समाज

विद्यालय भवन हस्तान्तरण

भक्तपुर – सूर्यविनायक नगरपालिका–५ मा रहेको कटुञ्जे आधारभूत विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। भूकम्पले क्षतिग्रस्त भवनको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्माण सम्पन्न भएपछि विद्यालयलाई हस्तान्तरण गरिएको हो।

भवन हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले कटुञ्जेको सुशीला भैरवबाट ललितपुरको लुभू जाने सडक, कटुञ्जेबाट बलचौर जाने सडक, वडा कार्यालयबाट कोटडाँडा गुण्डु पुग्ने सडक तथा चुनदेवी तीनधारा सडक, कटुञ्जे तीनधारा सडक यसै वर्ष बनिसक्ने बताए। ‘यी सडक प्रधानमन्त्री स्वरोजगार कोषअन्तर्गत निर्माण सुरु भई यसै वर्ष कालोपत्र हुनेछ,’ बस्नेतले भने।

उनले कटुञ्जेको बनाचौरमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित एक सय शड्ढयाको अस्पताल निर्माण गर्ने तयारी भइरहेको बताए। कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउँदै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्न नगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइको ८७ लाखको लागतमा विद्यालय भवन बनेको हो। कार्यक्रममा सांसद बस्नेतद्वारा प्राधिकरणको ६९ लाखको निर्माण हुन लागेको विद्यालयको नयाँ भवनको शिलान्यास पनि गरे। कार्यक्रममा भक्तपुरमा ५५ वटा विद्यालय पुनर्निर्माण सम्पन्न भएको र सूर्यविनायक नगरपालिका क्षेत्रमा मात्रै २१ वटा विद्यालय पुनर्निर्माण सम्पन्न भएको जनाइयो।

प्रकाशित: १९ श्रावण २०७६ ०२:४२ आइतबार

सूर्यविनायक_नगरपालिका विद्यालय हस्तान्तरण