समाज

आठ किलो चरेशसहित युवती पक्राउ

मकवानपुर– अवैध लागूऔषध चरेश ओसारपसारमा संलग्न भएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। चरेश आठ किलो एक सय ६० ग्रामसहित पर्साको पटेर्वा सुगौली नगरपालिका १ की २४ वर्षीया गीता राईलाई प्रहरीले पक्राऊ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब ३ बजे हेटौंडा १०, बसपार्कबाट चरेशसहित उनलाई पक्राउ गरेको थियो।

काठमाडौबाट धरानतर्फ जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसलाई रोकी जाँच गर्दा झोलामा लुकाई ल्याएको चरेश फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। ‘प्लाष्टिकको टेपले बेरेर आठ पोको पारेको अवस्थामा चरेश फेला पर्यो,’ उनले भने, ‘उनीमाथि आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको छ।’

लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अवैध लागूऔषध ओसारपसारमा संलग्नलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखी २५ हजार रुपैंयासम्म जरिवाना हुने व्यवस्था छ।

त्यस्तै, मोटरसाइकल चोरी गरेको आरोपमा रौतहटको चन्द्रपुर नगरपालिका ८ का १८ वर्षीय अविनाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको ठिमीबाट मंगलबार हराएको मोटरसाइकलसहित उनलाई हेटौंडा–भीमफेदी–काठमाडौं सडकअन्तरगत भीमफेदी १ बाट पक्राउ गरेको हो। ठिमीमा पार्किङ्ग गरी राखेको लु ५४ प ६०९८ नम्बरको मोटरसाइकलको हेण्डिल लक फोडेर चोरी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७६ १६:३८ बिहीबार

लागूऔषध चरेश युवती पक्राउ