समाज

कोसी टप्पुका अर्ना र आसपासका बासिन्दालाई खतरा

इटहरी - तीन दिनअघि कोसी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्र बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाई–गोरुमा ‘एन्थ्रेक्स’ जीवाणु भएको रिपोर्ट आएपछि आरक्षका अर्नासँगै अरु जनावर र आसपासका मानिसमा पनि रोग सर्न सक्ने खतरा बढेको छ।  रोग सर्न नदिन सतर्कता अपनाउन थालिएको छ।

एन्थ्रेक्स जीवाणुले आरक्षका अर्नासँगै अरु जनावर, मध्यवर्ती क्षेत्रका बासिन्दा र उनीहरुले पालेका जनावरलाई असर गर्नेछ।  ‘आरक्षको मध्यवर्ती क्षेत्रमा मरेका गाईगोरुको रगत ल्याबमा परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु भेटिएकाले अर्नासँगै अरु जनावर र आरक्ष आसपासका मानिसमा पनि यो रोग सर्न सक्ने खतरा छ,’ कोसी टप्पु वन्य जन्तु आरक्षका वार्डेन रामदेव चौधरीले भने।

भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र सुनसरीका डाक्टर मनोजकुमार महत्तोका अनुसार, एन्थ्रेक्स ब्याक्टेरियाको जीवाणु हावा, पानी र माटोबाट सर्छ।  एन्थ्रेक्स जनावर र मानिस दुवैमा सर्छ।  रोगको प्रकोप फैलिन नदिन जनावरमा भ्याक्सिन दिइने उनले बताए।  ‘मरेका गाई–गोरुलाई राम्रोसँग नष्ट गर्ने काम भएको छ, अब गाईगोरु मरेका क्षेत्रका अरु घरपालुवा जनावरलाई भ्याक्सिन दिइेछ,’ उनले भने, ‘मानिस पनि आफैं सर्तक हुनुपर्छ। ’ उनका अनुसार जंगली जनावरलाई भने भ्याक्सिन दिइँदैन, यसो गर्न सम्भव हुँदैन्।

भ्याक्सिन भने मन्त्रालयबाट आइपुगेको छैन्।  सोमबारसम्म आइपुग्ने अनुमान गरिएको छ।  ‘यो अरु जस्तो तुरुन्तै पाइने होइन, जसले गर्दा मन्त्रालयसँग समन्वय गरिरहेका छौं,’ डाक्टर महत्तोले भने।  उनका अनुसार ४४ वटा गाईगोरु मरेबाहेक अरु घटना नभएकाले गर्दा अाितनुपर्ने अवस्था भने छैन।  तर, ढुक्क हुनुपर्ने अवस्था पनि छैन।

‘मरेका गाई–गोरुको रगत नमु्ना परीक्षण पशुपंछी रोग अन्वेषण प्रयोगशला विराटनगरमा गर्दा एन्थे्रक्स जीवाणु भेटिएपछि सतर्कता अपनाउन थालिएको छ,’ उनले आरक्षका वार्डेन चौधरीले भने, ‘तीन दिनअघि गाईगोरु मरेको स्थानमा आज (आइतबार) पनि चिकित्सकसहितको टोली जाँदा थप अरु मरेको पाइएन्। ’ उनका अनुसार अहिलेसम्मको अनुमान अनुसार हावाबाट सरेको भए अब थप क्षति नहुन सक्छ।  तर, पानी र माटोबाट सरेको भए खतरा हुन सक्छ।  जसको थप परीक्षण गरेपछि यकिन हुनेछ।

सतर्कता अपनाउने क्रममा गाई–गोरु मरेको स्थानसँगै वरपर फर्मालिन औषधि दस प्रतिशतमा ४० प्रतिशत पानी मिसाएर छर्किने, चुनको प्रयोग गर्ने, प्रभावित क्षेत्रको सम्पूर्ण घाँस काटेर नष्ट गर्ने र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत पार्ने काम हुनेछ।  ‘एन्थ्रेक्स सरुवा रोग हो, जसले गर्दा सबै सचेत हुनुपर्छ,’ वार्डेन चौधरीले भने।

विश्वका पाँचवटा मुलुकमा मात्र अर्ना पाइन्छ।  नेपाल, भारत, भुटान, कम्बोडिया र थाइल्यान्डमा अर्ना पाइन्छ।  यी मुलुकमध्ये भारतपछि संख्याको आधारमा नेपालमा बढी अर्ना पाइन्छन्।  त्यसमध्ये पनि कोसी टप्पुमै सबैभन्दा बढी संख्यामा अर्ना रहेका छन्।  आरक्षको मध्यवर्ती क्षेत्रमा गाईगोरु एन्थ्रेक्सले मरेपछि अर्नासँगै मानिसमा रोग सर्ने खतरा बढेकाले आइतबार नै राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका सहायक महानिर्देशक रामचन्द्र कँडेल र एकविज्ञ चिकित्सक आएका छन्।

आरक्ष सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ।  यो क्षेत्रमा छाडा चौपाया बग्रेल्ती चरिचरनका लागि छाड्ने गरिएको छ।  यसरी छाडा रुपमा छाडिएका गाई–गोरु एन्थेक्स संक्रमणले मरेका हुन्।  बिहीबार बिहान सप्तकोसीको पूर्वी तटबन्ध सुनसरी प्रकाशपुरबाट मुख्य भँगालो पार गरेर करिब ३ किलोमिटर पार गरेपछि पुगिने बराहक्षेत्र वडा नं. ६ र ९ को बस्ती श्रीलंका टापु क्षेत्रमा गाईगोरु मृत भेटिएका थिए।  २८ वटा गाई र १६ वटा गोरु मृत भेटिएका थिए।  मरेका गाईगोरुको नाक, मुख, कान, आँखा र पछाडिको मलद्वारबाट रगत निस्किएको थियो। श्रीलंका टापु बर्खामा पूर्व र पश्चिम दुवैतर्फ कोसीको पानीले घेरिन्छ।

कोसी टप्पु वन्यजन्तु आरक्षमा दुई वर्षअघि गरिएको गणना अनुसार अर्नाको संख्या ४४१ थियो।  जसमध्ये १२ वटा चितवन राष्ट्रिय निकुञ्जमा लगिएको थियो।  यो अवधिमा संख्या बढेको छ।  तर, गणना गरिनसकेकाले यकिन भने भएको छैन।  आरक्ष क्षेत्रमा चरिचरनका लागि बग्रेल्ती जनावर छाडिने गरेका छन्।  आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घरपरिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।

प्रकाशित: २७ श्रावण २०७६ ०२:२१ सोमबार

कोसी_टप्पु अर्ना