस्पताल स्रोतले भन्यो, ‘अहिले सुगर, प्रेसर र बाथ रोगले च्यापेको छ, यस्तो अवस्थामा वयानको लागि बाहिर निस्कन मिल्दैन।’ अस्पताल स्रोतका अनुसार डाक्टरको रोहबरमा अस्पतालभित्र बयान लिन समस्या हुने छैन। त्यसको लागि प्रहरी, सरकारी वकिल कार्यालय र अस्पताल स्रोतबीच सोमबार छलफल हुने अस्पताल स्रोतको भनाइ छ।

गएको बिहीबार प्रहरीले सरकारी वकिलको कार्यालयमा महरालाई उपस्थित गराएर बयान लिने प्रयास गरेको थियो। बयान सुरु गरेपछि उच्च रक्तचापको समस्या देखिएपछि महरा तुरुन्तै नर्भिक भर्ना भएका थिए। मंगलबार अदालत खुलेपछि बयान लिने तयारी प्रहरीले गरेको थियो। तर, अस्पताल स्रोतले स्वास्थ्य अवस्था ठिक नभएको बताएपछि बयानको टुंगो नलागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरिरहेको छ। सोमबार महराका आफन्त र अस्पताल स्रोतसँग छलफल गरेर प्रहरीले बयान लिने तयारी गर्नेछ। घटनाका कारण धेरै देखिएकाले अनुसन्धान लम्बिन सक्ने डिएसपी बोगटीको भनाइ छ। ‘हामीले संवेदनशील भएर सुक्ष्म अध्ययन अनुसन्धान गरिरहेका छौं, अहिले उहाँ अस्पतालमा भएकाले प्रत्यक्ष रूपमा अनुसन्धान गर्न कठिन परेको छ,’ उनले भने, ‘अस्पतालको अनुमतिमा उपचारकक्षमै भेटेर केही सोधपुछ भएको छ, पर्याप्त सोधपुछ गर्न अझै बाँकी नै छ।’ उनका अनुसार अस्पताल स्रोतले प्रेसर र युरिक एसिड भएको प्रहरीलाई जानकारी गराएको छ।

यौन दुव्र्यवहारको आरोप लागेपछि ५ दिनअघिदेखि महरामाथि प्रहरीले अनुसन्धान थालेको थियो। गत आइतबार उनलाई सरकारी निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो। प्रहरीले उक्त घटनालाई अनुसन्धान प्रक्रियामा नल्याउँदै पीडित भनिएकी रोशनी शाहीले वानेश्वर वृत्तमा पुगेर उजुरी दिएकी थिइन्। उजुरीमा आफूमाथि दुव्र्यवहार भएको जानकारी गराएकी थिइन्। असोज १६ गते यौन दुव्र्यवहारको घटना सार्वजनिक भएको थियो। बलात्कार प्रकरणमा मुछिएपछि महराको सरकारी सेवा सुविधा कटौती भइसकेको छ।

प्रकाशित: २७ आश्विन २०७६ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App