समाज

रवि लामिछाने सहित तीनलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

लामिछानेसहित, पत्रकार युवराज कँडेल, र ओखलढुङ्गाकी नर्स अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराएपछि अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको हो।

चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो। लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडिको गेटबाट अदालतमा उपस्थित गराएको हो। बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो। प्रहरी स्रोतका अनुसार लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सीधा कुरा जनतासँग’ मा अनुसन्धान प्रभावित हुने गरी विषयवस्तु तयार भएको सूचना पाएपछि पक्राउ गरिएको थियो।

 

प्रकाशित: ३१ श्रावण २०७६ १०:०६ शुक्रबार

रवि_लामिछाने आत्महत्या हिरासत