समाज

चार स्थानमा परामर्श केन्द्र

इलाम - जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका ४ स्थानमा वैदेशिक रोजगार परामर्श केन्द्र स्थापना गरिएको छ। युवालाई रोजगारीका लागि विदेश नगई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने उद्देश्यले प्रशासन कार्यालय, माई नगरपालिका, रोङ गाउँपालिका र सदरमुकामस्थित मानवअधिकार मञ्चमा केन्द्र स्थापना गरिएको हो।

रोजगारीका लागि खाडी र अन्य मुलुक जाने युवालाई यहीं कृषि, पशुपालन र अन्य व्यावसायिक काममा उत्पे्रेरित गर्न मञ्चकै अगुवाईमा केन्द्र स्थापना गरिएका हुन्। वैदेशिक रोजगारीका लागि राहदानी बनाउन प्रशासन कार्यालय पुग्ने युवाले अब केन्द्रको ‘प्रवेश पास’ देखाएपछि मात्रै राहदानीको प्रक्रियामा जान पाउने भएका छन्। ‘घरको आर्थिक अवस्था कमजोर भएर विदेशिन बाध्य युवाको संख्या इलाममा धेरै छ,’ मञ्चका सचिव देवेन्द्र विश्वकर्माले भने, ‘युवालाई विदेश नगई स्वदेशमै रोजगारी र आर्थिक उन्नतिका सम्भावना देखाइदिने काम केन्द्रले गर्छ।’

केन्द्रले राहदानी बनाउन प्रशासन कार्यालय पुगेका युवालाई भरसक वैदेशिक रोजगारीमा नजान अनुरोध गर्छ। जानैपर्ने अवस्था भए वैधानिक रूपले जान र आफ्नो सुरक्षामा कस्ता उपाय अपनाउने भन्नेबारे पनि चेतना दिइरहेको छ। ‘इलाम त्यसैपनि खेतीयोग्य र उर्बर छ, त्यतिमात्र होइन लगानी र उद्यम गर्ने धेरै सम्भावना यहाँ छन्,’ सचिव विश्वकर्माले भने, ‘तैपनि, विदेश जानेको लर्काे लाग्नु चाहिँ विडम्बना भएकाले भरसक युवालाई देशभित्रै केही गर्ने प्रेरणा दिन लागिएको हो।’ केन्द्रले स्वदेशमा रोजगारी नपाएको भन्दै निरास भएर विदेश जान लागेका युवालाई सरकारले ल्याएका युवासम्बन्धी योजना र कार्यक्रमबारे पनि जानकारी दिने गरेको उनले बताए।

मञ्चले जिल्लामा वैदेशिक रोजगारीका लागि जानेको संख्या तुलनात्मक रूपले धेरै रहेका माई नगरपालिका र रोङ गाउँपालिकामा चाहिँ युवालक्षित परियोजना नै सञ्चालन गरिरहेको छ। यी गाउँका वैदेशिक रोजगारीमा जान लागेका र गएर फर्केका युवालाई उद्यममा लाग्न मञ्चले विभिन्न क्रियाकलाप गरिरहेको हो। ‘सामाजिक रूपान्तरणका लागि युवा ः सुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथामका लागि युवा समूह परिचालन’ परियोजनाले युवाका लागि चेतनामूलक कार्यक्रममात्र नभई लगानीमा समेत सघाइरहेको छ। स्थानीय तहहरूसँगको साझेदारीमा उद्यमशीलता विकास, अहिंसात्मक सञ्चार, सीपमूलकलगायतका तालिम सञ्चालन गरिएको मञ्चले जनाएको छ।

‘सामाजिक रुपान्तरणका लागि युवा अभियान’ रेडियो कार्यक्रम, सुरक्षित आप्रवासन तथा मानव बेचबिखनविरुद्ध घरदैलोलगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेको परियोजना संयोजक सन्तोष मगरले बताए। ‘वैदेशिक रोजगारीबारे चेतना बढ्न थालेपछि युवाहरू विदेश जान छाडेर गाउँमै केही गर्ने सोचले यहीं उद्यम गर्न थालेका छन्,’ उनले भने, ‘विदेश जान तम्तयार केही युवाले उदाहरणीय रूपमा यहीं व्यवसाय थालेपछि अन्य युवा पनि उनीहरूबाट प्रेरित हुँदैछन्।’ घर–परिवारबाट टाढा रहेर, जोखिम मोलेर वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै व्यवसाय गर्न सकिन्छ भनेर उत्पे्रेरित गरेपछि माई र रोङका युवाले पशुपालन, फर्निचर व्यवसायलगायतका काम थालेको उनले बताए।

तालिम पाएका युवाले स्थानीय तहका युवालक्षित कार्यक्रम पनि आफ्नै सक्रियतामा कार्यान्वयन गर्न थालेको मञ्चले जनाएको छ। १८ देखि ३० वर्ष उमेरसमूहका युवा विशेषगरी यो परियोजनामा संलग्न छन्। ‘लक्षित वर्गको विषयगत क्षमता, सामाजिक संरचनाको विकास, प्रवर्धन, सञ्जालीकरण र पैरवी गर्दै समस्यामा परेर फर्किएका आप्रवासी तथा मानव बेचबिखनबाट पीडितको सामाजिक–आर्थिक पुनस्र्थापनामा सहयोग गर्नु परियोजनाको उद्देश्य हो,’ मञ्च अध्यक्ष मोहनसिंह थेबेले भने।

प्रकाशित: १३ आश्विन २०७६ ०७:०५ सोमबार

वैदेशिक_रोजगार_परामर्श_केन्द्र उद्यम