समाज

बम विष्फोट गराएको अभियोगमा पक्राउ

बेत्रावती - नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले यहाँको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ।

प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए।  उहाँका अनुसार लामिछानेलाई शनिबार काठमाडौँको कीर्तिपुरस्थित उनले सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि नुवाकोट ल्याइएको हो।  सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ।  

उनी हाल कीर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन्।  नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भए पनि उक्त पार्टीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसँगै उनी व्यवसायतर्फ लागेकाेले रिहा गरिदिन पक्राउ परेका लामिछानेकी श्रीमती रश्मी ढुङ्गानाले माग गरे।

प्रकाशित: २१ श्रावण २०७६ ०३:०४ मंगलबार

पक्राउ बम_विष्फोट विप्लव