समाज

त्रास बढेपछि रहेन उखुबारी

निर्मलाको शव भेटिएको स्थल, जुन ठाउँमा अहिले उखुबारी हटाएर धान खेती गरिएको छ। तस्बिरः नागरिक

उल्टाखाम (कञ्चनपुर) - वारि उल्टाखाम जाने कालोपत्रे सडक।  सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला।  नालाको दुवै किनारमा बाक्ला जामुनका बोट।  पारिपट्टि गुज्जमुज्ज उखुबारी।  उखुबारीको करिब एक किलोमिटर वरपर सुनसान खेतबारी।  हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो।  निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीको घारीभित्र शव भेटिएपछि त्रासले गर्दा महिला तथा छात्राहरू त्यो सडक भएर हिँड्न छाडिसकेका थिए।

उखुबारी छेउ भएर उल्टाखाम आउजाउ गर्न सक्ने अवस्था नै नभएपछि स्थानीयको दबाबमा उखुबारी नष्ट गरेर धान खेती गर्न थालिएको छ।  ‘निर्मलाको बलात्कार र हत्यापछि उखुबारीको बाटो भएर महिलाहरू हिँडडुल गर्नै नसकिने अवस्था भयो,’ स्थानीय मञ्जु भट्टले भनिन्, ‘बजार आउजाउ गर्न अर्को लामो बाटोको प्रयोग गर्नुपर्ने भयो। ’ छात्राहरू पनि विद्यालय र कलेज जाँदा समूह बनाएर वा वैकल्पिक लामो बाटो भएर जाने गरेका थिए।  रातविरात त्यो बाटो हिँड्दा महिला मात्र नभई जो कोहीलाई पनि डर लाग्ने अवस्था बनेको स्थानीय श्याम भट्ट बताउँछन्।  निर्मलाको हत्यापछि शव भेटिएको स्थान वरपरको वातावरण त्रासमय भएपछि उखुबारी हटाइएको स्थानीय बताउँछन्।  ‘उखुबारी हुँदा यो बाटोमा हिँड्नै डर लाग्थ्यो,’ सरस्वती माध्यमिक विद्यालय उल्टाखाममा अध्ययनरत निर्मलाकी साथी लक्ष्मी बडूले भनिन्,‘उखुबारी हटाइएपछि निर्धक्क हिँडडुल गर्न सकिने भएको छ। ’

निर्मलाकी आमा दुर्गादेवी पन्तले उखुबारी हटाइएपछि यो बाटो हिँड्नेको संख्या बढेको बताइन्।  ‘निर्मलाको हत्यापछि यो बाटो भएर हिँड्ने मान्छे नै हुँदैन थे,’ दुर्गादेवीले भनिन्, ‘अहिले भने उल्टाखाम भएरै बजार आउजाउ गर्नेको संख्या बढेको छ। ’ यही बाटो भएर निर्मला पढ्ने सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्राहरू ओहोरदोहोर गर्छन् भने यस क्षेत्रबाट महेन्द्रनगरका कलेजमा अध्ययन गर्न जाने विद्यार्थी पनि निर्धक्कसाथ आउजाउ गर्न सक्ने भएका छन्।

‘निर्मलाको शव भेटिएको उखुबारी भएको बाटोबाट धेरै विद्यार्थी ओहोरदोहोर गर्छन्, उनीहरूमा उखुबारी पुग्दा मनोवैज्ञानिक त्रास भएर पठनपाठनमा समेत प्रभाव परेको थियो,’ सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डेले भने, ‘उखुबारी हटाइएपछि खुला भई टाढाबाटै प्रष्टै देखिने भएकाले विद्यार्थीमा त्रास हटेको छ। ’

स्थानीय लोकेन्द्र भट्टको पाँच बिघा जमिन भाडामा लिएर भारत पिलिभितका हरिप्रसाद राठौरले उखु खेती गरेका थिए।  उनले दुई वर्षदेखि प्रतिबिघा ३० हजार रुपैयाँका दरले भाडामा लिएर उखु खेती गरेका थिए।  तीन वर्षे बाली हुने उखुबारीमा दुई वर्षको बाली लिन नपाउँदै निर्मलाको शव भेटिएपछि सबैको आग्रहमा आफूले एक वर्षको बाली लिनै छोडेर खेती नष्ट गरेको हरिप्रसादका छोरा विशाल राठौरले बताए।  ‘निर्मलाको शव उखुबारीमा फेला परेपछि त्रासको वातावरण भयो र स्थानीयले त्यो बाटोमा असुरक्षा बढेको भन्दै उखुबारी हटाउन भनेकाले हामीले छोडिदियौं,’ विशालले भने, ‘अहिले भाडामा लिएको त्यो जमिन नै छोडेका छौं। ’

उखुबारी मासेर धान खेती लगाइएपछि सडक र वरपरका बस्तीबाट निर्मलाको शव भेटिएको स्थान स्पष्ट देखिन थालेकाले स्थानीय जनजीवन केही सामान्य भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै चर्चित निर्मला हत्याकाण्डमा संलग्न अपराधी आजसम्म कानुनी दायरामा आउन नसकेका कारण स्थानीयमा त्रासको भावना अझै कायमै छ।

अघिल्लो साउन १० गते बिहान ११ बजेतिर साथी रोशनी बमको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा बलात्कृत र मृत अवस्थामा भेटिएकी थिइन्।  उनको शव रोशनीको घर र निर्मलाको घरदेखि बराबर दूरीमा रहेको (करिब साढे ६ सय मिटर) सडक छेउको नाला पारि उखुबारीमा विभत्स अवस्थामा फेला पारेको थियो।  निर्मलाको शव भेटिएको एक वर्ष भइसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन।  निर्मलाको बलात्कार र हत्या उखुबारीमै भएको हो वा बाहिर कुनै ठाउँबाट हत्या गरेर उखुबारीमा फालेको हो भन्ने निष्कर्षसमेत निस्कन नसकेको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्य बताउँछन्।  रोशनीकी घरमा पढ्न गएकी निर्मला त्यो घरबाट निस्केर कुन दिशातर्फ गएकी थिइन् भनेर देख्ने अहिलेसम्म कोही पनि भेटिएका छैनन्।

निर्मलाको शव भेटिएको घटनास्थल किन सुरक्षित गरिएन ?, निर्मलाको खुट्टामा लत्रिरहेको विर्य, रौंलगायत प्रमाण फेला पार्न सकिने किन पखालियो ?, रातभर पानी पर्दा पनि नभिजेको अवस्थामा भेटिएका निर्मलाका कापी, किताब र अम्बामा लागेको फिंगर प्रिन्ट किन लिइएन ?, नालामा भेटिएका तीनवटा खुट्टाका छापको फुट प्रिन्ट किन लिइएन ?, धनगढीमै रहेका तालिमप्राप्त कुकुर किन ल्याइएन ? पानीबाहिर रहेको साइकलको ह्यान्डलमा रहेको फिंगर प्रिन्ट किन लिइएन ?, सात दिनपछि मात्रै काटिएको अम्बाको रुखको फिंगर र फुट प्रिन्ट किन लिइएन ?, निर्मलाको शरीरमा फेला परेका भित्री वस्त्रसमेत किन नष्ट गरिए ?, ओपेरा होटेल वरपरका दर्जनौं सिसी क्यामेराका फुटेजहरू किन डिलिट भए र किन रिकभर गरिएन ? यी र यस्तै अनेक प्रश्न अझै अनुत्तरित रहेकाले निर्मलाको हत्या रहस्यमयी रहेको स्थानीय बताउँछन्।

प्रकाशित: १८ श्रावण २०७६ ००:५७ शनिबार

निर्मला_हत्या उखुबारी बलात्कार