समाज

दैनिक एकमा अर्बुद तथा मिर्गौलाको समस्या

file photo

हेटौँडा- हेटौँडा उपमहानगरपालिकामा मात्र दैनिक एक जनालाई मुटु रोग, मिर्गौला रोग तथा अर्बुदजस्ता रोग देखा परेको पाइएको छ।

चाँडो निको नहुने, निको भए पनि उपचार महङ्गो पर्ने, सजिलैसँग उपचार सेवासमेत नपाइने र ढिलागरी मात्र थाहा पाए निको नै नभएर ज्यानै जाने खालका रोगका कारण पछिल्ला पाँच महीनाको अवधिमा १ सय ५८ जना बिरामी परेका पाइएको छ।     

उक्त तथ्याङ्क उपमहानगरपालिकामा विपन्न भनेर सरकारले उपलब्ध गराउने आर्थिक सहयोगका लागि सिफारिस लिन आउनेको मात्र हो। विपन्न प्रमाणित नभएका र विपन्न भएर पनि थाहा नपाएर उपमहानगरमा दर्ता नभएका बिरामीको सङ्ख्या अरु १५ देखि २० जानाको हाराहारीमा हुनसक्ने उपमहानगरका जनस्वास्थ्य महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए।     

कार्कीका अनुसार नसर्ने रोगका कारण दुई वर्षीया एक बालिकादेखि ८९ वर्षसम्मका वृद्धवृद्धा बिरामी परेका पाइए पनि अर्बुद रोगपीडित दुई वर्षीया बालिका र पाँच वर्षीय एक बालकसहित २१ वर्ष भन्दा मुनिका पाँच जना, २१ वर्षदेखि ४० वर्षसम्मका १७ जना र ४१ वर्षदेखि माथिका १ सय ३६ जना रहेका छन्।

यसरी हेर्दा असाध्य रोग भनेरसमेत चिनिने नसर्ने रोगका कारण ४० वर्ष भन्दामाथि उमेर समूहका मानिस बढी जोखिममा रहेका देखिएको छ। लैङ्गिक हिसाबमा नसर्ने रोगका कारण ७० महिला र ८८ पुरुष बिरामी परेका पाइएको छ।

प्रदेश नं.३ सरकारले प्राणघातक रोगका रुपमा रहेका नसर्ने रोगले गम्भीर बनाउनुभन्दा अगाडि बेलैमा थाहा पाएर उपचार गराउन सहज होस् भनेर शुरु गरेको मुख्यमन्त्री जनता स्वस्थ्यपरीक्षण कार्यक्रम अन्तर्गत बेलैमा आफ्नो स्वास्थ्य परीक्षण गराए मिर्गौला रोग, मुटु रोग तथा अर्बुदजस्ता रोगको सम्भावना थाहा पाउन तथा रोग लाग्दै गरेको देखिए शुरुमै पहिचान गरेर उपचार गर्न सकिने हुँदा उक्त सेवा उपलब्ध भएका अस्पतालमार्फत सेवा लिन अनुरोध गर्दासमेत कतिपयले स्वास्थ्य परीक्षणमा चासो नदिएको जनाइएको छ।रासस

प्रकाशित: २३ भाद्र २०७६ १२:५३ सोमबार

अर्बुद मिर्गौला समस्या