समाज

मौलिक लयमा फर्किदै तीज

भद्रपुर– अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ। महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ। घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ।

सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन्। आफन्त, नाता गोता र साथीसङ्गीको बाक्लिँदो भेटघाटले तीजको उल्लास भित्रिसकेको देखाउँछ। विगतका वर्षमा तीज आउनुभन्दा दुई साताअघिदेखि नै तीजको रौनक तातिसकेको हुन्थ्यो। तर यसपालि भने झापामा तीजको नाममा हप्तौँअघिदेखि महङ्गा पहिरन र गहना प्रदर्शन गर्ने तथा होटल रेस्टुराँमा दरको नाममा भोजभतेर चलाउने बेथिति देखिएको छैन।

महिला अगुवा नै तीजलाई रितीरिवाज, संस्कार र संस्कृतिको मर्मअनुसार संरक्षण गर्नुपर्ने दायित्वलाई नेपाली नारीहरुले आत्मसात गर्दै लगेको बताउछन्। मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडा तीज मनाउने तौरतरिका समयअनुसार बदलिने भए तापनि झापामा विगतको जस्तो महीना दिनअघिदेखि तीज भन्दै भोजभतेर लगाउने बेथिति यसपालि नरहेको बताउछिन्।

उनी भन्छिन्, “तारे होटलमा तीज मनाउने नेपाली परम्परा होइन, माइतीमा बसेर दुःखसुखका गीतमा लय हाल्दै नाच्ने र गाउने, दरखाने तथा व्रत बस्ने मौलिक परम्परा हो।” सङ्घसंस्थाले महिला सदस्यलाई लक्षित गरी तीज विशेष कार्यक्रम राख्ने परम्परा थपिएकालाई पनि नराम्रो मान्न नहुने र त्यसमा महङ्गा पहिरन र गहनाको प्रदर्शनचाहिँ गर्न नहुने उनको धारणा छ। यसपालि झापामा सङ्घसंस्थाले मनाएको तीजमा तडकभडक र बेथिति नदेखिएकामा उनले खुशी व्यक्त गरिन्।

विगत केही वर्षदेखि चोकचोकमा चन्दा उठाएर सामूहिक तीज मनाउने, बाजा घन्काएर हप्तौँसम्म नाचगान गर्ने र ठूला होटलमा भोजभतेर लगाउने प्रतिष्पर्धा चलेको थियो। तर यसपालि त्यस्तो प्रतिष्पर्धा छैन। विगतमा तीजमा तडकभडक भएको भनी धेरै बहस चलेका कारण सचेत महिलाले परम्परा र संस्कृति जोगाउँदै समाजलाई एकताको सूत्रमा गाँस्ने नारी पर्वको रुपमा तीजलाई मनाउन थालेका सञ्जीवनी महिला समूहकी अध्यक्ष रेणुका डाँगी बताउछिन्।

उनले महङ्गा गरगरहना र पहिरन नहुनेले तीज मनाउनै नसक्ने जस्तो अवस्था विगतमा सिर्जना गरिएको हुँदा गरीब र धनीको विभेद नहुने गरी मौलिक र सरलरूपमा तीज मनाउन थालिएको बतायन्। तीज आउन केही दिन मात्र बाँकी रहे पनि विदेशी बाजा र गानामा चोकचोकमा नाचगान गर्नेहरु यसपालि नदेखिएका मेचीनगर–१५ की ८० वर्षीया देवीमाया न्यौपानेले बताइन्। “तीज भन्या जम्मा दुई दिनको चाड हो, एक दिन दरखाने र अर्को दिन व्रत बस्ने”, उनले भनिन्।

मेची बहुमुखी क्याम्पसकी पूर्वक्याम्पस प्रमुख टीका प्याकुरेल तीज परम्परालले नेपाली समाजमा गहिरो प्रभाव छाडेकाले कतिपय बेथिति हटाउँदै पर्वको मौलिकस्वरूपलाई जोगाउने सचेतना बढेको बताइन्। उनले घरघरमा मात्र मनाउने पुरानो चलन भए तापनि सामूहिक रुपमा तीज मनाउने नयाँ चलनले महिलाको सामाजिक चेतना र एकताको स्तर बढाउन मद्दत पुगेको बताउछिन्।

आफ्ना–आफ्ना हकअधिकारका लागि सामूहिक छलफल गर्ने परिपाटीको विकाससमेत तीजमा हुने भेलाबाट भएको प्याकुरेलको भनाई छ।रासस  
 
     
 

प्रकाशित: १० भाद्र २०७६ ०६:१० मंगलबार

मौलिक तीज