समाज

‘म अघि बढ्छु’

‘म अघि बढ्छु’ अभियान उद्घाटनका क्रममा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको प्रस्तुति दिँदै डिएसपी बामदेव गौतम। तस्बिरः नागरिक

खोटाङ– खोटाङमा ‘म अघि बढ्छु’ नामक अभियान सुरु गरिएको छ। १३ वर्षदेखि १९ वर्ष उमेरका विद्यार्थीलाई देशका योग्य नागरिक बन्न उत्प्रेरित गर्नका लागि १ नम्बर प्रदेश सरकारको अभियानअन्तर्गत जिल्लामा ‘म अघि बढ्छु’ नामक अभियान सुरु गरिएको हो।

मंगलबार प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले ‘म अघि बढ्छु’ नामक अभियान सुरु भएको घोषणा गरे। हरेक किशोर–किशोरीलाई दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक बन्न उत्प्रेरित गर्नका लागि अभियान सुरु गरिएको जानकारी दिइएको छ।

‘उपयुक्त संगत र उत्प्रेरणा अभावमा यो उमेरका बालबालिका कुलतमा फस्न सक्छन्, भविष्य बिगार्न सक्छन्,’ उपाध्यायले भने, ‘खराब क्रियाकलापबाट जोगाएर सामाजिक रुपान्तरणमा योगदान दिन सक्ने राष्ट्रसेवक नागरिक बन्न उत्प्रेरित गर्न अभियान सुरु गरिएको हो।’

‘म अघि बढ्छु’ नामक अभियानमा जिल्लाका हरेक मावि तहका कक्षा ९ देखि कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइने छ। अभियानअन्तर्गत सबै विद्यालयमा १५ सदस्यीय सगरमाथा टिन्स क्लब (एसटिसी) गठन गरेर लक्षित उमेर र कक्षाका छात्रछात्रालाई अनिवार्य सदस्य बनाइने मन्त्रालयले जनाएको छ।

क्लबमार्फत विद्यार्थीलाई हप्ताको एक दिन नैतिक शिक्षा, देशभक्ति, स्वयंसेवा, विपत् व्यवस्थापन, सकारात्मक चिन्तनलगायतका विषयमा पठनपाठनको व्यवस्था मिलाइने जानकारी दिइएको छ।

‘म अघि बढ्छु’ नामक अभियान उद्घाटनका क्रममा डिएसपी बामदेव गौतमले लागूऔषध दुरुपयोग तथा ओसार–पसारका विरुद्ध प्रस्तुति दिएका थिए। छात्रछात्रालाई दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्ने अभियानलाई सफल बनाउन सबैको दायित्व भएको जिल्ला समन्वय समिति खोटाङ प्रमुख बबी चाम्लिङले बताए। ‘म अघि बढ्छु’ नामक अभियान १ नम्बर प्रदेशमा एकैसाथ सुरु गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३१ असार २०७६ ११:१५ मंगलबार

म_अघि_बढ्छु अभियान विद्यार्थी