समाज

न गास रह्यो न बास, ‘चिउरा चपाउँदा बंगारा दुख्यो सरकार’

कर्जन्हा नगरपालिका–३ सुन्दरपुरका बाढीपीडित पूर्व–पपश्चिम राजमार्गको उत्तरछेउमा त्रिपालमा।

कर्जन्हा (सिरहा) - भोकले १५ दिने शिशु अनन्दनी रोइरहेकी छन्। आमा लक्ष्मीनिया सदाय (मुसहर) दूध चुसाएर भोक मेटाउने कोसिसमा छन्। तर अघाउने दूध नआएकाले अनन्दनीको रुवाइ थामिएको छैन। सिरहा कर्जन्हा नगरपालिका–३ सुन्दरपुरको सुकुमबासी बस्तीअघि त्रिपालमुनि बस्दै आएको बाढीपीडत सदाय परिवारमा देखिएको कारुणिक दृश्य हो यो।

बाढीले घरबार बगाएपछि सुन्दरपुरस्थित सुकुमबासी बस्तीकी सुत्केरी लक्ष्मीनियाको परिवारका पाँचजना शनिबारदेखि राजमार्गछेउमा त्रिपालमुनि ओत लागेर बस्दै आएका छन्। ज्यान जोगाउन भगवान् पुकार्दै आएका लक्ष्मीनियाँजस्तै विस्थापित भोक मेटाउने खानाको पर्खाइमा छन्। विस्थापितमध्ये धेरैजासो मजदुरी गरेर गुजारा चलाउने हुन्। बाढीले उनीहरूको घरबार मात्र नभई मजदुरीसमेत खोसेको छ। मजदुरी गरेर गुजारा चलाउँदै आएकी ककुल सदायले पीडा पोखिन, ‘यो बाढीको विपद्ले हामी गरिबलाई सडकमा ल्याइदियो। सडकमा बस्न थालेको पाँच दिन भइसक्यो तर सरकारका मान्छे राहत त परको कुरा हाल बुझ्नसमेत आएनन्।’

बाढीबाट विस्थापित ककुल गुनासो गर्छिन, ‘दुई दिन दिउँसो र राति दुई समय नजिकैको विद्यालयमा सामूहिक खाना खुवाएका थिए। त्यो पनि सोमबारदेखि बन्द भयो। हामीलाई विद्यालयबाट पनि सरहरुले फोहोर ग¥यौं भनेर निकाले। स्थानीयबाट पाएको मुरही (भुजा) चपाएर काखेछोरीको भोक र प्यास कसरी मेट्नु ?’ झोलिलो खाना मुखमा नपर्दा दूध आउन छोडेको सकुन सदायले बताइन्। दूध नआएपछि आठ महिने शिशु ज्योति भोकले घरिघरि रुन्छिन्। उनले भनिन्, ‘यो अबोधलाई के थाहा हामी विपद्मा परेका छौं भनेर।’

विस्थापित सीतादेवी सदायको परिवारको व्यथा पनि उस्तै छ। ‘पाँच दिन भयो सरकारी राहत पाउन त के देख्नसमेत पाएका छैनौं,’ उनले भनिन्, ‘विपद्मा सरकारी राहत (चामल, दाल, चिउरा) आउँछ भनेको सुनेका छौं तर हाम्रो हातमा एक दाना चामल पनि परेको छैन। सरकार न हाम्रो भोक मेटाउने अन्न दिन्छ न अरूलाई दिन दिन्छ।’
आकाशमा हेलिकोप्टर उडेको आवाज सुनेपछि बस्तीका विस्थापितको मुहार उज्यालिन्छ। तर, केही घन्टा नबित्दै उनीहरूको मुहार मुर्झाउँछ। सीतादेवीको कोखमा आठ महिनाको गर्भ हुर्किरहेको छ। पत्ती बेचन सदाय घरमै बस्छन्। मजदुरीको काम पनि बाढीले खोसिदिएपछि परिवारको भोक कसरी मेटाउने भन्न चिन्ता छ उनलाई। उनी भन्छिन्, ‘सन्तापको भारी बोकेर कति दिन जिन्दगी धान्नु। जीवनभर कमाएको घर, अन्न, लत्ताकपडा सबै बाढीले बगाइदियो। अब दैनिक मजदुरीबाट पाउने ज्यालाबाट घर ठड्याउनु कि पेट भर्ने अन्न किन्नु।’

सुन्दरपुरबस्ती कमलानदीको बाढीले डुब्छ भनेर कसैले सोचेको थिएन तर डुब्यो। डुबानपीडित छविरमण पोखरेलका अनुसार बिहान ओछ्यानमै छँदा बाढी आयो, बाढी आयो भनेर हलीखली भयोे।‘बाहिर निस्केर उत्तरतर्फ चियाउँदा घरहरु डुब्दै गएको देखें। वर्षाको पानी हो कि कमलामाइको (कमलानदी) ठम्याउन एकछिन अलमलिएँ,’ उनले भने, ‘एकाएक धमिलो पानीमा घरहरु डुब्न थालेपछि वर्षाको नभई कमलानदीको बाढी बस्तीमा पसेको ठहर गरें। त्यसपछि घरभित्र पसेर भ्याएजति सामान च्यापेर दक्षिणतर्फ भागे। खाने सामग्री (पीठो, चामल, दाल) घरमै छुट्यो। ज्यान जोगियो। बिहान भएकाले मानवीय क्षति हुन पाएन। बाढी राति आएको भए हाम्रो बाँच्ने सम्भावना कमै हुन्थ्यो।’ पोखरेल मात्र नभई बाढी बस्तीमा पस्दासम्म सबै जागिसकेका थिए। कोहीकोही घरधन्दामा लागेका थिए। कोहीकोही ओछ्यानमै पल्टिरहेका थिए। बाढीको अनुमान नभएकाले धेरैको अन्नपात घरमै भिज्यो। कतिपयको अन्नपात बाढीको भेलसँगै बग्यो।

‘राहतमा पाएको चिउरा चपाउँदाचपाउँदा बंगारा दुखिसक्यो। सरकार। चामल र दाउराको बन्दोबस्त भइदिए उमालेर सास बचाउँथ्यौं,’ सिरहा नगरपालिका –१,२ सारश्वरका आलम मियाँले भने। पाँच दिन भइसक्यो चिउरा चपाएर बाँचेको छु,’ उनले भने, ‘यसको भरमा कति दिन बाच्नु। सारश्वरका डुबान बस्तीमा ‘रबर बोट’ नेपाली सेना र रेडक्रस सिरहाका कर्मचारीले वडा कार्यालयबाट प्राप्त चिउरा, पानी पु¥याइरहेका छन्। रबर बोटबाहेक डुबान बस्तीमा पुग्ने अर्को विकल्प छैन्।

सिरहामा बाढीबाट पाँच हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। तीन हजारभन्दा बढी परिवारको घर कामै नलाग्ने गरी क्षति भएका छन्। दुई हजारभन्दा बढी मानिस विस्थापित छन्। सारश्वरका बाढीपीडित मन्चित महरा भन्छन, ‘हामीले पाएको चिउरा, चाउचाउ परिवारका सदस्यलाई बाँड्दा मुठीभर पनि भाग लाग्दैन। पुगेजति बच्चालाई खुवाउँछौ। हामी पानीले पेट भरेर निदाउने प्रयास गर्छौं।’ बाढीपीडितको बेहाल हेर्न सरकारका प्रतिनिधि नआएको उनले बताए। ‘हामी गरिब मरे पनि सरकारलाई के फरक पर्छ र,’ उनले भने, ‘गरिब भएर जन्मेपछि कष्ट सहनैपर्ने रहेछ।’

बालुवाले हरियो खेत सेताम्मे
सिरहाको डुबान क्षेत्र भनेर चिनिने कर्जन्हा, सारश्वर, गम्हरिया, हटलेटवा, इटारिपर्साही, भोक्राहा, निर्दना, कमलपुर, बनिनियालगायत गाउँ कमला, गागन, मैनावती, कटनिया नदीले घेरिएका छन्। यी नदीबाट सिँचाइ नहर बनाइएका छन्। यी नदीले पानीभन्दा पनि बालुवा धेरै बोकेर ल्याउँछन। चुरे मूल भएका यी नदीबाट यहाँका जनता आक्रान्त छन्। बर्सेनिको ‘बाढी’ ले यहाँका गाउँबस्ती मात्र डुबानमा पर्दैनन्, खेत पनि डुब्छन्।

पहिला यी नदी बस्तीभन्दा गहिरो भएर बग्थे। नदीको पानीले यस क्षेत्रका खेतमा सिँचाइ हुन्थ्यो। किसान मनग्य खाद्यान्न उब्जनी गर्थे। तर एक दशकयता नदीको प्रकृति फेरिएको सारश्वर गाउँका पूर्वअध्यक्ष जीवछ गुप्ता बताउँछन्। उनी भन्छन्, ‘पहिला पानीमात्र आउने यी नदी अहिले बालुवा सिन लिएर आउन थाले।’ वन तथा जलाधारबारे किताबी अध्यन नगरेका गुप्ता भन्छन्, ‘पछिल्लो दशकमा चुरेमा भएको विनाशको असर अहिले पानीढलो (मधेस) मा देखिएको छ।’ बर्सेनि बाढीले ल्याउने बालुवाले मधेसका खेत पुरिँदै गएका छन्। यसप्रति चिन्तित गुप्ता भन्छन्, ‘चुरे संरक्षणमा सरकारी संयन्त्र गम्भीर नहुँदा अन्नको भण्डार मधेस बगरमा परिणत भइरहेको छ।’

प्रकाशित: १ श्रावण २०७६ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App