समाज

रिमोट च्यापिँदा विष्फोट (घटनाकाे नालीबेलीसहित)

सुनसान रहेको घटनास्थल । तस्बिरः पुष्पराज जोशी/नागरिक

धनगढी– बिहीबार बेलुकी सहिदगेट नजिकै रहेको निलम होटलमा पसे राम सिंह र लक्ष्मण सेरेला। भित्तातर्फका बेच्नमा बसेर उनीहरुले चिया र समोसा खाइसकेका थिए। त्यहीबेला होटलका नियमित ग्राहक जितेन्द्र यादव र छिमेकी मासु पसले जग्गु चौधरी पनि चिया पिउन त्यहाँ पुगे। यादव पोल्ट्री तथा माछामासु व्यवसायी संघका अध्यक्ष हुन्। छेवैको बेन्चमा बसेर यादव र चौधरी माछामासुको विषयमा कुराकानी गर्दै चिया पिउन थाले।

प्रसंगवश यादवले सशस्त्र प्रहरीको एसपीको कुरा झिके। प्रहरीको कुरा आउनेबित्तिकै छेवैमा बसेका सिंहले यादवलाई चियाउन थाले। आफूलाई चियाएको देखेपछि यादव पनि झस्किए। यादवले चौधरीलाई इशारा दिँदै त्यहाँबाट आफूहरू निस्कन थालेको घाइते यादव बताउँछन्। ‘जग्गु चौधरी हिँडिसकेका थिए, म पनि उठेर जानै लाग्दा एक्कासि पड्केको आवाज सुनियो,’ यादवले भने, ‘त्यत्तिकैमा म बेहोस भइसकेको रहेछु।’

यादव र चौधरी उठ्न थालेपछि छेवैमा बम र पेस्तोल बोकेका सिंह सुरक्षा खतरा हुने डरले सम्हालिन खोजे। त्यही समयमा उनको हात झोलामा प-यो र बम विष्फोट भयो।  ‘म बेच्नबाट उठेर केही वर पुगिसकेको थिएँ, यादव उठ्नै लागेका थिए, त्यहीबेला पुगेका ग्यारेजका मजदुर मोविन खान यादवसँग हात मिलाउँदै भलाकुरासी गर्न थाले,’ घटनाबाट जोगिएका जग्गु चौधरीले नागरिकन्यूजसँगको कुराकानीमा भने, ‘होटल सञ्चालक चिया ल्याएर ढोका नजिकै पुगेका थिए, त्यही बेला बम पड्कियो।’ सिंह र यादवबीच हेराहेरले दुवैतिर शंकाको वातावरण बनेपछि आफूहरु हिँड्न खोज्दा सिंह पनि निस्कनका लागि तयार हुन खोज्दा बम विष्फोट भएको यादव बताउँछन्।

सिंहसँग झोलामा स्टिलको टिफिन बक्समा फिट गरेको ‘रिमोट बम’ थियो। रिमोट च्यापिँदा बम विष्फोट भएको खुलेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका सेती–महाकाली व्युरो इन्चार्ज निर्माणले असावधानीपूर्वक रिमोट च्यापिँदा आफ्नै सुरक्षार्थ बोकेको ‘रिमोट बम’ विष्फोट भएको बताएका छन्।

सिंहसँग झोलामा स्टिलको टिफिन बक्समा फिट गरेको ‘रिमोट बम’ थियो। रिमोट च्यापिँदा बम विष्फोट भएको खुलेको छ।

कैलाली प्रहरीको अनुसन्धानले पनि रिमोट बम विष्फोट भएको जनाएको छ। मृतक सिंहका साथबाट रिमोट टेस्टर, विष्फोटनमा प्रयोग गरिने तार, तीनवटा सीम र एक चाइनिज पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले बताएका छन्।

घाइतेमध्ये एकको मृत्यु

बिहीबार बेलुकी धनगढीको सहिदगेट नजिकै भएको बम विष्फोटनमा परी घाइते हुने मध्ये एकजनाको मृत्यु भएको छ। मायामेट्रो अस्पतालमा उपचार गराइरहेका घाइते राम सिंहको बिहीबार राति सवा ११ बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। घटनामा परी घाइते लक्ष्मण सेरेला, जितेन्द्र यादव र मोविन खानको माया मेट्रो अस्पतालमै उपचार भइहेको छ भने होटेल सञ्चालक केशवराज पाण्डेलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

‘सेक्सन कमाण्डर थिए मृतक सिंह’

बझाङ सदरमुकाम जयपृथ्वी नगरपालिका–१, पिमी घर भएका २७ वर्षीय राम सिंह भारतको बैङ्गलोरमा मजदुरी गर्थे। दसैँ अघि उनी घर फर्के। घरबाट विप्लवको सैन्य तालिममा जान्छु भन्दै गत असोजमा गएको पारिवारिक स्रोतले बताएको छ। उनले करिब तीन महिनाको सैन्य तालिम लिएको स्रोतले बतायो। विप्लव नेतृत्वको पार्टीमा जानु अघि पनि सिंह जंगलमा गएर सिकार खेल्ने कलामा निपूर्ण रहेको गाउँले बताउँछन्।

सैन्य तालिमपछि उनी निपूर्ण भएकाले पार्टीले उनलाई छोटो समयमै ठूलो जिम्मेवारी सुम्पियो। ‘सिंह हाम्रो पार्टीको जनमुक्ति सेनाका सेक्सन कमाण्डर थिए,’ भूमिगत अवस्थामै संवाददाताको सम्पर्कमा आएका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले भने। सिंहको घरमा ७३ वर्षीय बुबा, आमा,  श्रीमती र तीन नाबालक छोरी रहेका छन्। ‘पाँच वर्षीया, दुई वर्षीया र एक वर्षीया छोरी छन्,’ सिंहका ठूला बुबा देव सिंहले भने। सिंहको पारिवारिक अवस्था विपन्न छ। आर्थिक अवस्था विपन्न भएकै कारण सिंह पनि प्राथमिक तहको पढाइ छोडेर रोजगारीका लागि भारत पसेका थिए।

‘हरैया काण्डको सुरक्षार्थ खटिएका थिए सिंह’

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले हरैया सुकुमबासी वस्तीमा भइरहेको ज्यादतीका विरुद्ध र सुकुमबासीको रक्षाका लागि परिचालन भएका मध्ये सिंहको बम विष्फोटमा ज्यान गएको बताएका छन्। ‘हरैया बस्तीमा दलालहरुले जमिन कब्जा गर्ने र गुण्डा लगाएर सुकुमबासीको उठिबास गर्ने कार्य भइरहेको छ, त्यसको रक्षाको सिलसिलामा हिँडेका साथीको आफ्नो सुरक्षार्थ बोकेको बम विष्फोटन भएको हो,’ उनले भने, ‘हरैया जमिनका लागि हिजो पनि रगत बगेकै थियो, अहिले पनि सिंहको बलिदानी त्यही जग्गाको सुरक्षार्थ खटिएकै बेला भयो।’

हरैया जमिनको सुरक्षार्थ आफूहरुको जनमुक्ति सेना परिचालन भएको उनले बताए। हरैया सुकुमबासी शिविरमा केही दिनअघि आतंक मच्चाउने दलाल र गुण्डाहरु कारबाहीको निसानामै रहेको उनी बताउँछन्। त्यो जमिन पार्टीकै कब्जामा हुने र सुकुमबासीलाई पुनस्र्थापित गरिने उनले बताए।

पूर्वलडाकु हुन् सेरेला

डडेल्धुरा घर भएको लक्ष्मण सेरेला दम्पती पूर्व माओवादी लडाकु हुन्। सेना समायोजनमा स्वेच्छिक अवकाश लिएर पाँच/पाँच लाख रुपैयाँ बुझ्दै लक्ष्मण र पत्नी बिमला बाहिरिएका थिए। उनीहरुले कञ्चनपुरको बेल्डाँडीमा जमिन किनेर घर बनाए। त्यसपछि लक्ष्मण मजदुरीका लागि भारत पसे।

भारतको नासिकमा होटलमा मजदुरी गर्ने उनी दुई महिना अघि मात्रै घर आएको पत्नी बिमलाले बताइन्। ‘सात दिन अघि मात्रै घरबाट काठमाडौं जान्छु भनेर निस्केका थिए,’ पत्नी बिमलाले भनिन्, ‘बिहीबार बिहान मात्रै नेपालगन्ज पुगेको र एकदुई दिनमै घर फर्कने जवाफ दिनु भएको थियो।’ बेलुकी पतिकै मोबाइलबाट प्रहरीले घटनाबारे जानकारी दिएपछि आफू शुक्रबार बिहान धनगढी आइपुगेको उनले बताइन्।

गम्भीर घाइते रहेका लक्ष्मणले आफू चिया खान गएको र राम सिंहलाई आफूले नचिन्ने प्रतिक्रिया नागरिकन्यूजलाई दिएका छन्। प्रहरीले भने सिंह र लक्ष्मण दुवै विप्लवका कार्यकर्ता भएको आशंका गरेको छ।

घटनाको जिम्मेवारी लियो विप्लव समूहले

विप्लव समूहले घटनाको जिम्मेवारी लिँदै विस्फोटमा आफ्ना कार्यकर्ता राम सिंह ‘राजेश’ को मृत्यु भएको पुष्टि गरेको छ। पार्टीका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन्। पार्टी कामको सिलसिलामा ‘आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुईजना समातिए
सिंहको शुक्रबार धनगढीको मोहना नदीमा दाहसंस्कार गरिएको छ। दाहसंस्कारका लागि मलामी गइरहेका बेला मिलनचोकबाटै आफ्ना दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विप्लव नेतृत्वका जिल्ल्ला इन्चार्ज विवेक कुमालले बताएका छन्। प्रहरीले भने आधिकारीक रुपमा यसको पुष्टि गरेको छैन। प्रहरीले मृतक सिंहकी फुपु सीता सिंह र प्रकाश जप्रेललाई पक्राउ गरेको हो।

प्रकाशित: ४ श्रावण २०७६ ०६:३४ शनिबार

रिमोट विष्फोट बम