समाज

भीरमा खसाल्नु ‘अपराध’

सुर्खेतबाट शनिबार नेपालगन्जतर्फ गाई लगिँदै। यी गाई नेपालगन्जबाट दैलेख लैजाने भन्दै ल्याएर सुर्खेतका विभिन्न स्थानमा छाडिएका थिए। नगेन्द्र /नागरिक

सुर्खेत/दैलेख - नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नर्स शर्मिला थापा आफू चढेको स्कुटर साउन ११ गते कारकाँदो सडकमा छाडा चौपायासँग ठोक्किँदा गम्भीर घाइते भइन्।  भारतको लखनऊमा उपचारपछि उनी अहिले स्वास्थ्यलाभ गरिरहेकी छिन्।

नेपालगन्ज उपमहानगरपालिकाका लागि छाडा चौपाया व्यवस्थापन मुख्य समस्या बनेको छ।  छाडा चौपायाले दुर्घटना बढ्न थालेपछि साउन तेस्रो साता सरोकारवालाको बैठक बस्यो।  भारत हुँदै भित्रिने चौपाया तत्कालका लागि वडा नम्बर २१ मा रहेको फुलटेग्रास्थित कान्जी हाउसमा राख्ने र यसको दीर्घकालीन समाधान खोज्ने निर्णयसहित बैठक टुंगियो।

त्यसपछि उपमहानगरपालिकामा बसेको बैठकमा कार्यकारी अधिकृत हरि प्याकुरेलले दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा लगेर छाडा चौपाया छाड्ने प्रस्ताव राखे।  छाडा चौपायाका कारण तनावमा रहेका मेयर डा. धवलशमशेर राणाले कार्यकारी अधिकृतको प्रस्तावलाई सहर्ष स्वीकारे।  दैलेखमा छाडा चौपाया पठाउन उपमहानगरले प्रक्रिया सुरु ग-यो।
दैलेखका स्थायी बासिन्दा रहेका कार्यकारी अधिकृत प्याकुरेलले त्यहाँका तत्कालीन प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटासँग फोनमार्फत चौपाया पठाउनेबारे कुराकानी गरे।  उनले पनि मौखिक सहमति दिए।  स्रोतका अनुसार नेपालगन्जका मेयर रिझाउन प्याकुरेलले चौपायाहरुलाई आफ्नो गृहजिल्ला दैलेख पठाउनुपर्ने प्रस्ताव गरेका हुन्।  प्याकुरेल केही समयअघिसम्म स्थानीय विकास अधिकारी थिए।  उनले सुर्खेतमा रहँदा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि समालिसकेका छन्।

उपमहानगरपालिकाको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले प्रहरी, निकुन्ज र बाटोमा पर्ने चेकपोस्टहरुलाई ‘तीन सय ७० पशु चौपाया दैलेखसम्म पु¥याउने कार्यमा सहयोग गरिदिनुहुन’ भन्ने बेहोराको पत्र लेख्यो।  सोही पत्रका आधारमा बाँकेदेखि सुर्खेतको कटकुवासम्म पर्ने प्रहरीका पाँच र नेपाली सेनाका तीनटा चेकपोस्टले चौपाया बोकेका ट्रकलाई निर्वाध अघि बढ्न दिए।

दैलेख नपु-याउँदै भीरबाट खसालियो

चितवन क्यारियरले चौपाया दैलेखसम्म पु-याउने जिम्मा पाएको थियो।  गाई राखेर नेपालगन्जबाट बिहीबार राति दैलेखतर्फ छुटे आठवटा ट्रक।  ती ट्रकसँगै नगर प्रहरी निरीक्षक सूर्य बोगटी नेतृत्वको टोली पनि थियो।  उनीहरुले गन्तव्यसम्म नपु-याउँदै कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको प्रवेशद्वार धुलियाबिट, उत्तरी जलाधार क्षेत्रमा पर्ने कटकुवालगायत ठाउँमा गाईहरु झारे।  ‘गाडीमै गाई मरेको भए त्यसको जानकारी प्रशासन, प्रहरी र नगरपालिकालाई दिएर व्यवस्थापन गर्नुपथ्र्यो,’ वीरेन्द्रनगर नगरपालिकाका वातावरण एवं अनुगमन शाखा प्रमुख यामलाल गिरीले ‘गाडी ब्याक गरेर गाई भीरमा खसाल्नु भनेको अपराध हो। ’ उनले भेरी पुलदेखि नै कटकुवासम्म मरेका र ज्युँदा गाई छोडिएको पाइएको बताए।

‘शुक्रबार साँझसम्म २४ वटा गाई मृत अवस्थामा फेलापारेका थियौं, त्यो संख्या बढेर शनिबार ३५ पुगेको छ,’ गिरीले भने, ‘अझै खोजिरहेका छौं, मरेका चौपायाको संख्या अझै बढ्ने देखिन्छ। ’ कटकुवाको भीरमा दुई, धुलियाबिटमा छ र झुप्राखोला नजिकैमात्र शनिबार तीनवटा गाई मरेको अवस्थामा फेलापरेका छन्।

‘समन्वय र सहकार्य भएन’
भारतबाट समेत आएका चौपायालाई नेपालगन्ज उपमहानगरपालिकाले कान्जीहाउसमा राख्ने गरेको छ।  तीन बिघा क्षेत्रफलमा फैलिएको कान्जी हाउसको क्षमता झन्डै ५० वटा चौपाया राख्ने मात्रै हो।  उक्त कान्जी हाउसमा पाँच सयसम्म चौपाया राखिएका थिए।  खाना र औषधि उपचारको राम्रो व्यवस्था नहुँदा कान्जी हाउसभित्रै चौपाया मर्न थालेपछि सम्बन्धित स्थानीय तह र प्रशासनसँग समन्वय नगरी गाईहरु दैलेख पठाउन खोजेको देखिन्छ।

चौपायालाई जहाँ पु¥याउन खोजिएको हो, त्यहाँका सरोकारवाला निकायसँग कुनै समन्वय र सहकार्य गरिएको पाइँदैन।  दैलेखको श्रीस्थान क्षेत्र रहेको भैरवी गाउँपालिका र श्रीस्थान मन्दिर व्यवस्थापन समितिलाई नेपालगन्जबाट पठाइएका गाईको विषयमा जानकारी छैन्।  ‘यहाँ गौशाला र चरन क्षेत्र छैन्,’ श्रीस्थान मन्दिरका महन्त गोकर्णनाथ योगीले भने, ‘यस्तो ठाउँमा गौमाता ल्याउने कुराले हामीलाई गम्भीर बनाएको छ। ’ उनले नेपालगन्ज उपमहानगरपालिकाले चौपाया पठाउने विषयमा गाउँपालिका र मन्दिर व्यवस्थापन समितिसँग कुनै समन्वय नगरेको र पूर्वस्वीकृति पनि नलिएको बताए।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी चौपाया एक जिल्लाबाट अर्को जिल्लामा पठाउँदा समन्वय गर्नुपर्ने बताउँछन्।  ‘पठाउने र पु-याउने जिल्ला मात्रै होइन् बाटोमा पर्ने जिल्लालाई पनि यसको पूर्वजानकारी हुनुपथ्र्याे’ उनले भने, ‘अहिलेसम्मको अनुसन्धानले गाई पठाएको मात्रै देखिन्छ, जिम्मा लिनेको अत्तोपत्तो छैन्। ’

दैलेखका स्थानीय तह र मन्दिर बेखबर
नेपालगन्जबाट श्रीस्थानका लागि पठाइएका भनिएका गाईबारे दैलेखको भैरवी गाउँपालिका र श्रीस्थान मन्दिर व्यवस्थापन समिति बेखबर छन्।  भैरवी गाउँपालिका–१ श्रीस्थानमा पाल्नका लागि पठाइएका भनिएका गाईबारे आफूहरूसँग समन्वय नभएको श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जनाएको छ।  समितिका अध्यक्ष केशल थापाले आफूलाई नेपालगन्जबाट गाई ल्याउनेबारे थाहै नभएको र सञ्चारमाध्यमबाट श्रीस्थानमा ल्याउन लागिएका गाई सुर्खेतमा मरेको थाहा पाएको बताए।  ‘श्रीस्थानमा गाईबस्तु राख्न ठाउँसमेत छैन्, पठाइएका भनिएका ती गाईवस्तु कसरी पाल्न सकिन्छ ?’ उनले भने, ‘हचुवाका भरमा गाई पठाइएकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ’

गाउँपालिकामै रहेका छाडा चौपाया व्यवस्थापन गर्न स्थानीय सरकारलाई अहिले हम्मेहम्मे परिरहेको छ।  ‘यस्तोमा बाहिरबाट चौपाया ल्याएर हामी थप बोझ बोक्नै चाहँदैनौं,’ गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले भने, ‘नेपालगन्जबाट यहाँ चौपाया ल्याउने विषयमा अहिलेसम्म कसैले लिखित वा मौखिक जानकारी पनि गराएको छैन्। ’ उनले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर जिल्लामा बाहिरबाट पशु–चौपाया ल्याउन नदिन आग्रह गरिएको बताए।

  दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले स्थानीय प्रशासन र स्थानीय सरकारको अनुमतिबिनै नेपालगन्ज उपमहानगरपालिकाले केका आधारमा गाईबस्तु दैलेख पठाउन खोजेको भन्नेबारे आफू अनभिज्ञ रहेको बताए।  ‘मन्दिर व्यवस्थापन समिति, वडा र भैरवी गाउँपालिकालाई चौपाया पठाउने विषयमा कुनै जानकारी गराइएको पाइएन्,’ प्रजिअ कट्टेलले भने, ‘समन्वयबिनै अर्को प्रदेशबाट यतिधेरै चौपाया पठाउने काम गर्नुहुँदैनथ्यो। ’

१८९ गाई नेपालगन्ज फिर्ता

दैलेख पु-याउने भन्दै सुर्खेतको वीरेन्द्रनगरमा ल्याएर छोडिएका एक सय ८९ चौपाया नेपालगन्ज उपमहानगरपालिकाले फिर्ता लिएको छ।  प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार राति र शनिबार गरेर १८९ गाई नेपालगन्ज उपमहानगरपालिकाले फिर्ता लिएको हो।  नेपालगन्जबाट ल्याइएका दुई सय ९१ मध्ये एक सय ८९ उपमहानगरपालिकाले फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।  ‘उपमहानगरपालिकाले पठाएकामध्ये हालसम्म ३५ वटा चौपायाको मृत्यु भएको छ।  एक सय ८९ चौपाया फिर्ता भएका छन्,’ उनले भने, ‘बाँकी वीरेन्द्रनगर नगरपालिकाले खोजेर एकदुई दिनमा पठाउने निर्णय भएको छ। ’ प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूर्णचन्द्र जोशीले हराएका चौपायाको खोजी सुरु गरिएको बताए।
‘गौहत्या’ विरुद्ध प्रदर्शन

नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाएका गाईलाई भिरबाट खसालेर मारिएको भन्दै वीरेन्द्रनगरमा शनिबार प्रदर्शन भएको छ।  प्रदर्शनकारीले ‘गौहत्या’ मा संलग्नलाई कारवाही माग गरेका छन्।  सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गतको इलेक्ट्रोनिक वस्तुगत समितिका अध्यक्ष भुवन ज्ञवालीले ३५ वटा गाई मरेको अवस्थामा भेटिनुलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए।  उनले घटनामा ट्रकचालक मात्रै नभएर सम्बन्धित सबैलाई छानबिनको दायरामा ल्याएर कारवाही प्रक्रिया अघि बढाइनुपर्ने बताए।  स्थानीयले मंगलगढी चोकबाट ¥याली निकालेर वीरेन्द्रचोकमा कोणसभा गरेका थिए।

गृहद्वारा चार सदस्यीय छानबिन समिति गठन

संघीय सरकारले सुर्खेतमा भएको ‘गौहत्या’ प्रकरणमा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।  गृह मन्त्रालयले शनिबार उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी चार सदस्यीय छानविन समिति गठन गरेको जानकारी प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले दिए।  समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने समय तोकिएको छ।  समितिलाई सहयोग गर्न मन्त्रालयले सरोकारवाला सबैसँग आग्रह गरेको छ।  मन्त्रालयले ‘गौहत्या’ जस्तो गम्भीर अपराधमा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारवाही हुने स्पष्ट पारेको छ।

प्रकाशित: १५ भाद्र २०७६ ००:५७ आइतबार

गाई_राजनीति अपराध गाैहत्या