समाज

यत्रतत्र छाडा चौपाया

छाडा चाैपाया। फाइल तस्बिर

दिलबहादुर छत्याल/रेखा भुसाल/लोकेन्द्र खनाल
धनगढी/बुटवल/नेपालगन्ज - सुदूरपश्चिम प्रदेशका सहर बजारका पसले, सडकमा गुड्ने गाडीदेखि ग्रामीण बस्तीका किसानसम्मलाई छाडा चौपायाले हैरान बनाएका छन्। अधिकारसम्पन्न स्थानीय सरकार बनेको दुई वर्ष भइसक्दा पनि बजार, सडक, गाउँबस्ती, खेतबारी जताततै भेटिने छाडा चौपायाका कारण विभिन्न समस्या तथा दुर्घटना खेप्नुपर्ने बाध्यता छ। यहाँका सबै जनप्रतिनिधिले निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनलाई मुख्य अजेन्डा बनाएका थिए। तर अहिलेसम्म पनि समस्या जस्ताको त्यस्तै छ।

स्थानीय तहको करोडौं रकम छाडा चौपाया व्यवस्थापनका नाममा खर्च गरिए पनि उपलब्धि शून्य बराबर भएको स्थानीय बताउँछन्। छाडा चौपायाका कारण किसानका अन्नबाली नोक्सान हुने, सडकमा दुर्घटना बढ्नुका साथै बजार फोहोर तथा अव्यस्थित हुने गरेको छ। ‘छाडा चौपायाका कारण हामीलाई अन्नबाली जोगाउन नै गाह्रो भएको छ,’ स्थानीय शेरबहादृुर चौधरीले भने, ‘अन्नबाली बचाउन, छाडा चौपाया भगाउनमा दिनरात खटिनुपर्छ।’ छाडा चौपायाकै कारण किसानलाई खेतीपाती गर्न धेरै समस्या भएको किसानको भनाइ छ।

सडकभरि छाडा चौपायाका कारण दुर्घटना बढ्दै गएको छ। दुर्घटनामा परी कयौंले अकालमै मृत्युवरण गर्नुपरेको छ भने कयौंको अंगभंग भएको छ। हुलका हुल छाडा चौपाया सडकमा हुने गरेकाले रातको समयमा बढी दुर्घटना हुने गरेको छ। ‘छाडा चौपायाका कारण तराईका सडकमा दुर्घटना बढेका छन्,’ कैलाली जिल्ला ट्राफिक कार्यालयका प्रमुख सरोजकुमार ठकुराठीले भने। छाडा चौपायाले ट्राफिक जामको समस्यासमेत हुने गरेको उनी बताउँछन। छाडा चौपाया व्यवस्थापन भए दुर्घटना र सडक जामको समस्या कम हुने उनको भनाइ छ। धनगढी, अत्तरिया, लालपुर, चौमाला, मसुरिया, पहलमानपुर, सुखड, बौनिया, लम्कीलगायत स्थानमा छाडा चौपायाको बढी समस्या छ।

प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा पनि छाडा चौपायाको समस्या उस्तै छ। छाडा चौपायाकै कारण सहरी र राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाका घटना बढेका छन् भने ग्रामीण क्षेत्रमा किसानलाई बाली बचाउन हम्मेहम्मे परेको छ। शंकरनगरकी सीता खाँण गत असारमा बुटवल कालिकानगरमा दुर्घटनामा परिन्। बिहानी समयमा सडकमा सुस्ताएका छाडा गाईसँग झुक्किँदा उनको स्कुटर पल्टियो।

स्कुटर सामान्य गति र आफ्नै लेनमा थियो। तर विपरीत दिशाबाट तीव्र गति र चर्को हर्न बजाउँदै आएको ट्रकका कारण सडकमा बसेका गाईगोरु अत्तालिएर भाग्न थाले। तिनै चौपायाका कारण उनी अल्मलिइन् र स्कुटर पल्टियो। खाँणलगायत स्थानीयका लागि यस्तो घटना नौलो भने होइन। दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्ने अतिव्यस्त बुटवल–योगीकुटी सडकमा साँझ–बिहान गाईगोरुका बथान भेटिन्छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका अनुसार सडक दुर्घटनाका कारणमध्ये छाडा चौपाया पनि मुख्य हो। पछिल्लो एक वर्षमा रूपन्देहीमा छाडा चौपायाका कारण २० वटा दुर्घटना भएका छन्। तुलनात्मक रूपमा ठूला दुर्घटना कम देखिए पनि छाडा चौपायाले ट्राफिक व्यवस्थापनमा समस्या थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक महेश बस्नेतले बताए।

तिलोत्तमा नगरपालिकाको शंकरनगर, शान्तिनगर, चपरघट्टी, प्रेमनगर क्षेत्रमा छाडा चौपायाकै कारण अन्नबाली सप्रन पाउँदैन। प्रेमनगरकी आशा गुरुङले छाडा गाईगोरुबाट खेती जोगाउन निकै गाह्रो भएको बताइन्। ‘दिनभरि हराउँछन्, साँझ परेपछि अन्नबाली खान गाँउ पस्छन्,’ गुरुङले भनिन्। बुटवल उपमहानगर र तिलोत्तमामा छाडा चौपायाको समस्या अन्यत्र भन्दा बढी छ।

बुटवल उपमहानगरपालिकाले गत वर्ष १० लाख रुपैयाँ छाडा चौपाया व्यवस्थापनमा खर्च गरेको छ। सडक र बजार क्षेत्रमा छाडा चौपायाको बिगबिगी बढेपछि डेढ सयभन्दा बढी गाईहरु छोपेर कामधेनु गौशाला पठाइएको नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विजय भुर्तेलले बताए।

नेपालगन्ज उपमहानगरमा छाडा चौपायाको समस्या अझै बढी रहेको छ। यहाँ छाडा चौपायाका कारण दैनिक रूपमा दुर्घटना हुँदै गएको प्रहरीले बताएको छ। सडक दुर्घटनाको मुख्य कारण छाडा चौपाया नै रहेको बताइएको छ। यसका साथै ग्रामीण क्षेत्रमा किसानलाई बाली बचाउन हम्मेहम्मे छ। छाडा चौपायाका कारण सहर दुर्गन्धित हुनुका साथै पर्यटकीय आवागमनलाई समेत घटाएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।

वातावरण प्रदूषित हुनुका साथै पर्यटकीय क्षेत्रमा छाडा गाईबस्तुको बास हुँदा फोहोर बढेर सहरको सौन्दर्य ह्रास हुँदै गएको अधिवक्ता विश्वदीप तिवारीले बताए। छाडा चौपाया व्यवस्थापन तथा समस्या समाधानका लागि स्थानीय तहहरूले प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ। अहिले देखिएको छाडा चौपायासम्बन्धी समस्या समाधान गर्नका लागि स्थानीय सरकारले कार्यविधिका साथै नीति निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ।

२०७५ माघ २५ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले छाडा चौपायाको समस्या समाधान गर्नका लागि स्थानीय सरकारलाई नीति बनाउन आदेश दिएको थियो। तर अहिलेसम्म बाँकेका कुनै पनि स्थानीय तहले यसबारे ठोस नीति बनाएका छैनन्। ‘अदालतको आदेशसमेत कार्यान्वयन भएको छैन,’ अधिवक्ता तिवारीले भने, ‘यहाँका स्थानीय तहले नियम बनाएपछि समस्या समाधान गर्न धेरै सहज हुन्छ। छाडा चौपाया कसका हुन् भनेर पहिचान गर्नका लागि ट्याग लगाउन पनि आवश्यक छ।’

नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि नीति बनाउने तयारी गरेको बताएको छ। ‘पहिले यो विषयमा खासै छलफल भएको थिएन,’ उपमेयर उमा थापामगरले भनिन्, ‘केही समय पहिले गाई मृत्यु भएको घटनाले हामीलाई पनि सचेत बनाएको छ। अब छिट्टै कार्यविधि बनाएर यसको व्यवस्थापन गर्छाैं।’

बाँकेमा रहेका छाडा चौपाया व्यवस्थापनका लागि जिल्लासभाबाट सात करोड रुपैयाँ बजेट विनियोजनसमेत भएको छ। छाडा चौपायाका कारण सडकदेखि किसानको खेतबारीसम्म निकै समस्या भएकाले घरपालुवा जनावरको तथ्यांक संकलन गर्न सुरु गरेको उपमेयर थापामगरले बताइन्।

प्रकाशित: २८ भाद्र २०७६ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App