समाज

काँडेतारले जैविक मार्ग अवरुद्ध

धनगढी - भारतीय पक्षले कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा एकलौटी रूपमा अग्लो ट्रेन्च खनेर त्यसमाथि काँडे तारबार गरेको छ।  स्थानीयको विरोध हुँदाहुँदै भारतीय पक्षले कैलालीको गौरीफन्टा नाका तथा कैलारी गाउँपालिकामा करिब तीन किलोमिटर र कञ्चनपुरको डोकेबजार क्षेत्रमा तीन किलोमिटर खण्डमा ट्रेन्च (गहिरो खाडल खनेर छेउमा थुपारी बनाइएको माटोको ढिस्को) बनाएर त्यसमाथि काँडेतार लगाएको हो।  नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध भएको छ भने माटोको ढिस्कोका कारण नेपाली भूभाग डुबानमा परेका छन्।

माघ पहिलो हप्ता सीमाक्षेत्रमा रहेको भारततर्फको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको, चोरी सिकारी बढेको र जंगलबाट तस्करी बढेको भन्दै भारतीय पक्षले ट्रेन्च खने पनि अहिले आएर काँडे तारबार गरेको हो।  त्यतिबेला स्थानीयको विरोधका कारण काँडेतार लगाउन पछि हटेको भारतीय पक्षले अहिले एकाएक तारबार गरेको छ।  सीमामा कुनै पनि संरचना बनाउँदा अर्को देशको अनुमति लिनुपर्ने प्रावधानविपरीत भारतीय पक्षले बनाएको ढिस्को भत्काइनुपर्ने स्थानीयले आवाज उठाउँदै आएका थिए।  ‘हामीले ढिस्को भत्काउन आवाज उठाएका थियौं,’ डोकेबजारका विकास थापाले भने, ‘त्यो हटाउनु त कहाँ हो कहाँ, उल्टै तारबार गरेर अन्तर्राष्ट्रिय जैविक मार्ग थुन्ने कार्य भयो। ’

नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध भएको छ भने माटोको ४४ ब्ल्म्एभ्सड्यामका कारण नेपाली भूभाग डुबानमा परेका छन्।

ठूलो ढिस्कोले डुबान

कैलालीको कैलारी गाउँपालिकाको वडा नम्बर ३, ५ र ७ को सीमामा भारतीय पक्षले बनाएको ढिस्कोका कारण सो क्षेत्र डुबानमा पर्न थालेको छ।  सन्धि सम्झौताविपरीत मनपर्दी तरिकाले सीमामा आफूखुसी भारतीय पक्षले ढिस्को निर्माण गरेपछि यो क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेका हुन्।  वर्षात्मा उसै पनि डुबानमा परिरहने कैलारीका यी बस्तीनजिकै भारतीय पक्षले ट्रेन्च निर्माण गरेपछि झनै जोखिममा परेको तीन नम्बर वडाध्यक्ष कैलाश चौधरीले बताए।  ‘ढिस्को निर्माणले यो क्षेत्रका एक हजार तीन सयभन्दा बढी घरधुरी प्रभावित भएका छन्,’ उनले भने, ‘पानी निकास हुने स्थानमै १२ फिट अग्लो ‘ढिस्को’ निर्माण गरिएपछि बस्ती डुबानको उच्च जोखिममा परेका हुन्। ’ आफूहरुले पटक–पटक ढिस्को निर्माण नगर्नभन्दा भारतीय पक्षले उल्टै आफ्नो जमिनमा जे पनि निर्माण गर्न पाउँछौं भन्दै हकार्ने गरेको उनले बताए।

भारतीय पक्षले सीमामै ट्रेन्च निर्माण र तारबार गरेका कारण कैलारी गाउँपालिकाको वडा नम्बर तीनका तीन सय, वडा नम्बर पाँचका पाँच सय र वडा नम्बर सातका पाँच सयभन्दा बढी गरी १३ सयभन्दा बढी घर डुबानको उच्च जोखिममा परेको प्रदेशसभा सदस्य वीरमान चौधरीले बताए।  ‘सन्धि–सम्झौतामा सीमाको एक किलोमिटर वरपर संरचना बनाउँदा दुवै देशको सहमति हुनुपर्ने भए पनि यहाँ एकतर्फी रूपमा नेपाली बस्ती डुबानमा पर्ने गरी ‘ड्याम’ बनाइएको हो,’ उनले भने।  आफूले पनि पटक–पटक सीमामा भारतीय पक्षसँग नेपाली भूभाग डुब्नेगरी निर्माण नगर्न आग्रह गर्दा नटेरेको बताउँदै नेपाल–भारत सम्बन्ध विस्तार समितिका संयोजक स्थानीय विष्णु चौधरीले भने, ‘भारतीय अधिकारीहरूलाई सन्धि–सम्झौताविपरीत ट्रेन्च निर्माण किन गरेको भन्दा सुने पनि नसुने झैं गरेका थिए। ’

जैविक मार्ग थुनियो

भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर काँडेतार लगाएपछि दुधुवा नेसनल पार्कबाट नेपालको मोहना–लालझाडी वनतर्फ आउने वन्यजन्तुको अन्तर्राष्ट्रिय जैविक मार्ग थुनिएको छ।  अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा हेरिएको दुधुवा नेसनल पार्क र नेपालको मोहना–लालझाडी क्षेत्र जोड्ने एकमात्रै वन क्षेत्रलाई भारतले एकलौटी रूपमा काँडेतार लगाउनु अन्तर्राष्ट्रिय जैविक मार्गसँग सम्बन्धित सन्धि–सम्झौताविपरीत भएको वनविज्ञ तथा पूर्ववन अधिकृत रमेश चन्द बताउँछन्।  ‘डोकेबजारमा भारतले लगाएको काँडेतार अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि–सम्झौताविपरीत हो,’ उनले भने, ‘यसलाई तुरुन्तै नेपालको कुटनीतिक नियोगबाट पहल गरेर हटाइनुपर्छ। ’

जैविक मार्गमा काँडेतार लगाइँदा भारत–नेपाल आवतजावत गर्ने वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्ने खतरा बढी हुने उनले बताए।  ‘अन्तर्राष्ट्रिय जैविक मार्ग भएर भारतको दुधुवा नेसनल पार्क जाने वन्यजन्तु काँडेतारले छेकिँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्ने निश्चित छ,’ उनले भने,‘त्यो ठाउँमा कुनै पनि हालतमा तारबार गर्न पाइँदैन। ’ अन्तर्राष्ट्रिय जैविक मार्गमा काँडेतारबार गरिनु अन्तर्राष्ट्रिय जैविक मार्गमा गरिएको हस्ताक्षरविपरीत कार्य भएको उनले बताए।  अन्तर्राष्ट्रिय जैविक मार्ग थुनिँदा वन मन्त्रालयबाटै खुलाउन पहल गर्नुपर्ने उनको भनाइ छ।  जैविक मार्ग थुनिँदा भोलिका दिनमा वन्यजन्तुले आफ्नो बाटो खोज्दै बस्तीमा पुग्ने र बस्तीमा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्ने खतरा बढेको उनले बताए।

मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐरका अनुसार दुधुवा नेसनल पार्कसँग जोडिएको मोहना–लालझाडी वनक्षेत्र तथा मोहना जैविक मार्गमै पर्ने दसगजा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको तारबार अन्तर्राष्ट्रिय जैविक मार्गको महासन्धिविपरीत छ।  ‘अन्तर्राष्ट्रियस्तरको लालझाडी–दुधुवा जैविक मार्ग भएर आवतजावत गर्ने वन्यजन्तुको आवागमनलाई भारतले लगाएको काँडेतारले पूर्णरूपमा रोक लगाएको छ,’ उनले भने, ‘सीमाक्षेत्रमै वन्यजन्तुलाई आवतजावतमा अवरोध पार्नेगरी भारतले लगाएको तारबारले जंगली जनावरको बाटो नै अवरुद्ध भएको छ।

दसगजासँग जोडेर गहिरो ट्रेन्च बनाई त्यसमाथि काँडेतार लगाइनु नहुने लालझाडी क्षेत्रकी भुलिया रानाले बताइन्।  ‘जैविक मार्गबाट वन्यजन्तु आउजाउमा कुनै अवरोध हुनुहुँदैन,’ उनले भनिन्, ‘सीमामा काँडेतारसँगै खाडल बनाइँदा वन्यजन्तुलाई स्वतन्त्र आवागमनमा अवरोध भएको छ। ’

गत माघ पहिलो साता भारतले सीमाक्षेत्रमै डोजर चलाएर गहिरो ट्रेन्च खन्न थालेपछि नेपालतर्फका स्थानीयले विरोध गरेका थिए।  विरोधपश्चात् सीमाक्षेत्रमा निर्माण गरिन थालिएको ट्रेन्च र तारबार गर्ने कार्य केही दिनलाई स्थगित गरिए पनि पुनः ट्रेन्च खनिएको थियो।  अहिले आएर त्यही ट्रेन्चमाथि भारतीय पक्षले अग्ला खम्बा गाडेर काँडेतार लगाएको हो।

तराई भूपरिधि कार्यक्रमको अवधारणामा लालझाडी–दुधुवा जैविक मार्गले दुवै मुलुकका संरक्षित वन्यजन्तुलाई ओहोर–दोहोरमा सहयोग पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय जैविक मार्गको अवधारणा अघि सारेको थियो । यस मार्गबाट हात्ती, बाघ, चितुवा, मृग, चित्तल ओहोरदोहोर गर्छन् । सीमामा काँडे तारबार गरिएपछि वन्यजन्तुलाई सीमा वारपार गर्न समस्या भएको संरक्षणकर्मी बताउँछन्।
 

कैलालीको गौरीफन्टा नाकासँगै रहेको अन्तर्राष्ट्रिय जैविक मार्गमा लगाइएको काँडेतार।  तस्बिरः नागरिक

प्रकाशित: २७ श्रावण २०७६ ०१:२३ सोमबार

दुधुवा–मोहना जैविक_मार्ग