समाज

अवैध हुण्डीको कारोबार बढ्दै

पर्सा- पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोबार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ।

पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत् अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै गएपछि यस प्रकारको अवैध धन्धालाई निरुत्साहित पार्न प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मा अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा अपचलन गरेको अपराधमा राजश्व अनुसन्धान कार्यालय पथलैयाले १३ जनालाई प्रतिवादी बनाई ६ अवैध हुण्डी कारोबार तथा विदेशी मुद्रा विनिमयसम्बन्धी मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा १६ अर्ब ६६ करोड चार लाख ३७ हजार ६ सय ५९ बिगो र सजायसम्बन्धी मुद्दा दायर गरेको राजश्व कार्यालयका सूचना अधिकारी मिराज शर्माले बताए।

मुद्दा दायर गरेका अभियुक्तसँग २९ लाख ९५ हजार ९ सय ३४ धरौटी रकम माग गरेपछि अभियुक्तले सोहीअनुसारको धरौटी रकम दाखिला गरे पनि विभिन्न अदालतमा सो मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ। यसै गरी राजश्व चुहावट गर्ने ३९ जनालाई प्रतिवादी बनाई १५ मुद्दा दर्ता गरेको देखिन्छ।

उनीहरुसँग एक अर्ब १६ करोड ६२ लाख ७८ हजार सात सय ८२ बिगो दाबी गरिएको छ भने दुई अर्ब ४२ करोड ४५ लाख ९० हजार ८ सय ८२ सजाय रकम माग गरेको छ। उनीहरुसँग १२ करोड ९७ लाख ३४ हजार ९ सय १९ धरौटी रकम माग गरिएकोमा सात करोड ३४ लाख ७१ हजार तीन सय ९२ धरौटीबापतको रकम दाखिला गरेको छ।

यसै गरी सो कार्यालयले देशभरका भन्सार कार्यालयलाई पत्र लेखी अघिल्लो आर्थिक वर्षमा भन्सार छली गरी राजश्व चुहावट गर्नेसँग ४० लाख ६२ हजार पाँच सय ६४ असुल गर्न तथा कर कार्यालयलाई पत्र लेखी १२ लाख ९९ हजार सात सय १४ असुल गर्न पत्र पठाएको छ। वीरगञ्ज नगरक्षेत्रमा हुण्डीको कारोबार गर्ने गिरोह भित्रीरुपमा अझै सक्रिय भएकाले प्रहरीले अनुसन्धान गर्दै आएको छ। रासस

प्रकाशित: २२ श्रावण २०७६ ०६:२५ बुधबार

हुण्डी कारोबार