समाज

रोल्पाकै पहिलो महिला अधिवक्ता मल्ल

रोल्पा- रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बनेकी छिन्। नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बनेकी हुन्। अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले चौथो स्थान हासिल गरे। परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत सार्वजनिक गर्ने गर्दछ। त्यसरी नाम सार्वजनिक गर्ने १० उत्कृष्ट परीक्षार्थीको रुपमा उनी चौथो स्थान कायम गर्न सफल भएकी हुन्।

मल्लले सेन्ट जेबियर्स स्कुलबाट उत्कृष्ट अङ्कसहित विज्ञानमा १० जोड दुई उत्तीर्ण गर्नुभएको थियो। नेपाल ल क्याम्पसबाट बिएएलएलबी उत्तीर्ण गर्दा उहाँ त्रिभुवन विश्व विद्यालयको दोस्रो ‘टपर’का रूपमा रहेकी थिइन्। उनले सार्क राष्ट्रका विद्यार्थीमध्ये पहिलो नम्बरमा छनोट भई साउथ एशियन युनिभर्सिटी नयाँ दिल्लीमा छात्रवृत्तिमा एलएलएम अध्ययन गरिरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

'जिल्लामा कानून पढ्नेको सङ्ख्या निकै कम छ। त्यसमा पनि महिलाको सङ्ख्या त झनै कम। अधिवक्ताको रूपमा कानून व्यवसाय गर्नेको सङ्ख्या जिल्लामा एक दर्जन बढी छैन्। त्यसरी व्यवसाय गर्ने महिला अधिवक्ता झन शून्य छ', अधिवक्ता जितविक्रम मल्लले भने। रासस

प्रकाशित: १९ श्रावण २०७६ १०:४८ आइतबार

रोल्पा महिला_अधिवक्ता प्रकृति_मल्ल