समाज

धर्म प्रचार गर्न खोज्ने पक्राउ

सल्यान- धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रुपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरीले उनीहरुका साथबाट चार थान बाइवल, इसाई धर्म प्रचारसम्बन्धी अन्य सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

पक्राउ परेका चारैलाई जबरर्जस्ती धर्म परिवर्तन सम्बन्धी मुद्दा चलाइने र यसका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  प्रचलित कानूनअनुसार जबरर्जस्ती धर्म परिवर्तन गराएमा कम्तीमा पाँच वर्षसम्म जेल र रु ५० हजारसम्म  जरिवाना हुने व्यवस्था छ।

प्रकाशित: ३१ श्रावण २०७६ १४:१० शुक्रबार

धर्म_प्रचार पक्राउ