समाज

सुरक्षाको माग गर्दै सेवा केन्द्र ठप्प

तेह्रथुम- स्वास्थ्य संस्थामै आफूहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गर्दै आठराई गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा बन्द गरेका छन्।

स्वास्थ्यकर्मीलाई हातपात गरेको भन्दै हातपातमा संलग्नलाई कारबाही गर्नुपर्ने मागसहित आठराई गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।

स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई स्वास्थ्य केन्द्रभित्र कार्यालय समयमा हातपात गर्नेलाई कारबाहीकोे माग गर्दै भदौ ९ गतेदेखि सम्पूर्ण सेवा बन्द गरेको स्वास्थ्य केन्द्र स्रोतले जनाएको छ। स्वास्थ्य केन्द्रले सूचना जारी गरी दोषीलाई कारबाही नहुन्जेलसम्म यस प्राथमिक स्वास्थ्य केन्द्रका सम्पूर्ण सेवाहरू बाध्य भएर बन्द भएको उल्लेख छ।

भदौ ८ गते आइतबार स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट रोशनकुमार नायकलाई कार्यालयभित्रै स्थानीय दीपेश थपलियाले कुटपिट गरेका थिए। स्वास्थ्यकर्मी कुटपिट गर्ने थपलिया अहिले फरार भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ। फरार थपलियाको खोजी प्रहरीले गरिरहेको छ।

प्रकाशित: १२ भाद्र २०७६ ०६:५१ बिहीबार

सुरक्षा सेवाकेन्द्र