समाज

धानखेतीमा फौजी किराको प्रकोप

बाँके- धानले पसाउने (बाला फाल्ने) बेलामा धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि बाँकेका किसान चिन्तित बनेका छन्। धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका हुन्। बाँकेमा ३ सय हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ।     
     
ज्ञान केन्द्रका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा, डुडुवा गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा तथा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १९ मा फौजी किराले धान काटेर नोक्सानी पुर्‍याएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए। बाँकेसँगै बर्दियाका केही स्थानमा पनि फौजी किराको प्रकोप फैलिन थालेको ज्ञान केन्द्रले जनाएको छ।     
     
फौजी किराको प्रकोप देखिन थालेपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएका छन्। फौजी किरा फैलने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको ज्ञान केन्द्रले जनाएको छ। हाललाई केन्द्रसँग भएको ५० हजार रुपैयाँ बजेटलाई बाँकेको लागि ३० हजार रुपैयाँको विषादी खरीद गरी प्रभावित क्षेत्रमा छर्कन पठाइसकिएको र बाँकी रकम बर्दिया क्षेत्रमा नियन्त्रणका लागि खर्च गरिएको ज्ञान केन्द्रले जनाएको छ।     
     
पाकिसकेका धानको बाला फौजी किराले काटेर भूइँमा खसाउँदा क्षति पुगेको छ। डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले भने, 'प्रकोप नियन्त्रणका लागि स्थानीय तहबाट पनि किसानहरुलाई विषादी सहयोग गरिरहेका छौँ। किराको प्रकोप उच्च देखिएको छ। अहिलेसम्म नियन्त्रण हुन सकिरहेको छैन। कतिपय किसानले धान काटेरै फालेका छन्। हामीले किरा नियन्त्रणका लागि सबै विकल्प प्रयोग गरिरहेका छौँ।'   
     
डुडुवा गाउँपालिका-३ का रामदिन यादवले पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा ठूलो नोक्सानी बेहोर्नु परेको बताए। यस वर्ष लगाएको धान बालीमा ठूलो क्षति पुगेको उनले बताए। 'औषधि छर्दा पनि किरा मरेका छैनन्। धानको बाला जति भुइँमा झरेको छ', उनले भने, 'दिउँसो हेर्दा धान ठीकै हुन्छ। रातभरिमा धानको बाला जति भुइँमा झरिसकेको हुन्छ।'    
     
फौजी किरा दिनभर धानको गाँजमा लुक्ने र राती एकसाथ फौजी शैलीमा धानबालीमा आक्रमण गर्छ। फौजी शैलीमा किराले धानको बालामा आक्रमण गर्ने भएका कारण कृषिविज्ञ ‘आर्मी वर्म’ नाम दिएका हुन्। नेपालीमा फौजी किरा भन्ने गरिएको हो। किराले खानेभन्दा बढी काट्ने हुँदा खेतैभरि धान खसेको देखिन्छ। किसानहरुले पाकिसकेको धान जोगाउन किसानले कृषि ज्ञान केन्द्र र स्थानीय तहसँग हारगुहार गरिरहेका छन्।     
     
धानखेतीमा पाँच दिनदेखि फौजी किराले नोक्सान गर्दै आएको हो। शुरुमा थोरै धान खेतीमा देखापरेको किरा पाँच दिनमै फैलिएर ३ सय बढी हेक्टर जमीनमा लगाएको धानखेतीमा नोक्सान पुर्‍याइसकेको स्थानीय किसानको गुनासो छ। डुडुवा–६ कालाबन्जरका किसान रतिराम कुम्हारले ४० कट्ठा जमीनमा लगाएको राधा–४ धान फौजी किराले काटेर नोक्सान पुर्‍याएको बताए।     
     
उनले भने, 'यस वर्ष धान निकै राम्रो भएको थियो, एक कट्ठामा साढे दुई क्विन्टल धान फल्ने अनुमान गरेको थिए, तर काट्ने बेलाको धान फौजी किराले सखाप पारेपछि उत्पादन शुन्य हुने भयो।' अर्का किसान अफिद अलीले पनि ४० कट्ठा जमीनमा लगाएको धान नष्ट भएको बताए। उनले एक कट्ठामा लगाएको धानखेतीबाट पाँच किलो धान घरमा भित्रिने अवस्था नरहेको गुनासो गरे।     
     
फौजी किराले अत्यन्तै छिटो नोक्सान पुर्‍याउने कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए। उनले फौजी किरा प्रभावित क्षेत्रमा छिट्टै पुग्ने र तत्काल रोकथाम र नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विषादी वितरणसँगै किसानलाई रोकथामका उपायबारे जानकारी दिइरहेको बताए।     
     
फौजी किरा मार्न एनपिभी नामक भाइरस आवश्यक पर्छ। भाइरस उत्पादनका लागि त्यही किरा पाल्नुपर्ने र भाइरस सारेर किरा मारेर पोट्रिन उत्पादन गर्नुपर्ने कृषि विज्ञको भनाइ छ। फौजी किराको सङ्क्रमण देखिएपछि कृषि प्राविधिकले किसानलाई इमिडा क्लोप्रिट नामक विषादी छर्ने सुझाव दिएका छन्। पानीमा उक्त विषादी मिसाएर छरे फौजी किराको प्रकोप नियन्त्रणमा आउने उनीहरुको सुझाव छ।     
     
प्रदेशसभा सदस्य चिन्तित     
बाँके क्षेत्र नम्बर ३ ‘क’बाट निर्वाचित भएका ५ नम्बर प्रदेश सांसद इन्द्रप्रसाद (आइपी) खरेलले लगाएको धान बाली पसाएको छैन। उनले लगाएको गरिमा जात भनिएकोे धान हालसम्म पनि नपसाउँदा चिन्तित बनेका छ। गरिमा जातको धानको बीउ आफैंले खरीद गरेर खेती गरेका सांसद खरेललाई १ सय २५ दिनमा पाक्छ भनेर व्यापारीले विक्री गरेको थियो।     
     
अहिले १ सय ५० दिनभन्दा पनि बढी समय पुग्दा पनि धान पसाएको छैन। धान नपसाउँदा अर्को बाली लगाउन ढिला हुने चिन्ताले सांसद खरेललाई निकै सताएको छ। शुक्रबार कृषि ज्ञान केन्द्रमा आफ्नो धान नपसाएको र व्यापारीले झुक्याएर गरिमा भनेर अरु कुनै जातको धान दिएको भन्दै सासंद खरेल गुनासो गर्न पुगेका थिए।    
     
छिमेकीले अघिल्लो वर्ष गरिमा जातको धान लगाएर राम्रो उत्पादन गरेको देखेका प्रदेश सांसद खरेलले यस वर्ष आफ्नो खेतमा सोही जात भनेर लगाएका हुन्। गतवर्ष प्रदेश सांसद खरेलले आफ्नो खेतमा १० क्विन्टल धान उत्पादन गरी बिक्री गरेका थिए। यस वर्ष भने धानको उत्पादन शून्य हुँदा उनी निकै छट्पटाएका छन्।   
     
भारतबाट आउने धान गरिमा जात नेपालमा सूचीकृत छ। खरेलले नेपालमा सूचीकृत भएको भनेर लगाएको तर ठूलो धोका खाएको बताए। खरेलले लगाएको धानबाली कृषि ज्ञान केन्द्रको प्रावधिक टोली पुगेर हेर्दा उक्त धान गरिमा जातको नभएको हुनसक्ने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले यो कुनै अरु नै जात हुनुपर्ने र यसको ल्याब परीक्षणपछि मात्र कुन जात हो भनेर पत्ता लगाउन सकिने बताए।     
     
बाँके र बर्दियामा अरु किसानले गरिमा जात भनेर लगाएको धानमा पनि यस्तै समस्या देखापरेको छ। बाँकेमा करीब ५० बिघा क्षेफलमा धानखेती गरिएको छ भने बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा ८० विगाहा र ठाकुरबाबा नगरपालिका क्षेत्रमा ४० बिघा क्षेत्रमा किसानले लगाएको धान पसाएको छैन।     
     
ज्ञान केन्द्र प्रमुख ढकालले एक जातको बीउलाई अर्को जात भनेर बिक्री गर्ने कम्पनी तथा व्यापारीलाई कारवाही गरिने बताए। ज्ञान केन्द्रले तत्काल एक हप्तासम्म उक्त धान नकाट्न किसानलाई आग्रह गरेको छ। एक हप्तासम्म कुनै धान पसाउने सङ्केत नदेखिएमा काटेर अरु बाली लगाउन ज्ञान केन्द्रले किसानलाई सुझाव दिएको छ। रासस

प्रकाशित: २६ आश्विन २०७६ ०८:४४ आइतबार

फौजी किरा प्रकोप