समाज

सहकारीका अध्यक्षसहितलाई जेल सजाय

इटहरी- धरान १२ मा सञ्चालित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाको आठ करोडभन्दा  बढी रुपैयाँ  हिनामिना गर्ने तीन जना जेल चलान भएका छन्। सहकारी संस्थाका अध्यक्ष धरान वडा नं. १५ का कृष्ण दर्नाल विक र  मोहन दर्नाल तथा मोरङ सुन्दरहरैँचा वडा नं. ९ की कृष्णकुमारी विक जिल्ला अदालत सुनसरीको बुधबारको आदेश अनुसार जेल चलान भएका हुन्।

जिल्ला न्यायाधिश धर्मराज पौडेलको आदेश अनुसार अध्यक्ष कृष्णलाई पुर्पक्षमा राखेर थप अनुसन्धान गर्न आदेश दिइएको हो। कृष्णलाई मुलुकी फौजदारी कार्र्यविधि संहिता २०७४ को ७६ को दफा १ बमोजिम पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिइएको अदालतका प्रवक्ता गोपाल गिरीले जनाए। यस्तै, मोहन तथा कृष्णकुमारीलाई दुई–दुई लाख रुपैयाँ धरौटी वा त्यो रकम बराबरको जमानत राख्न भनिएकोमा राख्न नसकेपछि जेल चलान भएका हुन्। मोहन कृष्णका छोरा हुन भने कमलाकुमारी सहकारी संस्थाकी लेखापाल हुन्। यी दुवै जनाले धरौटी बुझाएपछि छुटने छन्।

सहकारीमा सर्वसाधारण बचतकर्ताबाट रकम संकलन गरे पनि शेयर सदस्यको रुपमा दर्ता नगरी  हिनामिना गरेको भन्दै  मुद्दा परेको थियो। अध्यक्ष कृष्ण सहकारी संस्थाको पैसा हिनामिना गरेर वेपत्ता भएपछि १२ जना सञ्चालक समितिका सदस्यहरुले हिसाब खोजी गर्न धरान उपमहानगरपालिकाको सहकारी विकास समितिमा उजुरी दिएका थिए। सहकारी विकास समितिको छानबीन समितिले हिनामिना गरेको ठहर गरेको थियो। सहकारी संस्थाको आठ करोड २३ लाख २५ हजार ४९२ रुपैयाँ हिनामिना गरेको अभियोगमा मद्दा दायर भएको थियो।

असार २३ गतेदेखि कृष्ण वेपत्ता भएपछि खोजतलास गरिपाउँ भनेर उनका छोरा मोहनले साउन ५ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। सहकारीको सञ्चालक समितिका सदस्यले पनि साउन ५ गते नै धरान उपमहानगरपालिकाको सहकारी विकास समितिमा छानबीनका लागि उजुरी दिएका थिए।

घटनापछि कृष्णलाई भेट्न भनेर धरानदेखि काठमाडौ पुगेर त्यहाँबाट फेरि भैरहवा गइरहेको बेला सहकारीका लेखापाल कमला  नागढुङ्गाबाट साउन १६ गते पक्राउ परेकी थिइन्। कमला पक्राउ परेकै दिन छोरा मोहन पनि पक्राउ परेका थिए। कृष्णलाईं भने प्रहरीले बुटबलबाट साउन २८ गते पक्राउ गरेको थियो। यस्तै, सहकारी संस्थाका अध्यक्ष कृष्णले धरानमै न्यू सगरमाथा ज्वेलरी र शिखर सगरमाथा सुनचाँदी पसल खोलेर ठगी गरेको भन्दै मुद्दा दायर हुँदा त्यसमा पनि पुर्पक्षमै राखेर अनुसन्धान गर्न आदेश दिइएको छ। कृष्णले काठमाडौंको एक सुन चाँदी पसलबाट १३४.९८८ ग्राम सुन ल्याईं तीन दिनभित्र पैसा बुझाउने भने पनि नबुझाएर भागेपछि ठगी मुद्दा परेको थियो।

प्रकाशित: १२ भाद्र २०७६ ०६:४७ बिहीबार

सहकारी अध्यक्ष जेल