समाज

मसानघाट पु-याइएका शिशु जीवितै

बाँके - भेरी अस्पतालको प्रसूति कक्षमा खटिएका कर्मचारीको चरम लापरबाहीका कारण मृत्यु भइसकेको घोषणा गरिएको नवजात शिशु जीवितै भेटिएको छ। शुक्रबार बिहान प्रसूति कक्षमा खटिएका नर्सले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए।

जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन्। जन्मिएको केही घण्टापछि प्रसूति कक्षकी ड्युटी इन्चार्ज वसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको भन्दै अभिभावकलाई बुझ्न लगाइन्। उनले शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर शव लैजान भनिन्। मृत्यु भइसकेको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगन्ज बुलबुलियास्थित हिन्दु मसानघाट लगेका थिए।

मसानघाटमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारियो। गाड्ने तयारी भइरहेका बेला मसानघाटकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन्। कालो प्लास्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए। कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन रुँदै शिशुलाई लिएर फेरि भेरी अस्पताल पुगे। अहिले शिशुको भेरी अस्पतालमै उपचार भइरहेको छ।

जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन्। जन्मिएको केही घण्टापछि प्रसूति कक्षकी ड्युटी इन्चार्ज वसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको भन्दै अभिभावकलाई बुझ्न लगाइन्।

कलावतीले शिशुलाई गाड्न ल्याउँदा आफूले सधैं सचेत भएर हेर्ने गरेको नागरिकलाई बताइन्। ‘यो पहिलो घटना होइन। यसरी मैले थुपै्रपटक बच्चा फर्काएको छु’, उनले भनिन्, ‘कसैले नियतवश बच्चा मारेर गाड्न आउँछन्। तर आज बिहानैको घटनाले मलाई दुःखी बनायो। बच्चा जिउँदै छ, कसको बच्चा हो भनेर मैले सोधेकी थिएँ। उहाँ (मिलन) ले मेरै हो भनेर फर्काएर अस्पताल लग्नुभयो।’

अस्पताल सूचना अधिकारी डा. संकेत रिसालले घटनाबारे अस्पताल प्रशासनलाई जानकारी भइसकेको बताए। ‘घटनाबारे मैले जानकारी पाएको छु, अस्पताल प्रशासनले अनुसन्धान गर्दैछ’, उनले भने, ‘सम्बन्धित विशेषज्ञ डाक्टरसँग छलफल गरेर घटनाबारे वास्तविकता पत्ता लगाउँछौं।’

अस्पतालकी नर्सिङ प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले ड्युटीमा खटिएका कर्मचारीको बचाउ गर्दै घटनामा स्टाफ नर्सको गल्ती नभएको दाबी गरिन्। उनले भनिन्, ‘२३ हप्ताको बच्चा रहेछ। ६ सय ग्राम तौल छ। सास फेर्ने गाह्रो भइरहेको छ। यस्तो शिशुलाई बचाउन कठिन हुन्छ।’ बचाउन कठिन हुन्छ भनेर जीवितै रहेको शिशुलाई मृत्यु भएको घोषणा गर्न पाइन्छ ? यसबारे उनले केही भनिनन्।

बरु उनले शिशु मरेको भनेर अस्पतालले प्रमाणित नगरेको दाबी गरिन्। मिलनले भने शिशु मरेको भनी उल्लेख गरिएको कागजातमा आफूलाई औंठाछापसहित हस्ताक्षर गर्न लगाइएको बताए। ‘तपाइंको बच्चा मरिसकेको छ भन्दै बसुन्धरा ज्ञवाली (प्रसूति कक्षकी ड्युटी इन्चार्ज) ले लैजान भन्नुभयो। उहाँले नै डेलिभरी गराएकाले विश्वास लाग्यो। डाक्टरले भनेपछि होला भनेर विश्वास ग-यौं’, उनले भने, ‘पाठेघरको पानी धेरै खसेकाले बच्चा बचाउन सकिएन भनेर उहाँले भन्नुभयो। बच्चा मरेको भन्दै मैले कालो पोलिथनमा राखें। अस्पतालमै भएका कर्मचारीले बच्चा गाड्न दुई हजार मागे। मैले यत्रो रकम किन दिने भनेर मसानघाट लगें।’
 

 

भेरी अस्पतालका स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेपछि मसानघाट पु¥याइएका शिशुको आइसियूमा उपचार गरिँदै।
तस्बिर ः अर्जुन ओली÷नागरिक

प्रकाशित: २८ भाद्र २०७६ ०१:२३ शनिबार

मसानघाट शिशु लापरबाही