समाज

दोहोरो नीतिले रेडियो मारमा

ओखलढुंगा - राज्यको दोहोरो नीतिले ओखलढुंगामा रेडियो नवीकरण गर्न समस्या भएको छ। सिद्धिचरण नगरपालिका र जिल्ला हुलाक कार्यालय दुवैले आआफ्नो कार्यालयमा नवीकरण गर्न भनेपछि अन्योल सिर्जना भएको हो।

हुलाक कार्यालयबाट नवीकरणका लागि पटकपटक आग्रह गरेको र नगरपालिकाले पनि अनिवार्य नवीकरण गर्नुपर्ने भनेको भिजन एफएमका स्टेसन म्यानेजर रविन श्रेष्ठले बताए। ‘नगरपालिका हाम्रो अधिकार क्षेत्रभित्र पर्छ भन्छ। हुलाक हामीले गरिरहेको काम हाम्रैबाट गर्नुपर्छ भन्छ,’ म्यानेजर श्रेष्ठले भने, ‘दुईतिरका कुरा सुन्दासुन्दै समय सकिन लाग्यो। दुवैतिर नवीकरण गर्ने कुरा भएन, एकातिर गर्दा कहाँ गर्नु भन्ने भयो।’ एउटै प्रमाणपत्र दुईवटा निकायमा नवीकरण गर्न नमिल्ने भन्दै भिजन एफएमले विगतका वर्षमा जस्तै हुलाक कार्यालयमार्फत नवीकरण प्रक्रिया अघि बढाएको छ।

जिल्लामा सञ्चालित पाँचवटा रेडियोमध्ये एउटा मात्रै पाँच सय वाट क्षमताको रहेको छ।

सिद्धिचरण नगरपालिकाले एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि बनाइसकेको छ। नेपालको संविधानको धारा २२६ (१) अनुसूची ८ को क्र.सं. ३ ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ग) मा भएको व्यवस्थाबमोजिम नगरपालिकाले कार्यविधि बनाएको कानुन शाखाका राजु खनालले बताए।

नगरक्षेत्रमा सञ्चालित सय वाट क्षमतासम्मका रेडियोले नगर कार्यपालिकाको निर्णयअनुसार शुल्क बुझाई प्रमाणपत्र नवीकरण गर्नुपर्ने उनको भनाइ छ। रेडियोबाट यसअघि नेपाल सरकारले लिँदै आएको शुल्कभन्दा १५ सय बढी शुल्क लिने गरी सिद्धिचरण नगरपालिकाले कार्यविधि बनाएको छ। हुलाकमार्फत नवीकरण गर्दा रेडियो प्रसारण र उपकरण सञ्चालन प्रमाणपत्रको तीन हजार बुझाउनुपर्ने नियम छ। यता जिल्ला हुलाक कार्यालयले पनि पाँच सय वाट क्षमतासम्मका रेडियो आफ्नो कार्यालयमा नवीकरण हुनुपर्ने अडान राखिरहेको छ। जिल्लामा सञ्चालित पाँचवटा रेडियोमध्ये एउटा मात्रै पाँच सय वाट क्षमताको रहेको छ। 

प्रकाशित: २ श्रावण २०७६ ०१:५३ बिहीबार

दोहोरो नीति नवीकरण_ग