समाज

वडाध्यक्षका छोरामाथि छुरा प्रहार

धरान – धरानको वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरामाथि छुरा प्रहार भएको छ। छुरा प्रहारबाट अध्यक्षका २४ वर्षीय छोरा पुजन लिम्बू गम्भीर घाइते छन्। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। धरान–१२ स्थित पब्लिक स्कुलको दक्षिणी गेटनजिकै छुरा प्रहार भएको हो। घटना करिब बिहीबार साँझ साढे ५ बजेतिर भएको हो।

पुजनको पेटमा २ ठाउँमा छुरा प्रहार भएको छ। छुरा प्रहारबाट उनको आन्द्रासमेत बाहिर निस्किएको थियो। उनको राति नै आकस्मिक शल्यक्रियाको तयारी गरिएको छ। प्रहरीका अनुसार मलाई तैले अस्ति हिर्काएको होइन भन्दै एक्कासि छुरा प्रहार गरेको पीडितको बयानबाट खुलेको छ। ‘नाम खुलेको छ, हामीले खोजी तीव्र गरिसकेका छौं,’ डिएसपी ढुण्डीराज न्यौपानेले भने।

प्रकाशित: १० आश्विन २०७६ ०६:३७ शुक्रबार

वडाध्यक्ष छुरा_प्रहार पूर्ण_लिम्बू